पत्रकारको पत्र पत्रकारलाई

समाधान संवाददाता २०७५ फागुन १० गते ८:४७

सांकेतिक तस्बिर

रामकृष्ण ज्ञवाली

आदरणीय पत्रकारज्यूहरु,
नमस्कार
आराम छु, सोही चाहन्छु । देशभरका पत्रकारलाई सम्बोधन गरेर यो चिठी लेख्दैछु । ‘चिठी’ शब्द लेख्दा नै कस्तो कस्तो अनुभूति भएको छ ! अलि अलि अप्ठेरो लागेजस्तो । कता कता लाज लागेजस्तो । अहिलेको पुस्ताले सायद चिठी भन्ने शब्दै चिन्दैन होला । ‘अझै चिठी लेख्ने, टिकट टाँस्ने र हुलाकबाट पठाउने, हुलाकमा खसाएको चिठी पाउने मान्छेले महिनौंपछि पाउने र त्यसको जवाफ महिनौंसम्म कुर्ने । यस्तो परिस्थिति थियो नि हाम्रै पालामा’ भन्यांै भने हाम्रा छोराछोरीले पत्याउँदैनन् । अहिले यो एकादेशको कथाजस्तो भइसक्यो । त्यसैले मैले पनि यो पत्र बढो अप्ठेरो मानेर कोर्दैछु ।

Advertisement

पत्रकार ज्यूहरु, म यसै वर्ष छिमेकी मुलुक चीनको १ साता लामो भ्रमण गरेर आएँ । त्यो भ्रमणको उदेश्य त्यहाँको पत्रकारिताको अध्ययन गर्नु थियो । हामीले प्रिन्ट मिडिया अवलोकन गर्‍यौं । टेलिभिजन पत्रकारिता र अनलाइन पत्रकारितामा चीनले गरेको प्रगति हेर्‍याैं । यो हेरिसकेपछि मलाई हाम्रो पुरानो पत्रकारिता झलझली याद आयो । हाम्रा पत्रकारिताका औजारहरु त्यहाँको संग्राहलयमा भेट्यौं । कलम क्यामेरा, प्रेस लगायतका सामग्रीको संग्रहालय भ्रमण गर्‍यौं । त्यो बेला हाम्रा कलम र समाचार लेखनको कठिनाइको स्मरण भयो । हामी कहाँ थियौं, हाम्रो समाज कहाँ आइपुग्यो र अब कहाँ पुग्दैछौं भन्ने कुराले मलाई चिमोटिरहेको छ । त्यसैले तिनै पुराना दिनको स्मृति गर्दै यो पत्र लेख्दैछु ।

छिल्लो पुस्ताको चाहना अनुसारको शैलीमा नयाँ ढंगको पत्रकारिता अबको आवश्यकता हो । छापा पत्रकारिताको तुलना अन्य पत्रकारितासँग हुन सक्दैन ।

Advertisement

पोखरामा हामीले गगन साप्ताहिक निकाल्दाको अवस्था कस्तो थियो ? जम्मा २० वर्ष अघिको कुरा त हो नि । टेबुलमा कागज हुन्थे । समाचारका लागि तथ्यांक टिपिएका डायरी हाम्रा हातमा हुन्थे । तिनै डायरी हेर्दै कागजका पानामा समाचार लेख्थ्यौं र टाइपराइटरलाई टाइप हान्न दिन्थ्यौं । पत्रकारले समाचार लेख्ने हो, टाइप गर्न जान्दैनन् भन्ने थियो । फेरि कम्प्युटर पनि कहाँ थियो र ? ट्रेसिङ पेपर, छापाखाना हुँदै निस्कने पत्रिकाको कत्रो मूल्य हुन्थ्यो । त्यो बेला पत्रकार र पत्रिकाको गजबको महत्व थियो ।

२० वर्षपछि अहिले चीनको भ्रमण गर्दा त्यहाँको ‘चाइना युथ डेली’ पत्रिकाको मुख्यालय जाने मौका मिल्यो । सम्पादकसँग छलफलमा बस्यौं । बडो डरलाग्दो अवस्था पाएँ । ५ वर्ष अघिसम्म दैनिक ४० लाख प्रति छापिने त्यो पत्रिका अहिले १० लाख प्रतिमा खुम्चिएछ । त्यही १० लाख पाठक फेला पार्न पनि मुस्किल छ भन्दै थिए सम्पादक । कहाँ गए त ती पाठक ? मैले प्रश्न तेस्र्याउन नपाउँदै उनले आफू नजिकै राखिएको भीमकाय स्क्रिनतर्फ देखाए र भने ‘यहाँ छन उनीहरु ।’ बिहानको करिब १० बजेको थियो । चीनिया भाषामा लेखिएको स्क्रिनमा अंक भने अंग्रेजीका थिए । सबै भन्दा माथिको अंक थियो– १४ लाख ५२ हजार चार सय ३१ । सम्पादकले भने– ‘आजका अनलाइन भिजिटर हुन् यिनीहरु । रातिसम्म २ करोडको हाराहारीमा पुग्छन् । विश्वकप फुटबलको सिजनमा त ५ करोडसम्म पनि भिजिटर पुगे ।’

