वालिङको शान, वालिङ महोत्सव

‘हाम्रो गौरव, हाम्रो शान , वालिङ महोत्सव, हाम्रो पहिचान’ भन्ने मुल नारासहित सातौं वालिङ महोत्सव आजबाट सुरु हुँदै छ । यो महोत्सव २०६३ सालबाट सुरु भएको हो । हरेक २ वर्षमा हुने महोत्सव सातौं संस्करणसम्म आइपुगेको छ । यो महोत्सव वालिङबासीका लागिमात्र नभई सिंगो स्याङ्जाका लागि पर्व र उत्सवको रुपमा स्थापित भएको छ । यसअघिका ६ वटा संस्करण वालिङ उद्योग वाणिज्य संघले एकल रुपमा आयोजना गरेको थियो । यो उत्सवको आयोजकमा यसपालिबाट वालिङ नगरपालिका पनि थपिएको छ । महोत्सवको तयारी, यसका आकर्षण र महोत्सवमा हुने गतिविधिबारे आयोजक र सरोकारवालासँग गरिएको संवाद यहाँ प्रस्तुत छ ।

ऐतिहासिक उत्सव
वालिङ नगरबासीले महोत्सवलाई उत्सवको रुपमा मनाउँदै आएका छन् । महोत्सवको आर्थिक उपलब्धिलाई सकारात्मक र व्यवसायीको हक हितमा प्रयोग गर्न जरुरी छ । यस पटक स्थानीय सरकार पनि आयोजकको रुपमा हुँदै गर्दा यो महोत्सव ऐतिहासिक, भव्य र उत्साहपूर्ण बन्नेछ । यो उत्सवले यहाँको पहिचान र संस्कृतिक एकताको सन्देश प्रवाह गर्नेछ । हामी यस उत्सवलाई प्रदेशकै उत्कृष्ट बनाउने अभियानमा छौं ।

कृषि र स्थानीय उत्पादनलाई प्राथमिकता
बिभिन्न मेला, महोत्सवले कृषि, पर्यटन र स्थानीय उत्पादनको नारामात्र बोक्ने गरेका छन् । कृषि तथा स्थानीय उत्पादनलाई प्राथमिकतामा नराख्ने गरेका गुनासो आउने गरेको छ । तर वालिङ महोत्सवमा ३० वटा कृषिजन्य उत्पादन, आधुनिक प्रविधिको प्रयोग गर्ने ज्ञानमूलक स्टल राखिनेछ । स्थानीय उत्पादनमा सुन्तलाकोे जुस, अदुवाको जुस, आँधीखोले माछाका परिकारको स्वाद दर्शकले लिन पाउने गरी व्यवस्था मिलाएका छौं । महोत्सव अनुगमन तथा मूल्यांकन उपसमिति संयोजकको नाताले यस महोत्सवको नारा अनुसार नै सफलता पाउनेमा म पूर्ण विश्वस्त छु ।

परिचयको माध्यम
विगतका सबै मेला, महोत्सवमा लक्ष्य अनुरुप कारोबार गर्दै व्यावसायीक हकहितमा काम कार्य गर्दै आएको उद्योग वाणिज्य संघले यस वर्ष पनि लक्ष्य अनुरुप नतिजा हासिल गर्ने छ । यस पटक निशुल्क प्रबेश टिकट बिभिन्न शीर्षकमा वितरण गर्ने प्रवृति अन्त्य गरिएको छ । यहाँको अँधिखोले सभ्यता विश्वसामु चिनाउने अभियान यस उत्सवको छ । वालिङमा महोत्सव सञ्चालन गर्नुभन्दा पहिले यहाँका व्यापारी काठमाण्डौं, पोखरा, भैरहवा लगायतका सहरबाट निर्यात गर्दै झन्झट भोग्नुपरेको थियो । अहिले यही उत्सवका कारण वालिङ विश्वसामु नै परिचित भएको छ ।

पर्यटक भित्र्याउने उपाय
पूर्वमा पर्यटकीय श्रेत्र पोखरा र पश्चिममा धार्मिक श्रेत्र लुम्बिनी आउने पर्यटकलाई समेत आकर्षण गर्न यस उत्सवले भूमिका खेल्नेछ । व्यावसायीक हकहितमा मात्रै होइन, हामीले पर्यटन प्रबृद्र्धन, कृषि उत्पादन, कृषकलाई सम्मान तथा उद्योगी, व्यापारीको आत्मवल विकासमा योगदान गरेका छौं । यस पटकको महोत्सवमा कृषि उत्पादनलाई ३० स्टल छुट्टयाइएको छ । ३ सय ५० स्टलको अपेक्षा गरिएकोमा व्यवसायीको उल्लेख्य सहभागिता रहेका कारण ४ सयभन्दा बढी स्टल निर्माण गरिएको छ ।
वालिङ बजार बेहुली जस्तै सिंगारिएको छ । प्याराग्लाइडिङ उडानबाट पुष्प वृष्टि, हेलिकोप्टर तथा प्याराग्लाइडिङबाट प्रत्यक्ष अवलोकन, आँधिखोलामा कृत्रिम ताल निर्माण गरी जलयात्रा, पुरानो घुमाउने अर्थात कुँडुले घरमा बसेर गाउँ घरको अर्गानीक खाना र चिडिया घर यस महोत्सबका थप आकर्षण हुन् । यस उत्सवमा विभिन्न २० इभेन्ट समाबेश हुने छन् ।

विभिन्न जातजातिको संस्कारलाई उचित स्थान
७ औं वालिङ महोत्सवमा बिभिन्न भेषभूषाका जातीय प्रस्तुतिले स्थान पाउनेछन् । लापोन्मुख सांस्कृतिक प्रस्तुतिलाई यसमा बिशेष ग्राह्यता दिइनेछ । रत्यौली गीत, अाँँधीखोले भाका यहाँको पहिचान हो । पहिचानको संरक्षण गर्ने र लुकेर रहेको पहिचानलाई हौसला प्रदान गर्दै पुरस्कृत गर्नु हाम्रो लक्ष्य हो । महोत्सव उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।
उद्घाटनपूर्व झाँकी, र्यालीले बजार परिक्रमा गर्नेछ । स्याङ्जाको वालिङभित्र रहेको कृषि तथा पर्यटनलाई प्रर्वद्धन गर्न दुई÷ दुई वर्षमा आयोजना गरिने यस पटकको महोत्सवमा आँधिखोलामा कृत्रिम ताल निर्माण गर्दै लोपोन्मुख गोलो घर प्रदर्शनी मुख्य आकर्षण बन्नेछ ।
श्रवण कुमारका बाबुआमाको आँसुबाट सृजित भएको आँधीखोलामा हुने जलयात्रा र आँधीखोलामा पाइने माछाका परिकार महोत्सवका विशेष आकर्षण हुन् । महोत्सव अवधिभर ६० रुपैयाँको टिकट काटेर जल सयर गर्दै मनोरञ्जन गर्न पाइनेछ । युवा पुस्ताको जलयात्रामा उल्लेख्य उपस्थिति रहने हामीले अपेक्ष गरेका छौं ।

अर्थतन्त्र चलायमान
महोत्सव अवधिभर स्थानीय कृषि उत्पादनको बजारीकरण र पर्यटकीय क्षेत्रको प्रचार हुनुका साथै हजारौं मानिसले रोजगारी पाउनेछन् । होटल व्यवसायी, रेस्टुरेन्ट व्यवसायीका साथसाथै अन्य व्यवसायी पनि लाभान्वित हुनेछन् । महोत्सव अवधिभर १५ करोडको कारोबार हुने र ५ लाखले अवलोकन गर्ने अपेक्षा छ । यसले यस क्षेत्रका अर्थतन्त्रलाई चलायमान बनाउनेछ । हामी आर्थिक समृद्धिको खाँका बनाउँदै छौं । आर्थिक विकास र अर्थतन्त्रलाई सबल बनाउँदै राजगारी, मनोरञ्जन र यस क्षेत्रको प्रचारप्रसारमा पनि महोत्सवले सघाउनेछ

सबैको महोत्सव
वालकदेखि वृद्धसम्म अटाउने उत्सव यही १७ बाट २८ सम्म वालिङको खेल मैदानमा हुनेछ । कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सूचना प्रविधि, अटो मोबाइल्स प्रदर्शनी स्टलका प्रमुख आकर्षण हुन् । रत्यौली गीत प्रतियोगिता, स्याङ्जा डान्स आइडल सिजन २, वडा स्तरीय भलिबल प्रतियोगिता पनि महोत्सवमा आकर्षण हुन् । हामी सबै सरोकारवालाको सहयोग र साथको अपेक्षा गर्दछौं ।
तपाईको प्रतिक्रिया