उपभोक्ताको लगानीमा नाला निर्माण

समाधान संवाददाता २०७५ फागुन ८ गते ८:१९

कृष्ण न्यौपाने

तनहुँको म्याग्दे गाउँपालिका वडा नं ७ मा उपभोक्ताको शत प्रतिशत लगानीमा पक्की नाला निर्माण सुरु भएको छ । मिन माध्यमिक विद्यालय पछाडितर्फको द्वारेखोला पुलचोकदेखि तिलाटार हुँदै रानीस्वाँरासम्मको १ किलो मिटर पक्की नाला उपभोक्ताकै शत प्रतिशत लगानीमा निर्माण सुरु भएको हो ।

स्थानीय उपभोक्ता जागरुक बने राज्यको मुख ताक्नै नपर्ने

Advertisement

गण्डकी प्रदेश सरकारले उक्त सडक कालोपत्रे गर्न ५० लाख विनियोजन
गरेकोमा एकतर्फी पक्की नाला निर्माण नगरिकन सडक कालोपत्रे गर्न नमिल्ने भएपछि स्थानीय जनताले आफै रकम उठाएर पक्की नाला निर्माण सुरु गरेको उपभोक्ता समितिका अध्यक्ष विष्णु वाग्लेले जानकारी दिए । नाला निर्माणको लागि स्थानीय उपभोक्ताले १५ लाख संकलन गरेका छन् ।

१ सय घरधुरी रहेको उक्त सडकखण्डमा हरेक घरधुरीले नाला निर्माणको लागि रकम उपलब्ध गराएका छन् । प्रत्येक घरले न्यूनतम १० हजारदेखि अधिकतम २५ हजारसम्म रकम उपलब्ध गराएको उपभोक्ता समितिका सल्लाहकार डिलबहादुर नेपालीले जानकारी दिए । चैत महिनाभित्रमा नाला निर्माण सम्पन्न भएपछि सडक कालोपत्रे सुरु गरिने उनले बताए ।

Advertisement

प्रदेश सरकारको रकमले सडक कालोपत्रे गर्न पनि नपुग्ने भएको र पक्की नाला निर्माण नभइकन सडक कालोपत्रे गर्न नमिल्ने प्राविधिकको सुझाव पछि स्थानीय उपभोक्ताले नै रकम संकलन गरेर नाला निर्माण सुरु गरेका हुन् ।

नाला निर्माणका लागि स्थानीय उपभोक्ता नै खटिएका छन् । सामान ढुवानी गर्ने, अनुगमन गर्ने, पानी हाल्ने लगायतका काममा स्थानीयहरु आफै खटिएको सल्लाहकार नेपालीले जानकारी दिए ।

म्याग्दे गाउँपालिका ७ का वडाध्यक्ष पद्मराज वाग्लेले स्थानीय उपभोक्ताले नै पक्की नाला निर्माण गर्नु सकारात्मक भएको भन्दै वडा कार्यालयले अन्यत्र आवश्यक ठाउँमा रकम विनियोजन गर्न पाउने बताए । उनले अन्यत्रका उपभोक्ता पनि यस्तै जागरुक बनेमा सँधै राज्यको मुख ताक्नु नपर्ने बताए ।

तपाईको प्रतिक्रिया