२ तिहाई सरकार कलाकारको व्यंग्य मै तर्सियो

समाधान संवाददाता २०७५ फागुन ९ गते ७:५४

समाधान संवाददाता

नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीले २ तिहाई सरकार पक्ष कलाकारको व्यंग्यमै तर्सिएको आरोप लगाएका छन् । उनले पशुपति शर्माको गीत युट्युबबाट हटाइएको प्रसंग निकाल्दै उक्त भनाइ राखेका हुन् ।

‘कलाकारले किन त्यसो भन्यो भन्नेबारे सोच्नुको साटो आफ्नो विरुद्ध बोल्नेमाथि सरकार पक्ष अनुन्यायी खनिइरहेकाछन्,’ केसीले भने, ‘२ तिहाई सरकार पक्षक अनुयायीले डर, धम्की र शक्ति प्रहार गर्न लागेको छन् ।

Advertisement

बुधबार पोखरामा सञ्चारकर्मीसँग बोल्दै उनले केपी ओलीको सरकारले निरंकुश शासन लाद्न खोजेको ओरोप लगाएका हुन् । उनले राजा र पञ्चायती शासन व्यवस्थामा पनि अहिलेको जस्तो निरंकुश शासन नभएको दाबी गरे । उनले भने, ‘राणा र राजाको शासनमा पनि यस्तो कडा थिएन । जनताले न्यायको आवाज उठाउनै नपाउने अवस्था आयो ।’

केसीले जनताको न्यायिक स्वतन्त्रतामाथि नै हनन् हुने काम भइरहेको समेत आरोप लगाए । ‘जिल्लादेखि केन्द्रसम्म सबै अन्यायमा छन् । त्यसविरुद्ध बोल्दा पनि थुनिनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो सबै न्यायिक प्रणाली नै राजीतिक पार्टीको दवाव र प्रभावमा परेर भएको हो ।’ उनले न्यायिक क्षेत्रमा सबैभन्दा बढी राजनीतिक भागबण्डा भएको बताए ।

Advertisement

‘केपी ठीक छन्, पात्र काँटछाँट गर्नुपर्‍यो’
सांसद सूर्यबहादुर केसीले प्रधानमन्त्री केपी ओली ठीक भएपनि अन्य पात्रका कारण उनको छविमा आँच आइरहेको बताएका छन् । उनले प्रधानमन्त्री ओली महत्वाकांक्षी भए पनि गलत नियत नभएको दाबी गरे ।

‘केपी ओली आफू खराब हुनुहुन्न तर केही खराबीलाई सहयोग गरिरहनु भएको छ,’ सांसद केसीले भने, ‘धमिलो पानीमा माछा मार्नेहरुले गर्दा उहाँको प्रतिष्ठामा आँच आइरहेको छ ।’ उनले प्रधानमन्त्री राजनीतिक दलको नभई सरकारको प्रतिनिधित्व ग्रहण गर्ने भएकाले त्यतातर्फ सोच्न आग्रह गरे ।

केसीले प्रधानमन्त्रीलाई कतिपय पात्र काँटछाँट गर्न पनि आग्रह गरेका छन् । ‘प्रधानमन्त्री ज्यू, १ वर्ष भइसक्यो । अब केही पात्रहरुको काँटछाँट गरिबक्स्योस्,’ उनले भने । उनले वाइडबडी काण्डमा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समेत राजिनामा दिएर बाहिरबाटै सरकारलाई सहयोग गर्न आग्रह गरे ।

केसीले वाइडबडीमा मुछिएकालाई कारबाही गर्नुको साटो आफैं छानबिन आयोग गरेर झुक्याउने काम भएको आरोप लगाए । ‘जुनसुकै जहाज किन्दा पनि भ्रष्टाचार काण्ड भएको छ । सरकार काण्डैकाण्डलाई ढोकछोप गर्न लागिपरेको छ,’ उनले भने ।

‘युवा स्वरोजगार कार्यक्रम कार्यकर्तालाई दान दिने काम भयो’
प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम प्रभावकारी नभएको सांसद सूर्यबहादुर केसीले बताएका छन् । उनले लक्षित युवा वर्गले अनुदान नभएको तर पार्टीगत कार्यकर्तालाई दान दिने काममात्र भएको आरोप लगाए ।

केसीले देशका शक्ति सबै बाहिरी देशमा भएकाले विकास हुन नसकेको दाबी गरे । ‘शिक्षित र अशिक्षित कुनै युवा देशमा छैनन् । यसरी कसरी देश विकास हुन्छ ?’ उनले प्रश्न गरे, ‘केन्द्रदेखि स्थानीय तहसम्म बढेको करले युवालाई झनै पलायन हुन बाध्य पारिरहेको उनको दाबी थियो ।

केसीले सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन नसकेर संस्थागत विद्यालयलाई प्रहार गरिरहेको बताए । उनले भने, ‘सरकार आफैं आफ्नो स्कुलको गुणस्तर बढाउन सक्दैन । बोर्डिङ स्कुललाई कब्जा गर्ने सपनामात्रै देखिरहेको छ ।’ उनले त्यसो हुनुमा केही माननीयले उक्साइरहेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया