‘अति भयो’ भन्दै तालाबन्दीमा उत्रे मेडिकलका विद्यार्थी

समाधान संवाददाता २०७५ माघ २३ गते ९:०६

सुरेशराज अधिकारी

तोकिएभन्दा धेरै शुल्क लिएको भन्दै आन्दोलनमा उत्रेका गण्डकी मेडिकल कलेजका विद्यार्थीले शिक्षण अस्पतालको बहिरंग सेवा(ओपिडी) कक्षमा मंगलबार ताला लगाइदिएका छन् ।

कलेज प्रशासनले वार्तामा बोलाएर पनि बेवास्ता गरेको भन्दै विद्यार्थीहरुले ओपिडीमा ताला लगाइदिएका हुन् । उनीहरुले अस्पतालको इमरजेन्सी कक्ष, ब्लड बैंक, फार्मेसी र अन्तरंग कक्ष, ल्याब छाडेर ओपिडीका कोठाहरुमा ताला लगाएका हुन् ।

Advertisement

विद्यार्थीका अनुसार सोमबार बेलुका पत्र लेखेर कलेज प्रशासनले मंगलबार बिहान ११ बजे वार्ताको लागि बोलाएको थियो । कलेजको नागढुंगास्थित होस्टेलमा वार्ता बस्ने तय भएको थियो । ‘हामी वार्ताको लागि ११ बजेदेखि नै बसेका थियौं,’ १ विद्यार्थीले भने, ‘वार्ताको लागि कलेजबाट कोही नआएपछि हामीले ताला लगाएका हौं ।’

गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. टुमाया घलेले दिनभर ओपिडी कक्ष खुला भए पनि साँझपख तालाबन्दी भएको खबर पाएको बताइन् । उनले भनिन्,‘रुखाखोकीले आज अफिस जान सकिनँ, हिजो साँझ अबेरसम्म वार्ता भएकै हो, आज पनि भएजस्तो लाग्छ, अरु कुरा मलाई थाहा भएन ।’ होस्टेलबाट कलेज ल्याउने लैजाने देखि व्यवस्थापनका थुप्रै कामका लागि शुल्क लिएको उनको दाबी थियो । कलेजलाई कमजोर बनाउन केही तत्व लागी परेको र उनीहरुकै उक्साहटमा लागेको भनाइ डा. घलेले व्यक्त गरिन् ।

Advertisement

विद्यार्थीहरुले भने माग पुरा नभएसम्म आफूहरु आन्दोलनमा नै रहने बताएका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएका विद्यार्थीले जिल्ला प्रशासन कार्यालय कास्कीमा प्रमाणसहित लिखित उजुरी समेत दर्ता गराएका छन् । कास्कीका सहायक सिडिओ राजेश पन्थीले कलेज प्रशासनले विद्यार्थीलाई वार्तामा बोलाएको जानकारी गराए पनि वार्ता भएनभए बारे आफूहरुलाई थाहा नभएको बताए ।

कलेजले चिकित्सा शास्त्र अध्ययन संस्थानले तोके भन्दै बढी रकम लिदै आएको भन्दै विद्यार्थी गत बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बिहीबारदेखि नै कलेजको प्रशासनमा, कक्षाकोठामा तालाबन्दी गरिदिएका छन् ।एमबिबिएस, बिडिएस, बिएन नर्सिङ, बिएस्सी नर्सिङ, फार्मेसी पढ्ने विद्यार्थीसँग कलेजले बढी शुल्क लिएको विद्यार्थीको गुनासो छ । कलेजले विषय अनुसार १ विद्यार्थीसँग ७५ हजारदेखि १ लाख ५० हजारसम्म बढी शुल्क लिएको उनीहरुको आरोप छ ।

उक्त रकम नदिए परीक्षा दिन नपाउने, रजिस्ट्रेसन फर्म भर्न नपाउने भन्दै मानसिक तनाव दिने गरेको विद्यार्थीको भनाइ छ । २०७२ भदौ ३१ को मन्त्रिपरिषद बैठकको निर्णयानुसार चिकित्सा शास्त्र अध्ययन संस्थानले एमबिबिएसतर्फ अध्ययन गर्ने विद्यार्थीका लागि काठमाडौं उपत्यका बाहिर र भित्र छुट्टाछुट्टै शिक्षण शुल्क तोकेको थियो । त्यसमा त्रिवि रजिस्टे«सन, चिकित्सा शास्त्र अध्ययन संस्थान र नेपाल मेडिकल काउन्सिलमा विद्यार्थी दर्ता शुल्क एकमुष्ठ समावेश गरिएको हुन्छ ।

जिएमसीले सादा कागजमा हस्ताक्षर गरेर थप रकम असुली गर्दै आइरहेको प्रमाणसहित विद्यार्थीले प्रशासनमा उजुरी दिएका छन् । आन्दोलमा रहेका केही विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिँदै आइरेहको विद्यार्थीले गुनासो समेत गरेका छन् । १५ दिनसम्म कलेज बिदा रहेको सूचना कलेज प्रशासनले फेसबुक पेजमार्फत मंगलबार सार्वजनिक गरेको विद्यार्थीले बताएका छन् ।

तपाईको प्रतिक्रिया