सेताे घाेडामा शहीद हरिप्रसाद गुरुङ
दिपक के श्रेष्ठ
समाधान सम्वाददाता – अर्काइभबाट
नेपाली राजनीतिक इतिहासमा १८ सालको भरतपुर काण्डलाई त्यति याद गरिएको पाइदैन । राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा सशक्त र सशस्त्र आन्दोलनको ज्वारभाटा फैलिएको थियो ।
कांग्रेसका प्रमुख नेतामध्ये केही जेलमा थिए भने केही निर्वासनमा भारत लागेका थिए । तिनै नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहालीकाखातिर भरतपुरमा विशाल प्रदर्शन भयो । प्रदर्शन दबाउन राजधानीबाट समेत सेना परिचालन गरिएको त्यस दमनमा कति मारिए लेखाजोखा नै छैन ।
सोही आन्दोलनको अग्रपंक्तिमा रहेर मृत्युवरण गर्नेमध्येका एक हुन्, हरिप्रसाद गुरुङ । उनै गुरुङको पूर्णकदको सालिक पोखराको सिम्पानीमा देख्न सकिन्छ । र, सालिक स्थापनापछि त्यस ठाउँले नयाँ नाम पायो, ‘हरिचोक ।’ नाम र चोक भएपनि को हुन् हरिप्रसाद गुरुङ ? उनकोबारेमा नयाँ त परै जाउन्, पुराना कांग्रेसलाई समेत उतिबिघ्न थाहा छैन ।
वि. सं. १९७३ वैसाख १२ गते कास्कीको ल्वाङघलेलमा जन्मिएका हुन् हरिप्रसाद गुरुङ । जिम्मुवाल परिवारका गुरुङलाई शिक्षा दिन घरमै मास्टरको व्यवस्था गरिएको थियो । शिक्षा र उमेर बढ्दै जाँदा उनको ठाटले पनि सोही रफ्तार लियो । तबेलामा बाँधिएको सेतो घोडा चढेर शानकासाथ गाउँ चाहार्नु र पोखरा झर्नु उनका लागि सामान्य थियो । मुलुकमा जहाँनिया राणा शासनका बेला उनमा भने विपरित सोंचले मनभित्र क्रान्ति गरिरहन्थ्यो । प्रजाप्ररिषदका गतिविधिलाई यदाकदा सुन्ने अवसर पाएका गुरुङ प्रजातान्त्रिक व्वस्थाको कल्पना गर्थे । जमिन्दार बाबुका छोरा भएपनि उनको शैली भिन्न थियो । उनी स्वतन्त्रताका पक्षपाती थिए । आफन्तका अनुसार उनी केही ‘रौसे’ र ‘टाठा’ थिए ।
त्यही टाठोपन, राजनीतिक प्रभाव र फरक जीवनशैलीबाट उनीप्रति परिवार केही सशंकित थिए । छोरा बिग्रेला भन्ने डरले बेचैन बाबु उनलाई कतै अल्झाउन चाहन्थे । यत्तिकैमा भारतीय सेनामा कार्यरत दाजु घर आएकाबेला हरिप्रसादलाई पनि भर्ती लगाउन भारत पुर्याइयो । यता, देसमा प्रजातन्त्र आइसकेको आफु भने भारतीय ब्यारेकमा बुट बजार्दै बस्नु परेको पीडाले उनलाई सताइरहन्थ्यो । भारतीय लाहुरे भएको ३ वर्षपछि छुट्टिमा आएका उनी पुनः ब्यारेक फर्केनन् । जमिन्दार परिवारका गुरुङलाई बुट बजारिहनु पर्ने समस्या पनि थिएन । त्यसपछि उनको पुरै परिवार भरतपुर बसाई सर्यो । यो समय थियो, ०१४ साल ।
