आचार्यको देउवालाई चुनौति : कम्युनिस्टलाई होइन, अखिललाई फालेर देखाउनू !

समाधान संवाददाता २०७५ माघ १७ गते १६:२८

समाधान

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष रश्मि आचार्यले नेपाली कांग्रेसका नेता शेरवहादुर देउवालाई अखिललाई फालेर देखाउन चुनौति दिएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले कांग्रेसले राणा, पञ्चायत र राजा फालेको दावी गर्दै अब कम्युनिस्ट सरकार पनि फाल्ने चेतावनी दिएका थिए । बिरेन्द्र क्याम्पस, भरतपुरमा आज आयोजित आकस्मिक अगुवा कार्यकर्ता भेलामा बोल्दै आचार्यले देउवाको सो अभिव्यक्तिको कडा प्रतिवाद गरेका हुन् । पृथ्वीनारायण क्याम्पस, पोखराका पूर्वसभापति समेत रहेका युवा नेता आचार्यले भने, ‘कम्युनिस्ट फाल्ने सपना नदेख्नुस् देउवाजी, क्षमता भए अखिललाई मात्रै फालेर देखाए हुन्छ !’ आचार्यले स्ववियु चुनावबाट डराएर कांग्रेसले आन्दोलनको बाहानबाजी गरेको समेत आरोप लगाए । स्ववियु चुनाव नजिकिँदै गएका बेला नेता आचार्य विद्यार्थी संगठनका कार्यक्रममा देशका विभिन्न जिल्लामा पुगेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी)को संयुक्त आयोजनामा भएको सो भेलामा आचार्यले चुनावबाट नभाग्न नेविसंघलाई समेत आग्रह गरे । उनले प्रश्न गरे, ‘नेविसंघ त भाग्यो–भाग्यो, स्ववियु चुनावबाट कांग्रेस नै किन भागेको होला ?’ उनले कम्युनिस्टहरुबाट आत्तिएर कांग्रेस प्रदर्शनका नाममा सडक–सडक भौतारिएको दावी गरे । देउवाको अभिव्यक्तिको खण्डन गर्दै आचार्यले थपे, ‘कम्युनिस्टलाई लखेट्ने चाहनै हो भने पहिले स्ववियु निर्वाचनमा अखिललाई हराएर देखाउ, चुनावबाट नभाग ।’

Advertisement

तपाईको प्रतिक्रिया