नेविसंघका २ समूहबीच झडप हुदाँ ६ विद्यार्थी नेता र १ पत्रकार घाइते

समाधान संवाददाता २०७५ फागुन १३ गते ११:५६

समाधान संवाददाता, काठमाडौं

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का २ समूहबीच झडप भएको छ । आइतबार दिउँसो पार्टी मुख्यालयमा प्रदर्शनमा उत्रिएका संस्थापन र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट पक्षधर विद्यार्थीबीच झडप भएको हो । झडपमा ६ विद्यार्थी नेता घाइते भएका छन् ।

नेविसंघको तदर्थ समिति बनाउँदा ३२ वर्षे उमेर हद लगाउनु पर्ने भन्दै सिटौला निकट विद्यार्थी नेता तथा कार्यकर्ताहरु निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा प्रदर्शनमा उत्रिएका थिए । संस्थापन पक्षधर विद्यार्थी नेता ऋषिकेशजंग शाहीको नेतृत्वमा संगठनभित्र अनुशासन र सुसंस्कारको विकास गर्नु पर्ने भन्दै मौन प्रदर्शनमा उत्रिएका थिए । २ समूहबीच प्रदर्शनका क्रममा विवाद हुँदा झडप भएको थियो ।

Advertisement

विवादपछि २ समूहबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको कुटाइबाट विद्यार्थी नेता दीपेन्द्र क्षेत्री, रत्नहरि ढुंगेल, भीम महत लगायतका विद्यार्थी नेता घाइते भएका छन् । प्रहरीको लाठीचार्जबाट पत्रकार केशव सावद पनि घाइते भएका छन् । पत्रकार सावदलाई पत्रकारको परिचय पत्र देखाउँदा पनि प्रहरीले लाठीचार्ज गरेका थिए ।

नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीले आफूहरुमाथि संस्थापन पक्षधर विद्यार्थीले एक्कासी आक्रमण गरेको बताए । उनले महामन्त्री पूर्णबहादुर खड्का र पार्टी कार्यालयका सचिव प्रदिप पराजुलीसँगको छलफलमा आफूूहरुले पार्टी कार्यालयको पूर्वभागमा र अर्को समूहले पश्चिम गेट अगाडि प्रदर्शन गर्ने सहमति भएको बताए । तर, त्यो सहमतिविपरित संस्थापन पक्षधर विद्यार्थी नेताहरु पूर्वी गेटमा आएर आफूहरुमाथि आक्रमण गरेको आरोप अधिकारीले लगाए ।

Advertisement

तर, संस्थापन पक्षधर समूहले भने आफ्नो ब्यानर च्यातेपछि विवाद भएको बताएको छ । विवादपछि सिटौलानिकट समूहका विद्यार्थीहरुले आफूहरुमाथि ढुंगा प्रहार गरेको दाबी गरेका छन् । ३२ वर्षे उमेर हद लगाएर तदर्थ समिति बनाउनु पर्ने सिटौला समूहका विद्यार्थी नेताहरुको माग छ भने संस्थापन पक्षधर नेताहरु तदर्थ समित बनाउँदा त्यो हटाउनु पर्ने पक्षमा छन् ।

तपाईको प्रतिक्रिया