प्रजातान्त्रिक व्यवस्था र आफुलाई मनपर्ने पार्टी नेपाली कांग्रेसको सरकार । गुरुङ पार्टीमा पूर्णरुपमा खटिने कार्यकर्ता पनि थिएनन् । उनको पुरै ध्यान भरतपुरलाई बस्ती हुँदै नगरमा परिणत गर्ने दैनिकीमै बित्थ्यो । जंगल फँडानी गरेर भरतपुरलाई नगरी बनाइरहँदा पार्टीभित्रको गुट उपगुटले कांग्रेस सरकारमा किचलो बढ्दै थियो । सम्भ्रान्त राणा र कोइराला खानदानको खिचातानीबीच राजा महेन्द्र सत्ताको च्याखे थापेर बसिरहेका थिए । दुई गुटको चेपुवामा उँभो लाग्न नसकिने सोंचमा थिए डा। तुलसी गिरी र विश्वबन्धु थापा । राजा महेन्द्रले दुबै असन्तुष्टलाई प्रभावमा पारी २०१७ पुस १ गतेविशेश्वरप्रसाद कोइरालाको अध्यक्षतामा रहेको मन्त्रीमण्डल खारेज गरी पञ्चायतको प्रादुर्भाव गरे । ०१५ सालदेखि सुरु भएको कांग्रेसको सत्ता कलहले अन्ततः व्यवस्था नै सुम्पनु परेको तीतो सत्य हो यो ।
राजा महेन्द्रले ‘कू’ पश्चात् डा। गिरीलाई मन्त्रीपरिषद् उपाध्यक्ष र थापालाई गृहमन्त्रीमा नियुक्त गरे । निर्दलीय व्यवस्थापछि भूमिगत भएका प्रमुख नेता, कार्यकर्ताको थातथलो उनै गिरी र थापालाई कण्ठस्थ थियो । फलस्वरुप, उनीहरु पक्राउ परे । केही भाग्न सफल भई भारततर्फ लागे । प्रजातन्त्रको उपभोग गरिसकेको नेपाली समाज राजतन्त्रविरुद्ध संगठित हुन थालिसकेको थियो । ०१८ को माघदेखिदेसैभर भएको विद्रोहको केन्द्रमा थियो भरतपुर । राजाको आदेशमा गृहमन्त्री थापा व्यापक धरपकड र दमनमा उत्रेका थिए । आन्दोलकारीहरुको मूख्य माग थियो, विपिलगायत नेताहरुको रिहाई र प्रजातन्त्रको पूनर्बहाली । प्रायः नेताहरु भारतको चम्पारणलाई मुकाम बनाएर बसेका थिए । यसकारण पनि भरतपुर आन्दोलनको केन्द्र बन्यो । आन्दोलन असफल भए वा धरपकड भए सीमा पार गरी ज्यान जोगाउन चम्पारण जिल्लाको नर्कटिया क्याम्प पुग्न सकिने कारण कांग्रेसको रोजाई भरतपुर थियो । आन्दोलनलाई गन्तव्यमा पुर्याउन भूमिगत शैलीमा करिब ८ महिना तयारी गरियो ।
भरतपुर, चितवनमा आन्दोलनलाई उँचााईमा पुर्याउन कमलकुमार राईको अध्यक्षतामा समिति गठन भयो । समितिको सचिवमा बुद्धसिंह रानामगर थिए । प्रचार र संगठनमन्त्रीको जिम्मा महेश्वरलाल श्रेष्ठले लिए । सदस्यमा हरिप्रसाद गुरुङ, लालध्वज गुरुङ, इमानसिंह गुरुङ र पद्यबहादुर बस्नेत चयन भए । चितवनको सरकारी क्वार्टरमा कसरी र कहिले आक्रमण गर्ने भन्ने जिम्मा योगप्रसाद उपाध्यायलाई दिइयो । आन्दोलनकारीहरुको तयारी जति तीव्र र चुस्त थियो, सरकारी तयारी झनै दूगुना भयो । यसको अर्को कारण थियो, गृहमन्त्री थापा । उनी पहिले कांग्रेसमात्रै हैन चितवनबाटै निर्वाचित कांग्रेसी सभासदसमेत थिए । आन्दोलनकारीहरुले संघर्ष समिति गठन गर्दा यता सरकारले आन्दोलन दबाउन बडाहाकिम रामनारायण श्रेष्ठको संयोजकत्वमा जिल्ला न्यायधीश जनकमान श्रेष्ठ, सेनाका कमाण्डर भक्तनरसिंह राणा, मेजर मुहानसिंह महत र नारायणी अञ्चल एसपी जगतबहादुर सुब्बा सम्मिलित फोर्स गठन गर्यो । फोर्सको एउटै लक्ष्य थियो, कुनैपनि हालतमा आन्दोलन दबाएर छाड्नु ।