आयोडिन मन्थ २०१९

समाधान संवाददाता २०७५ माघ २० गते १२:२०

सुरेशराज भण्डारी

आयोडिन १ पोषक तत्व हो । दैनिक निकै थोरै मात्रामा तर नभइ नहुने पोषक तत्व भएको हुनाले आयोडिनलाई तत्कालीन नेपाल सरकारले सन् १९७३ देखि युनिभर्सल साल्ट आइडाइजेसनको नीति अनुरुप नुनमा मिसाइ सर्व–साधारण सबैलाई आयोडिनको सेवन गराउँदै आएको छ ।

नेपालमा नुन बिक्री–वितरण साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड मार्फत हुने भएको हुनाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गर्दा आवश्यक मात्रामा आयोडिन मिसिएको नुन नै आयात गरी डिलर तथा खुद्रा विक्रेता मार्फत् बिक्री–वितरण गर्दै आएको छ ।

Advertisement

आयोडिनको कमी भएमा शारीरिक तथा मानसिक रुपमा विभिन्न किसिमका समस्या हुने हुनाले दैनिक आवश्यक मात्रामा आयोडिन सेवन गर्नु अत्यन्तै आवश्यक छ । भू–बनोटका कारण माटोमा पाइने आयोडिन नेपालको माटोमा नपाइने र पाए पनि अत्यन्तै कम पाइने भएकोले यहाँको माटोमा उम्रने खाद्यपदार्थमा आयोडिनको मात्रा ज्यादै न्युन पाइन्छ । जुन शरीरका लागि पर्याप्त हुँदैन ।

त्यसैले अन्य देशले झै नेपालले पनि धनी, गरिब, साना, ठूला सबैले दैनिक सेवन गर्नैपर्ने नुनमा आयोडिन मिसाइ बिक्री–वितरण गराउन थालेको हो । तर, नेपालको खुल्ला सीमानाका कारण छिमेकी मुलुकसँगको सीमावर्ती इलाकामा विभिन्न किसिमका खुल्ला र प्लास्टिकको प्याकेटमा बन्द गरिएका आयोडिन नभएका वा कम मात्रामा भएका नुनहरु उपलब्ध छन् । तत्कालीन सरकार स्वास्थ्य मन्त्रालयले सर्वसाधारणले ती आयोडिन नभएका तथा कम मात्रामा आयोडिन भएका नुन सेवन नगरुन् भनी आयोडिनयुक्त नुनको बारेमा सुसूचित गर्न सन् १९९९ देखि आयोडिनयुक्त नुनको सामाजिक व्यापार अभियान सुरु गरेको हो ।

Advertisement

यस अभियान अन्तर्गत स्वास्थ्य मन्त्रालयले आयोडिनयुक्त प्याकेट नुनमा मात्र प्रयोग गर्न पाउने गरी सही मात्रामा आयोडिन भएको प्रमाणित चिह्न ‘२ बालबालिकाको चिह्न’ सर्वसाधारणको जानकारीका लागि जारी गरेको छ । यो चिह्न लागेको आयोडिनयुक्त प्याकेट नुनमा उत्पादनको बेला ५० पिपिएम आयोडिन मिसाइएको हुन्छ ।

यस कार्यक्रम अन्तर्गत आयोडिनको महत्व, आयोडिनयुक्त नुन र २ बालबालिकाको चिह्न तथा आयोडिनको कमीबाट हुने गडबडीहरु सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिन हरेक वर्षको फेब्रुअरी महिनालाई ‘आयोडिनको कमीले हुने गडबडी सम्बन्धी जनचेतना जगाउने विशेष महिना’ को रुपमा तोकिएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका सम्पूर्ण निकायहरु जस्तै अस्पताल, जन स्वास्थ्य कार्यलय, साल्ट ट्रेडिङ आदि लगायत सम्पूर्ण निकायले फेबु्रअरी महिनाभरि आयोडिनको जनचेतना मुलक कार्यक्रम चलाउने गर्छन् । जसलाई आयोडिन मन्थ भन्ने गरिन्छ ।

आयोडिनको कमीबाट हुने समस्याः
– गर्भ तुहिने, मृत शिशु जन्मिने, अंगभंग भएको शिशु जन्मिने, जन्मेको शिशु चाडै मर्न सक्ने ।
– बच्चा जन्मजात अपांगो हुन सक्ने ।
– पढाईमा कमजोर भइ पटकपटक फेल हुनुको साथै खेलकुदमा पछाडि पर्न सक्ने ।
– गलगांड आउने, सुस्तमनस्थिति हुने ।
– आइक्यु कम हुने ।
– मानिसमा आलस्यपन आउने, काम गर्ने क्षमतामा कमी आउने ।
– कुपोषण भइ गाईवस्तुको शारीरिक विकासमा कमी हुने तथा दूध कम दिने ।

आयोडिनको कमीबाट हुने समस्या कुनै रोग नभएको हुनाले यसलाई औषधी उपचार गरेर निको पार्न सकिंदैन । त्यस्ता विकृति हुन नदिन आयोडिनयुक्त २ बालबालिकाको चिह्न अंकित प्याकेटको नुनमात्र प्रयोग गर्नुपर्छ । हाल नेपालमा साल्ट ट्रेडिङले बिक्री–वितरण गर्ने प्याकेट नुनमा आयोनुन, न्यु शक्तिनुन र भानुनुन उपलब्ध छ ।

भण्डारी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखराका नि. कार्यालय प्रमुख हुन् ।

तपाईको प्रतिक्रिया