गण्डकी प्रदेश सरकारले ‘वाररुम’ कार्यकक्ष सुरु गर्दै

समाधान संवाददाता २०७५ फागुन ३ गते ८:२७

समाधान संवाददाता

प्रदेश दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले वाररुम सुरु गर्ने भएको छ । मुख्यमन्त्रीले प्रदेशका मुख्य परियोजनाहरु अनुगमन र निर्देशित गर्ने भिडियो प्रणालीसहितको कार्यकक्ष सुरु हुने जानकारी आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री किरण गुरुङले दिए ।

सरकारले फागुन ४ लाई प्रदेश दिवस घोषणा गरेको छ । दिवस मनाउन अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ । वाररुम सञ्चालनको योजना सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको थियो ।

Advertisement

वाररुमको अवधारणा बेलायतका तत्कालीन प्रधानमन्त्री विन्स्टन चर्चिलबाट सुरु भएको हो । उनले दोस्रो विश्वयुद्धताका आफ्ना जर्नेलहरुलाई राखेर कसलाई कता खटाउने, कहाँ के गर्ने भन्ने निर्णय तुरुन्ता तुरुन्तै लिन्थे । त्यही कक्ष वाररुममा रुपमा चर्चित बनेको थियो । सिंगापुरका लि क्वान यु र मलेसियाका महाथिर मोहम्मदले पनि वाररुम सञ्चालन गरेका थिए ।

भारतको तेलंगना राज्यमा विश्वकै सबैभन्दा ठूलो सिँचाइ आयोजना बनिरहेको छ। १८ सय किलोमिटर लामो सिँचाइ नहर निर्माण आयोजनाको अनुगमन त्यहाँका मुख्यमन्त्री के चन्द्रशेखर राव आफ्नै कार्यकक्षबाट गर्छन् ।

Advertisement

वाररुममा भिडियो कन्फेरेन्स सफ्टवेयर ‘जुम’ प्रयोग हुनेछ । मुख्यमन्त्री कार्यालयमा कर्मचारीकै संयोजकत्वको वाररुम व्यवस्थान टिम बन्नेछ । परियोजनाको गतिविधि, तथ्यांक र ग्राफमा देखाउन डिस्प्ले वाररुममा हुन्छ । प्रदेश दिवसकै अवसरमा निजामती कर्मचारी पुरस्कृत गर्ने जानकारी पनि मन्त्री गुरुङले दिए । सरकारले १ वर्षका उपलब्धि पनि सार्वजनिक गर्नेछ ।

तपाईको प्रतिक्रिया