सोही कारण राजधानीबाट समेत भरतपुरमा सेना परिचालन गरियो ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार माघ १८ गते कांग्रेसले शक्ति प्रदर्शन गर्यो । तर, सेना र प्रहरीको संयुक्त फौज अगाडी आन्दोलनकारी ढल्दै गरे, पक्राउ परे । प्रतिरक्षाका लागि जुटाइएका केही हतियारसमेत आन्दोलनकारीले प्रयोग गर्न पाएनन् । सुरक्षाकर्मीहरु बर्बर ढंगले प्रस्तुत भएपछि प्रदर्शनकारी हताहत भए । सोही क्रममा गुरुङ मारिए । गुरुङसँगै अन्य कति मारिए हालसम्म संख्या यकिन हुन सकेको छैन । त्यस काण्डमा गुरुङलाई बाँधेर लगियो । त्यसपछि उनी सदाकालागि बेपत्ता भए । गुरुङलाई जिउँदै खाल्डामा पुरियो भन्ने हल्ला चलियो । केहीले गोली हानेर मारियो त कतिले खाल्डोमा हालेर गोली हाने, भने । तर उनीलगायत अन्य कसैको पनि शव पाइएन ।
गुरुङसँगै आन्दोलनमा रहेका महेश्वरलाल श्रेष्ठले बताए अनुसार उक्त काण्डमा २८ जना बेपत्ता बनाइए । केहीले २२ जना मारिएको बताइएका छन् । आन्दोलनमा सहभागीमध्ये कतिलाई त्यहाँबाट पाता कसेर कसैलाई रक्सौल, कसैलाई मेची बोर्डर पुर्याइएको थियो । केहीलाई रौतहटको जंगलतर्फ लगेको स्थानीयले देखेको बताएका थिए । ती मध्ये कसैलाई पुनः जीवित देखिएन । आन्दोलनमा सरिक लालध्वज गुरुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुङ भरतपुरबाट भागेर पोखरा आउने क्रममा भिमादमा पक्राउ गरी मारिए । त्यस्तै, बुद्धसिंह राना, खेमबहादुर गुरुङ र ट्रफि लामासमेत बेपत्ता पारिए । सोही दिन ११ जनालाई सेनाले एउटै डोरीले बाँधेर टिकौलीको जंगल लगेपछि उनीहरु पनि फेरि देखिएनन् । आन्दोलनको त्यस दिनको घटनाबारे महेश्वरलालले बेलाबेला उल्लेख गरेका वृत्तान्त हुन् । त्य समयका एकमात्र जीवित पात्र उनी हाल भरतपुरमा छन् ।
गुरुङको योगदान र गाथालाई बिर्सन नदिन०५० मा स्थापित शहिद हरिप्रसाद गुरुङ प्रतिष्ठान पोखराले सक्दो मिहिनेत गरेको छ । प्रतिष्ठानका अध्यक्ष रुद्रबहादुर गुरुङ भन्छन्, ‘उहाँ ९हरिप्रसाद० मारिएपछि शहिद घोषणा गरियोस् भनेर हामिले तारान्तार सम्बन्धित निकायमा खबरदारी गर्यौं, तर सुनुवाई भएन । कांग्रेसले लामो समय सरकार चलाउँदा पनि हाम्रो कुरा सुनिएन ।’ अझ, कांग्रेसलाई नै घटनाबारे पूर्ण जानकारी नभएको भन्दै उनले दुखेसो पोखेका थिए । अध्यक्ष रुद्रकाअनुसार हरिप्रसाद बेपत्ता बनाइएपछि उनको सम्पूर्ण सम्पत्तिसमेत सरकारले रोक्का गर्यो । ससुराली खलकको भरथेगले परिवारमा ठूलै समस्या भने हुन पाएन । जुन सम्पत्ति ०४६ सालपछि मात्रै फुकुवा गरिएको थियो । गुरुङ बेपत्ता पारिएपछि श्रीमती दोधाँरमा परिन् र हातमा रातो चुरा लगाइरहेका थिइन् । प्रजातन्त्रको पूनर्बहालिपछि नेता गणेशमान सिंहले उनी मारिइसकेको र काजकिरिया गरे हुन्छ भनेपछि अन्ततः ०४६ भदौमा विधिवत काजकिरिया गरिएको प्रतिष्ठानका सचिव टिकाबहादुर गुरुङले जनाए । त्यसबेला नेता सिंहले गुरुङ परिवारलाई किरिया खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराएका थिए ।
आन्दोलनमा आफन्त
हरिप्रसाद गुरुङको काजकिरिया गरेपछि परिवार र आफन्तले उनलाई शहिद घोषणा गर्नुपर्ने माग गर्दै कास्की, भरतपुर काँग्रेस हुँदै केन्द्रमा ढोका ढक्ढक्याउन सुरु गर्यो । प्रतिष्ठानका पदाधिकारीहरुको झोलामा सरकार र पार्टीलाई बुझाउन ज्ञापनपत्रका प्रति भइरहन्थे । कांग्रेसका योद्धा भएकाकारण उनलाई शहिद घोषणा गरियोस् भन्ने माग जायज थियो । तर, सुनुवाई भइरहेको थिएन । सुनुवाई नभएपनि उनको शालिक स्थापना गर्न प्रतिष्ठानले हदैसम्म पहल गर्यो । र, फलस्वरुप ०५० मंसिरमा पोखराको सिम्पानीचोकमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गुरुङको अद्र्धकद शालिकको स्थापना गरी उक्त स्थानलाई हरिचोक नामाकरण गरे । पछि ०६५ मंसिरमा पूर्णकदको शालिक राखियो । उनको शालिक राख्न कास्की कांग्रेसका शुक्रराज शर्माको योगदान रहेको सचिव टिका बताउँछन् ।
शालिक राखियो, सिम्पानी चोकले नयाँ नाम पायो, तर उनलाई शहिद घोषणा नगरिएकोमा प्रतिष्ठानको लडाई निरन्तर थियो । त्यसपछिको समय विभिन्न तवर र शैलीमा मारिएका व्यक्तिहरुलाई राज्यले आफुखुशी शहिद घोषणा गर्दै पीडित परिवारलाई क्षतिपुर्ति दिँदै गर्दा प्रतिष्ठानका पदाधिकारी बेचैन थिए । ज्ञापनपत्र बुझाउँदै, खबरदारी गर्दै विभिन्न निकायमा धाउँदा आश्वासनबाहेक केही पाएका थिएनन् । तरपनि उनीहरु थाकेनन् । यहि अनवरतको खटाइपछि गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले माघ ११ गते शहिदहरुको नामावली सार्वजनिक गर्ने क्रममा गुरुङको नाम पनि समावेश गरे ।
यसरी बेपत्ता पारिएको ५६ वर्षपछि उनी शहिदको लिष्टमा परे । घोषणासँगै प्रतिष्ठानले चैनको सास फेरेको अध्यक्ष रुद्र बताउँछन् । ‘२ दर्जन बढी मारिएको वा बेपत्ता भएको आन्दोलनमा हरिप्रसादमात्रै शहिद घोषणा भए नि रु’ सोधाइमा सचिव टिका भन्छन्, ‘हाम्रो उद्देश्य हरिप्रसादलाई मात्रै चर्चामा ल्याउने, शहिद घोषणा गर्ने थिएन, यकिन संख्या पत्ता लगाउन हामीले लामो समय भरतपुरमा सोधखोज गर्यौ, तर कोही भेटेनौं ।’ अन्य कोही नभेटेपछि हरिप्रसादलाई शहिद घोषणा गर्न प्रतिष्ठानले संघर्ष गरेको उनले सुनाए ।
प्रतिष्ठानको तयारी
शहिद घोषणा गर्ने योजना सफल भएपछि अब शहिद गुरुङलाई चिनाउने योजनामा प्रतिष्ठान लागेको छ । उनका चिनो खोज्ने तयारीमा जुटिरहेको प्रतिष्ठान पोखराको पुरानो घर र भरतपुरमा केही भेटिन्छ कि भनेर खोज्दैछ । हालसम्म गुरुङले यौवनावस्थामा सेतो घोडा चढेकोबाहेक अन्य तस्बिर पाउन सकेको छैन । सोही तस्बिरको आधारमा उनको शालिक निर्माण गरिएको हो । प्रतिष्ठानले वैसाख १२ गते गुरुङको जन्म दिवस मनाउँदै आइरहेको छ ।
तपाईको प्रतिक्रिया