क्रसरकाे फोहोर पानीले सेती प्रदूषित

समाधान संवाददाता २०७५ माघ २० गते १५:३१

राजन उपाध्याय
दुलेगौंडा

Advertisement

क्रसर उद्योगबाट निस्कने फोहोर पानी शुद्धिकरण गर्न क्रसर व्यवसायीले आलटाल गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले गत पुस १४ गते सूचना जारी गर्दै पानी शुद्धिकरण गर्न १५ दिने अल्टिमेटम दिएको थियो । अल्टिमेट सकिएको १ महिना बित्न लागे पनि न क्रसर व्यवसायीले कार्यान्वयन गरेका छन्, न नगरपालिकाले एक्सन नै लिएको छ । नगर कार्यपालिकाको पुस ५ गतेको बैठकले कार्यान्वयन नगरेमा उद्योग बन्द गर्ने चेतावनी दिएको थियो ।

शनिबार बिहान सेती अवलोकनका लागि गएको कार्यपालिका टोलीले पानी झन धमिलो रहेको पाएको उपमेयर सविता रसाइलीले जानकारी दिइन् । वातावरण विद एकराज सिग्देल सेतीमा जथाभावी फालिने फोहोरले पनि नदीलाई प्रदूषिण बनाएको बताउँछन् । ‘पृथ्वीचोकको पुलमुनि नै फोहोरको डुंगुर लाग्ने गर्छ । फोहोर कुहिएर विभिन्न रसायन नदीमा मिसिन्छ, त्यसले नदी प्रदूषित बनाएको छ,’ उनले भने, ‘विभिन्न उद्योगबाट निस्कने रसायन र फोहरमैलाले पनि प्रदूषित बनाएको छ ।’
सदावहार प्रदूषणले पानीमा हुने जीव र प्रयोगकर्तालाई समेत हानी पुर्‍याउने उनले बताए । ‘नदीको पानी यति धेरै प्रदूषित भईसक्यो कि पानी खायो भने कीटपतंक, चराचुरुंगी समेत मर्ने गरेका छन्,’ उनले भने, ‘पानी नै विषालु भइसक्यो ।’ ठूला उद्योगले पहाडजस्तो थुप्रो बनाएर गिटी, बालुवा बिक्रीका लागि राखेका छन् । खोलाको किनार र राजमार्गभन्दा ५ सय मिटर टाढा क्रसर व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि कार्यान्वयन हुन सकेको छैन । त्यसले पनि नदी फोहोर हुने गरेको उनले बताए ।

Advertisement

यहाँ रहेका करिब १ दर्जन क्रसर व्यवसायका कारण सेती नदी प्रदूषण हुने गरेको छ । कास्की र तनहुँको सिमानामा अवस्थित यस क्षेत्रमा सञ्चालित उद्योगले सफा गरेको ढुंगा, गिटी लगायत निर्माण सामग्रीको लेदोले सेतीको स्वरुप नै कुरुप बनाएको स्थानीयको भनाइ छ । कोत्रेभन्दा माथिल्लो क्षेत्रमा पानी सङ्लो भए पनि उद्योगबाट निस्किएको धमिलो पानीले त्यसतल पानी धमिलो छ ।

नगरपालिकालाले यसै विषयलाई लिएर शनिबार क्रसर व्यवसायी र कार्यपालिका सदस्यबीच छलफल आयोजना ग¥यो । व्यवसायीले भने उचित मापदण्ड नहुँदा व्यवसाय सञ्चालन गर्न नै चुनौती बन्दै गएको बताए । क्रसर व्यवसायी देवबहादुर ज्वारचनले आफूहरु प्रदेशले बनाउन लागेको मापदण्ड कुरेर बसेको बताए । ‘अहिले पानी शुद्धिकरणका लागि काम ग¥यौं भने भोलि प्रदेशले उद्योगका लागि कस्तो मापदण्ड बनाउने हो थाहा छैन,’ उनले भने, ‘लगानी यत्तिकै खेर जाने हो कि भन्ने डर छ ।
पानी शुद्धिकरणका लागि ३ वटा पोखरी बनाउनुपर्ने उनले जानकारी दिए । यसका लागि २०–२५ लाख रुपैया खर्च लाग्ने उनको भनाइ छ । ‘हामी उद्योगबाट निस्कने लेदो पानी शुद्धिकरण गर्ने विधि हेर्न भारत गएका थियौं, उनीहरुले ३ तहको पोखरी बनाएका छन्,’ उनले थपे, ‘यसका लागि जग्गा पनि प्रशस्त चाहिन्छ ।’

Advertisement

गण्डकी क्रसर उद्योग व्यवसायी संघका सचिव छत्रधर आत्रेयले नगरपालिकालाई उत्खनन गर्ने व्यवस्थापन गरिदिन आग्रह गरे । ‘जहाँ भौगोलिक रुपमा संरचना बिग्रन्न र बाधा पुग्दैन त्यहाँ उत्खननका लागि व्यवस्था गरिदिनुपर्छ,’ उनले भने, ‘यदि सकिंदैन भने उद्योग बन्द या समय दिएर स्थान्तरण गरिनुपर्छ ।’ उनले आफूहरु मर्यादित तरिकाले व्यवसाय सञ्चालन गर्न चाहेको प्रष्ट पारे । ‘हामी विधिसम्मत काम गर्न चाहान्छौं र पेशालाई मर्यादित बनाउन चाहन्छौं,’ आत्रेयले थपे, ‘यसका लागि व्यवहारिक रुपमा सञ्चालन गर्न सकिने कार्यविधि बनाउनुपर्छ ।’

मेयर किसान गुरुङले माघ महिनाभित्र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न आग्रह गरे । ‘प्रदेशको मापदण्ड बन्दै छ, त्यस समयसम्म अल्पकालीन रुपमा भएपनि फोहोर पानी शुद्धिकरण गर्नुहोस्,’ उनले भने, ‘नभए हामी कारवाही प्रक्रिया अघि बढाउछौं ।’ उनले सेती नदीको प्रदूषणका भएका कारण आफूलाई विभिन्न आरोप लगाइएको बताए । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले व्यवसायीले उद्योग सञ्चालन गरेपछि नीति नियम पनि अध्ययन गर्न सुझाव दिए । नगरपालिकाले १ हप्त भित्र नगरमा सञ्चालित क्रसर व्यवसायलाई अनिवार्य रुपमा सूचिकृत हुन आग्रह छ ।

शुनपा–२ का विभिन्न क्षेत्रमा क्रसर व्यवसाय र ब्लक उद्योगले करिब २ सय ८९ रोपनी सार्वजनिक जग्गा प्रयोग गरिरहेको नगरपालिकाको आकडा छ । चालु आर्थिक वर्षबाट प्रतिरोपनी मासिक १ हजार ५ सय रुपैया नगरपालिकालाई भाडा बुझाउनुपर्ने निर्णय भए पनि प्रदेशको परिपत्रका कारण रोकिएको मेयर गुरुङले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया