उत्तरगंगा अध्ययन गर्दै प्राविधिक टोली

समाधान संवाददाता २०७५ फागुन २ गते १०:१३

ताराप्रसाद शर्मा, बागलुङ

प्रस्तावित उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि बागलुङ आएको प्राविधिक टोलीले आयोजना स्थल अध्ययन सुरु गरेको छ । अध्ययनका लागि आएको नेपाल विद्युत् प्राधिकरणको टोलीले आयोजना स्थलमा पुगी वातावरणीय प्रभाव मूल्यांकन लगायतका काम गर्न सुरु गरेको हो । टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको राय र लगत संकलन पनि थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशी, वातावरण विभागका सहनिर्देशक अच्युत दवाडी, वातावरणविद् विनोद प्याकुरेल, सिभिल इन्जिनियरद्वय कौशल घिमिरे र कैशल अन्सारी लगायतक १० जनाको टोली अहिले आयोजना स्थलको विस्तृत अध्ययनमा व्यस्त छ ।

Advertisement

आयोजनाको क्षेत्र निर्धारण तथा कार्यसूचीसहितको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई आयोजना प्रभावित क्षेत्र ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्थलगत अध्ययनका लागि प्राधिकरणको टोली आएको नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक कृष्णप्रसाद जोशीले बताए ।
प्राविधिक टोलीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बस्ती स्थानान्तरणको सम्भावना, प्रभावितलाई प्रदान गरिने मुआब्जा, स्थानीयवासीको मागका विषयमा स्थानीयवासीको राय संकलनसमेत गरिरहेको उनले जानकारी दिए । उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सकिने नेपालकै उत्कृष्ट आयोजना रहेको अध्ययन टोलीका सदस्य विभागका सहनिर्देशक दवाडीले बताए ।

ठूला आयोजना निर्माण गर्दा कम विस्थापित हुने नेपालकै पहिलो आयोजना उत्तरगंगा जलाशययुक्त आयोजना रहेको दवाडीको भनाइ छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अध्यायन प्रतिवेदन भइसकेपछि आयोजना निर्माण गर्न अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेर निर्माणको काम थालिने प्राधिकरणको भनाइ छ ।
गण्डकी प्रदेशको समृद्धिका लागि आयोजनाले ठूलो भूमिका खेल्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । ८ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने अनुमान गरिएको उक्त जलविद्युत् आयोजनाको लामो समयसम्म बागलुङतर्फ पानी खसालेर आयोजना बनाउने या रुकुमतर्फ पठाउने भन्ने विषयमा विवादका कारण अगाडि बढ्न सकेको थिएन ।

Advertisement

आयोजना रुकुमतर्फ खसाल्दा जम्मा ३ सय ५० मेगावाट उत्पादन हुने भएपछि निसिखोला नै खसाल्ने निधो भएसँगै आयोजनाले गति लिएको छ । आयोजना निर्माण गर्न करिब ६ सय घरधुरी विस्थापित हुने भएका छन् भने ५ हजार कित्ता जमिन प्रयोग हुन सक्ने प्राधिकरणबाट खटिएकोे प्राविधिक टोलीले अनुमान गरेको छ ।
ढोरपाटनमा रहेको उत्तरगंगा नदीको पानीलाई १ हजार ३ सय ५० मिटर तल निसिखोलामा खसालेर विद्युत् उत्पादन गरिने लक्ष्य आयोजनाले राखेको छ । आयोजना निर्माणका लागि करिब १ सय २० अर्ब खर्च लाग्ने बताइएको छ । जलाशययुक्त जलविद्युुत् आयोजना निर्माण भएपछि बर्खा र हिउँदमा एकै किसिमको विद्युत् उत्पादन हुने बताइएको छ ।

आयोजना प्रभावित क्षेत्र ढोरपाटन र निसीखोलाको वातावरणीय प्रभाव मूल्यांकन र प्रभावित बन्न सक्ने स्थानीय बासिन्दा, आयोजनाभित्र पर्ने जग्गा, रूख लगायतको लगत संकलनका लागि प्राविधिक टोली ढोरपाटन आएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया