३३ किलाे सुन तस्करी प्रकरणका अभियुक्त हरि खड्का दुबईमा पक्राउ

समाधान संवाददाता २०७५ माघ २२ गते १६:०६

समाधान संवाददाता, काठमाडाैं

३३ किलो सुन तस्करी प्रकरणमा प्रहरीको सर्वाधिक खोजीमा रहेका काभ्रेका हरि खड्का भनिने हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । दस वर्षदेखि दुबई बस्दै आएका ४० वर्षीय खड्कालाई केही दिनअघि नै त्यहाँको प्रहरीले गिरफ्तार गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।

खड्कासहित उक्त प्रकरणमा संलग्नहरुलाई प्रहरी प्रधान कार्यालयबाट अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी गरिएको थियो । प्रकरणमा रेड नोटिस जारी भएका मध्ये रमेश उप्रेती र बेनु श्रेष्ठ यूएईमै पक्राउ परिसकेका छन् भने मोहनकुमार अग्रवाल, गोविन्दप्रसाद तिवारी, टुकबहादुर मगर, भोजराज भण्डारी, रोहित आचार्य, चेतनाथ भण्डारी, कृष्ण बस्नेत, कृष्ण गोपाल अग्रवाल र मोहमद उस्ताम मियाँ अझै फरार छन् । पक्राउ परेका खड्कालाई दुबईबाट नेपाल ल्याउने तयारी भइरहेको प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

Advertisement

वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् । साेही क्रममा खड्काले केही वर्षयता चूडामणि उप्रेतीसँग मिलेर दुबईबाट सुन तस्करीमा सहयोग गर्ने गरेको उच्चस्तरीय छानबिन समितिले जनाएको छ ।

भरिया सनम शाक्यकाे हत्या र ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती ‘गोरे’ अहिले जेलमा छन् । त्यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २०७३ सालमा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनको नाम जोडिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया