सडक बालक र समस्या

समाधान संवाददाता २०७५ फागुन ८ गते ७:४४

निकै सुनेको र परम्परावादी वाक्यांश छ, ‘बालबालिका भविष्यका कर्णधार हुन्’ । सरकारी, गैरसरकारी संघ संस्थाहरुले यो वाक्यांश प्रयोग गरेको नै धेरै भइसक्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा बर्सेनि बाल दिवस पनि मनाइन्छ । अनि बालबालिकाको हक अधिकारका ठूला नारा लगाइन्छ । प्लेकार्ड बोकाएर उनै बालबालिकालाई सडक परिक्रमा गराइन्छ । सन् १९९० मा नेपालले बालअधिकार महासन्धिमा हस्ताक्षर गरेको दिनको सम्झनामा नेपालमा बर्सेनि भदौ २९ गते बाल दिवस मनाइन्छ । नेपाल र अन्तर्राष्ट्रिय कानुनले १८ वर्ष उमेर मुनिकालाई व्यक्तिलाई बालबालिका मानेको छ । हरेक वर्ष बाल दिवस मनाइँदै र पनि बालबालिकाको अवस्थामा सुधार हुन सकेको छैन । बालयौन दुराचार उस्तै बढेको छ । बालिकको बलात्कारपछि हत्याका घटना कहाली लाग्दा छन् । बाल श्रम शोषणको शृंखला उस्तै छ । बालबालिकाको बेचबिखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या घट्न सकेको छैन । सडक बालबालिकाको अवस्था हेर्ने हो भने त अझ दर्दनाक छ ।

अधिकारकर्मीका अनुसार काठमाडौंसहित देशभर अहिले ५ हजारभन्दा बढी सडक बालबालिका रहेको तथ्यांक छ । सडक बालकालिकालाई सकेसम्म परिवारमा पुनस्थापना गर्ने र नसकिएमा राज्यले विशेष व्यवस्था गर्ने आवाज उठ्न थालेको धेरै भइसकेको छ । तर सुधार हुन सकेको छैन । पोखरा नगर क्षेत्रमा अहिले सडक बालकहरु मुख्य चुनौती सावित भएका छन् । पोखरा महानगरपालिकाले गत कात्तिक २७ गतेदखि मंसिर १३ गतेसम्म गरेको गणनामा सडक ७९ बालबालिका र ८ जना युवा भेटिएका छन् । उनीहरु मुख्य गरी पृथ्वीचोक, शान्तिवन, महेन्द्रपुल र लेकसाइड क्षेत्रमा बस्दै आएका छन् । पोखरामा भएका चोरी, डकैति, बलात्कार र हत्यासम्मका घटनामा सडक बालकहरु संलग्न रहेको पाइएको छ । यस्ता घटनामा संलग्ना बालबालिकाकालाई सजाय कम हुने साथै काम लगाउन पनि सजिलो हुने भएकाले पेसबरहरुले पनि उनीहरुलाई प्रयोग गर्दै आएका छन् ।

पहिला ससना अपराधमा संलग्न हुने गरेकोमा अहिले त उनीहरु ठूलो अपराधमा संलग्न हुन थालेका छन् । यो समस्याको बेलैमा व्यवस्थापन गर्न कास्की प्रहरीले महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थालाई बेलाबेलामा जानकारी पनि गराएको छ । तर बालबालिकाको समस्यामा सरोकारवाला निकायको चासो पुग्न सकेको छैन । पोखरामा महानगरपालिले प्रदेश सरकारको सहकार्यमा सडक बालबालिका व्यवस्थापन गर्न लागेको बताएको छ । तर यसले पनि मुर्तरुप पाउने संकेत देखिएको छैन । कानुनले रोक लगाए पनि पसलेहरुले बालबालिकालाई मदिरा, चुरोट र अन्य मादक पदार्थ बिक्री गर्ने काम रोकिएको छैन । अपराधमा संलग्न बालबालिका सबैजसो मदिरा र लागुऔषधको नशामा रहने गरेको पाइएको छ । यसका लागि बिक्रेताहरु पनि सचेत हुनुपर्छ । अझ मुख्य कुरो त बालबालिकाको क्षेत्रमा काम गर्ने भन्दै दर्ता भएका गैरसरकारी संस्थाले आफू सक्रिय हुँदै सरकारी निकायलाई सजग बनाउने काम गर्न अब ढिला भइसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया