पढाइ सँगसँगै व्यावहारिक शिक्षा

समाधान संवाददाता २०७५ माघ २७ गते १२:५८

सुन्दरकुमार थकाली

जनप्रतिनिधिलाई शिक्षा र ज्ञान अनुभव दिलाउने उद्देश्यले उपल्लो मुस्ताङको १ गाउँपालिकाको टोली अध्ययन–अवलोकन भ्रमणका क्रममा खोटाङको दिक्तेलस्थित सुगम फाउन्डेसन स्कुलमा पुगेको थियो । टोलीले त्यहाँ सिकाइ तथा कला विकासका धेरै कुरा बुझ्ने र सिक्ने अवसर प्राप्त गरे ।

सूर्य राई उक्त स्कुलका प्रिन्सिपल रहेछन् । स्कुलका गतिविधिबारे उनले हामीलाई धेरै कुरा बताए । स्कुलमा सीप विकासको शिक्षा बालबालिकालाई दिने गर्छ । दिउँसो विभिन्न सीप सिकाइन्छ र साँझ लेख्न लगाइन्छ । अभ्यासका माध्यमबाट बालबालिकालाई मानसिक रूपमा जीवित राखिन्छ । जब हामी स्कुल परिसर घुम्यौं । स–साना बालबालिका विभिन्न सीपमूलक कला सिक्दै काममा व्यस्त देखिन्थे । उमेर समूहले सबै १५ वर्षमुनिका बालबालिकामात्रै छन् । स्कुलको प्रवेशद्वारमा लेखिएको छ, ‘बालश्रम अपराध हो तर बालबालिकालाई सीप सिकाउनुु धर्म हो ।’

Advertisement

सरकारी पाठ्यक्रमलाई आधार बनाएर १२ वटा विषयमा सिकाइन्छ । अनि परीक्षा भने अन्य स्कुलबाट दिन लगाइन्छ । स्कुलमा बोली शिक्षातर्फ नेपाली, अंग्रेजी, हिन्दी र चाइनिज भाषा आदिको ज्ञान दिइन्छ । त्यस्तै, विज्ञानतर्फ प्रकृति, खाना , लुगा , निर्माण तथा घर सम्बन्धी शिक्षा दिइन्छ भने प्रविधितर्फ (इन्जिन र तार) साथै स्वास्थ्य र यौन, संगीत र खेल शिक्षा दिइन्छ । मानविकीतर्फ व्यवस्थापन, सिर्जनशील, मनोयोग र सन्तुलन शिक्षा इत्यादि सिकाइन्छ । स्कुलले बालबालिकालाई सक्षम नागरिक निर्माणमा जोड दिएको पाइन्छ ।

सरकारी स्वामित्व नपाएको त्यो स्कुल निजी तवरबाट सञ्चालन गर्दा नाफामूलक संस्थाका रूपमा हेरिने यसका अभियन्तालाई डर छ । स्कुलमा पुग्दा यो नाफाका लागि होइन, विशुद्ध समाजसेवाका लागि मात्र हो भन्ने लाग्यो । अहिले स्कुलमा कक्षा ८ सम्म पढाइ भइरहेको छ तर लक्ष्य चाहिँ स्नातकसम्मको शिक्षा दिनु हो ।

Advertisement

बालबालिकालाई भ्याकेसनल तथा एकेडेमिक शिक्षा दिलाएर समृद्ध नेपालको खाका कोर्ने दक्ष जनशक्ति उत्पादन गर्ने र ती जनशक्तिलाई मानसिक र शारीरिक रूपमा देशकै माटोमा सेवा गर्न समर्पित गराउनु स्कुलको मुख्य उद्देश्य रहेको प्रिन्सिपल राई बताउँछन् ।

दिक्तेल बजारनजिकै रहेको सुगम फाउन्डेसन मदन राईले ८ वर्षअघि केही सहकर्मीको सहयोगमा सञ्चालनमा ल्याएका रहेछन् । स्कुलको रेखदेख तथा सञ्चालनको जिम्मा कृषि विज्ञ सूर्य राईले लिएका छन् भने स्कुलका संरक्षक मदन राई हुन् । उनी अहिले साढे ६ दशक उमेर पूरा गरेका पाका व्यक्ति हुन् ।

सुगम फाउन्डेसन २०६७ सालमा सुरु भएको हो । स्कुल अवलोकन गर्न त्यहाँ पुगेका धेरैले लेख लेखे, भिडियो रिपोर्ट तयार पारे । नेपालका साथै भारतबाट पनि केही बालबालिका यहाँ पढ्न आएका छन् । मुस्ताङबाट पनि २ जना बालबालिकाले यहाँ पढ्छन् । करिब सय रोपनी क्षेत्रफलमा फैलिएकोे सो स्कुलमा ५–७ वटा भूकम्परहित जस्ताले छाएको भवन छन् । बाँकी जग्गा फर्निचर तथा मेसिनरी औजारलगायत खेतीपाती गर्ने जमिन र पशुपालनका लागि टहरा बनाइएको छ । जहाँ बालबालिकालाई सीपको प्रशिक्षण दिएर व्यावहारिक बनाइन्छ ।

कोदालोदेखि कम्प्युटरसम्म, चालकदेखि प्राविधिक र कृषि खेतीको शिक्षा दिइन्छ । यहाँबाट पढेका स्कुले बालबालिका सीपको अभावमा भोकै मर्दैनन् । प्रमाणपत्रको भरमा जागिर खाने अनि दिन काट्ने तथा तलब पर्खने परम्परालाई चिर्दै स्कुलले जनशक्ति उत्पादनमा जोड दिएको छ ।
बालबालिकालाई अर्गानिक तरकारी खेतीतर्फ उत्प्रेरित गरेको छ भने पशुपालन तथा आधुनिक वैज्ञानिक खेती गर्न पनि सिकाइन्छ ।

यतिसम्म कि मानिसको दिसा–पिसाब सञ्चय गरेर प्रशोधनमार्फत् अर्गानिक मल तयार गरिन्छ । स्कुल आफैंले भैंसी, घोडा, बँदेल, बाख्रा, कुखुरा, माछा आदि पालेको छ भने बालबालिकालाई यसको अभ्यास पनि गराउने गरेको छ । हाँस्न, गाउन, नाच्नदेखि होटल व्यवस्थापनका सम्पूर्ण शिक्षा स्कुलले दिएको पाइन्छ । मानव जीवनमा आवश्यकपर्ने हरेक सिकाइको अवसर सुगम फाउन्डेसनले प्रदान गरेको छ ।

यसका लागि विभिन्न संघ, संस्था र व्यक्तिले सहयोग प्रदान गर्दै आएको छ । त्यसो त मदन राईले शिक्षाको विकासका लागि जीवनभरको कमाइ स्कुलमा लगानी गरेको बताउँछन् । उनका अनुसार स्कुलमा करिब ३ सय बालबालिकाले भ्याकेसनल तथा एकेडेमिक शिक्षा लिँदै गरेको जानकारी दिए ।

मदन राईले किन खोले यस्तो स्कुल ?
मदन राई शिक्षाप्रेमी, देशीप्रेमी तथा १ कृषि विज्ञ र धेरै विधामा खारिएका पाका व्यक्ति हुन् । स्कुलका परिकल्पनाकार राई खोटाङ जिल्लाका स्थायी बासिन्दा हुन् । सरकारले धेरै वर्ष पहिले उनलाई छात्रवृत्तिमा बेलायत पढ्न पठाएको थियो । उनले त्यहीं एमएससीसम्मको शिक्षा पूरा गरे । सरकारले उनीमाथि गरेको लगानी नेपालमै बसेर तिर्ने सोच बनाएर उनी नेपाल फर्किएका थिए ।

२०३० दशकतिर खाद्य संस्थान हुँदै कृषि अनुसन्धान केन्द्र नार्कमा जागिर खाएका उनले मुस्ताङको मार्फामा स्थापना भएका कृषि बागवानी विकास केन्द्रमा पनि जागिर खाए । त्यसबेला मुस्ताङमा काम गर्न कुनै कर्मचारी जान तयार हुँदैन्थे । तिब्बतियन खम्बा बिद्रोहले त्यहाँ बस्न डर हुन्छ भन्ने हल्ला राईले सुनेका थिए । तर तत्कालीन सरकारले उनलाई मुस्ताङको मार्फामा नै खटाइयो । उनी १२ वर्षसम्म कुनै बिदा नलिइ नियमित बागवानी केन्द्रमा बसेर त्यहाँका स्याउ खेतीको विकासमा लागि परे ।

संयुक्त राष्ट्र संघमा पनि थुप्रै वर्ष सेवा गरी अवकास लिएका उनले आफूले प्राप्त गरेको शिक्षा र आर्थिक सम्पत्ति सुगम फाउन्डेसनमा लगानी गरे । यसअघि पनि यस्तै प्राविधिक एकेडेमी सञ्चालन गरे पनि सीप प्राप्त गरेका व्यक्ति धमाधम विदेश पलायन भइदिँदा सिकाइका अलावा मानसिक शिक्षा आवश्यकपर्ने निष्कर्षसहित उनले बालबालिकालाई आवासीय एकेडेमिक प्राविधिक शिक्षा सञ्चालनमा जोड दिए ।

राईद्वारा स्थापित सुगम फाउन्डेसनले सुरु गरेका विषय पुरै आत्मसाथ गर्न नसकिए पनि त्यहाँ सिकाइने हरेक विषयलाई सरकारी विद्यालयले अनुसरण मात्र गर्नसके जनशक्ति उत्पादन तथा विदेश पलायनको मानसिकतालाई तोड्न सकिने निष्कर्ष टोलीको छ ।

तपाईको प्रतिक्रिया