हाम्रो पत्रकारिताको सुरुअत पत्रिकाबाटै भएको हो । समय र प्रविधिको विकाससँगै हाम्रो पत्रकारिताको रुपमा धेरै परिवर्तन भएको छ । रेडियोको जगजगी हुने बेलामा पनि पत्रिका सकिन्छन कि भन्ने त्रास थियो, तर सकिएन । पछि टेलिजिभनको बजार विस्तार हुँदा पनि पत्रिकाको भविष्यको बारेमा चिन्ता थियो । यसले पनि प्रिन्ट पत्रकारितालाई मार्न सकेन । तर अहिलेको अनलाइन पत्रकारिताले प्रिन्ट, टेलिभिजन र रेडियो, ३ वटै सञ्चार माध्ययमलाई ठूलो चुनौती दिएको छ । किनभने यो अनलाइनमा यी ३ वटै सञ्चार माध्यममा हुने सामग्री क्षणभरमै समेटिएका छन् । यसैले छापा पत्रकारिता निकै कठिन अवस्थामा छ । यहाँसम्मको यात्रा पार गर्दाको चुनौतीका कथा साँच्चिकै सम्झना लायक छन् ।

त्यही चीनको भ्रमणका क्रममा चाइना अन्तर्राष्ट्रिय रेडियोको रेडियोसम्बन्धी संग्रहालयको भ्रमण गर्ने मौका पनि मिल्यो । त्यो संग्रहालयमा माओत्सेतुङले सुरुआत गरेको रेडियोदेखि अहिलेको रेडियोसम्मको सबै कुरा समेटिएका थिए । त्यो आफैले १० वर्षअघि समाचार संकलनका लागि प्रयोग गरेका सामग्री अहिले प्रयोगमा नआउने पुराना औजार भइसकेको देखें । समय कति छिटोछिटो परिवर्तन भइरहेछ । त्यो बेला पनि मैले मेरै छापा पत्रिका झलझली सम्झें । कतै केही समयपछि हाम्रो छापा माध्यम पनि यस्तै संग्रहालयमा प्रदर्शन गर्ने सामग्री त बन्ने छैन ? ‘पहिले पहिले यस्ता कागजमा समाचार छापिन्थे ।’ संग्रहालय हेर्न जानेले अचम्म मानेर अवलोकन गर्ने अवस्था त आउँदै छैन ?

हो मलाई यति बेला छापा पत्रकारिताको ठूलो चिन्ता छ । नेपाली प्रिन्ट पत्रकारिताको इतिहास साँच्चिकै गर्व गर्न लायक छ । देशको ठूलाठूला राजनीतिक परिवर्तनमा यसले अग्रणि भूमिका खेलेको हो । यसले हामी नेपालीको छाती चौडा बनाउँछ । यसकारण यो निरन्तर प्रकाशन भइरहनु पर्छ । तर यही अवस्थामा यसले निरन्तरता पाउँछ भन्ने कुनै ग्यारेन्टी छैन । विस्तारै विज्ञापन बजार पनि ओरालो लागेको छ । यही अवस्था रहने हो भने अधिकांश छापा माध्ययम समाप्त हुनुको विकल्प छैन ।

त्यसैले पत्रकारज्यूहरु
छापा माध्ययमा काम गर्ने पत्रकारले अहिलेको शैली परिवर्तन गर्नु आवश्यक छ । पछिल्लो पुस्ताको चाहना अनुसारको शैलीमा नयाँ ढंगको पत्रकारिता अबको आवश्यकता हो । छापा पत्रकारिताको तुलना अन्य पत्रकारितासँग हुन सक्दैन । यो सयौं वर्षको इतिहास बोकेको माध्यम हो । यसमा जत्तिको जनविश्वास अन्य माध्यममा छँदा पनि छैन । तर हाम्रो परम्परागत शैलीले मात्र यसलाई थेग्न सक्दैन । यसको नयाँ आयामको खोजी हुनैपर्छ । यसको पृथक शैलीको पहिचान गर्नैपर्छ र हाम्रो प्यारो पत्रिका र हाम्रो प्रिय पत्रकारिता जीवन्त राख्नै पर्छ । यो अभियानमा विश्वभरका छापा माध्यम र यसमा कार्यरत पत्रकार लाग्नुपर्छ । मेरो प्रिय पत्रिका बाँच्नु पर्छ । बाँकी भेटमा विस्तार गरौंला, अहिलेलाई यत्ति नै ।

तपाईको प्रतिक्रिया