खेलाडी किरण चेमजोङ पोखरामा सम्मनित

समाधान संवाददाता २०७५ फागुन १० गते ९:०७

विकास रोकामगर

सहारा क्लब पोखराले बिहीबार पोखरामा नेपाली राष्ट्रिय फुटबल टिमका गोल रक्षक किरण चेम्जोङलाई सम्मान गरेको छ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको क्लबले जनाएको छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले चेम्जोङलाई सम्मान पत्र र दोसल्ला ओदाएर सम्मान गरेका हुन् । उनले सम्मानसहित ३५ हजार रुपैयाँ प्राप्त गरेका छन् । सम्मान ग्रहण गर्दै उनले पोखरा रंगशालाको भत्किएको प्यारापिटतर्फ इंगित गर्दै भने, ‘मन्त्री ज्यू । यो रंगशाला चाँडै बनाइदिनुस् ।’
खेलाडी चेम्जोङले आफूलाई पोखराबाटै अन्र्तराष्ट्रिय खेल खेल्न रुचि भएको मन्त्री अधिकारीलाई सुनाए । उनले भने, ‘यही पोखरेली रंगशालामै चाँडै अन्र्तराष्ट्रिय खेल खेल्न पाइयोस् ।’ बिहीबारदेखि सुरु भएको १७ औं आहा रारा गोल्डकपको उद्घाटन गर्न मन्त्री अधिकारी पोखरा आएका हुन् । उनले प्रतियोगिताको उद्घाटन सत्रमा आउँदो वर्षसम्म प्यारापिट पुन निर्माण भइसक्ने बताए ।

Advertisement

‘पोखरा खेल पर्यटनको हब बनिरहेको छ,’ मन्त्री अधिकारीले भने, ‘यो मात्रै होइन । यो भन्दा पनि ठूलो रंगशाला बनाउने हाम्रो सोच छ । तर त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वय जरुरी छ ।’ उनले सरकारले व्यवस्थित रुपले संघीय संरचनालाई अघि बढाइरहेको हुनाले निराश नहुन पनि आग्रह गरे ।


गतवर्ष मंसिरमा पुरानो प्यारापिट भत्काएर नयाँ बनाउने भन्दै भत्काइएको थियो । तर त्यसको वर्षदिन बितिसक्दा पनि पुननिर्माण सुरु भएको छैन । विसं २०३९ बनेको स्टेडियमको विशिष्ट कक्ष विसं ०७२ सालको भूकम्पबाट क्षति पुगेको थियो ।

Advertisement

गएको पुस महिनामात्रै रंगशालाभित्र फुटबल मैदानसहितको प्यारापिट बनाउन राष्ट्रिय खेलकुद परिषद्, एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्पोर्टस् इन्फ्रा (एमएजिएसआई) जेभीबीच सम्झौता भएको थियो । सम्झौता अनुसार एक अर्ब २८ करोड २० लाख रुपैयाँमा ६ महिनाभित्र स्टेडियम बनाइने भएको थियो ।

पोखरामा बिहीबारबाट सुरु भएको आहा रारा गोल्डकप १८ गतेसम्म चल्ने छ । मोफसलबाटै खेल क्षेत्रलाई अघि बढाउने र पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने सहारा क्लबको लक्ष्य रहेको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मन्त्री अधिकारी, प्रदेश सांसद दीपक कोइराला लगायतले सहारा क्लब १८ वर्ष प्रवेश गरेको अवसरमा १८ वटा परेवा उडाएर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
तस्बिर- युनिश गुरुङ-समाधान

तपाईको प्रतिक्रिया