४ महिना बित्यो, अस्पताल खुलेन

समाधान संवाददाता २०७५ माघ २२ गते ११:१७

राजन उपाध्याय
दुलेगौंडा

तनहुँको शुक्लागण्डकी ११, साँखेस्थित फूलबारी सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण भएको ४ महिना बित्दा पनि सञ्चालन हुन सकेको छैन । भदौको अन्तिम साता अस्पतालको स्वामित्व ढोरफिर्दी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि ढोर फूलबारी सहिद अस्पतालको नामबाट सञ्चालन गर्ने सहमति भएको थियो ।

गाभिएपछि १५ शैयाको बनाउने लक्ष्य थियाे। अस्पतालले सेवा प्रवाह नगर्दा यस क्षेत्रका स्थानीयले स्वास्थ्य परीक्षणबाट बञ्चित हुनुपरेको छ । शुनपा १२, राइपुरका बुद्ध भट्टराईले ४ महिना बितिसक्दा पनि स्थानीय तहले अस्पताल सञ्चालन नगर्दा सेवाग्राही मारमा परेको दुखेसो गरे ।

Advertisement

‘विरामी भएर रातको समयमा आउँदा, अस्पताल बन्द भएर फर्कनुपरेको छ उनले भने, जतिसक्दो चाडो खोलेर सेवा सुचारु गर्नुपर्छ ।’ डेलिगेसनका लागि नगर परिसरमा पुगेका स्थानीय थमनबहादुर आलेले अस्पताल तुरुन्त सञ्चालन गर्न सम्बन्धित निकायलाई आग्रह गरे । ‘पहिलो १ चिकित्सकसहित राम्रै चलिरहेको थियो, सबै उपकरण प्रदान गर्‍यौं, उनले भने तर अहिलेसम्म कुनै चिकित्सक र प्राविधिक गएका छैनन् ।’ स्थानीय तहलाई जिम्मा लगाएपछि राम्रो सेवा सुविधा पाउने आशा भए पनि अस्पतालकै ढोका बन्द हुँदा विरामीलाई दुलेगौंडा ल्याउनुपर्ने बाध्यता भएको उनले सुनाए ।

अस्पताल विकास समितिका अध्यक्ष शालिकराम भट्टराइले गण्डकी प्रदेश सांसद आशा कोइराला र शुक्लागण्डकी नपाका मेयर किसान गुरुङको उपस्थितिमा अस्पताल हस्तान्तरण गरिएको थियो । गत असोज २७ गते बसेको मन्त्रिपरिषद बैठकले अस्पताललाई सरकारी स्वामित्वमा ल्याई स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो ।

Advertisement

स्थानीय विमल थापाले हस्तान्तरणपछि भएको उत्साह नैरास्यता उत्पन्न भएको उल्लेख गरे । उनले नगरपालिकाका मेयरले चाडैनै चिकित्सकको व्यवस्था गरी अस्पताल सञ्चालन गर्ने आवश्वासन दिएको जानकारी दिए । विस २०५५ सालमा जर्मनी स्वंयमसेवीको संस्था इभी कासेलको सहयोगमा फूलबारी सेवा केन्द्र स्थापना भई सञ्चालनमा आएको थियो । अस्पतालको स्वामित्वमा रहेको ढोरफिर्दी र राइपुरको करिव साढे १४ रोपनी जग्गा र उपकरण गरी करिव ६ करोड रुपैयाँको सम्पत्ति सरकारलाई हस्तान्तरण गरिएको फूलबारी सामुदायिक अस्पतालका निवर्तमान अध्यक्ष शालिकराम भट्टराईले बताए । सामुदायिक अस्पताल सञ्चालनका लागि आर्थिक अवस्था कमजोर भएपछि स्वामित्व सरकार मातहत ल्याइएको होे ।

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले अस्पतालको लागि आवश्यक जनशक्ति नियुक्ति गर्ने प्रक्रियामा रहेको जानकारी दिए । ‘हामीले ३ महिना अघिनै एमबीबीएस डाक्टर, स्टाफ नर्स र प्राविधिकको अस्थायी दरबन्दी राख्ने निर्णय गरिसकेका छौं, उनले भने, ‘अब केहि दिन भित्र विज्ञापन गर्दैछौं ।’ उनले १५ शैयाको अस्पतालको लागि २४ जना दरबन्दी आवश्यक पर्ने बताए ।

सरकारको स्वामित्वमा आए पनि दरबन्दी सिर्जना हुन नसकेको बताए । अस्पतालबाट तनहुँको शुक्लागण्डकी, स्याङ्जाको हरिनाश, बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाबाटसमेत स्वास्थ्य सेवा लिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया