शुरु हुनै लाग्यो पोखरा–पञ्चासे केबलकार निर्माण

समाधान संवाददाता २०७५ फागुन १३ गते १७:४३

रामकृष्ण लामिछाने, पर्वत

पर्वत, कास्की र स्याङ्जाको सिमानामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र पञ्चासेलेकमा केबलकार बनाउने योजना निर्माण चरणमा प्रवेश गरेको छ । पञ्चासे केबलकार प्रालिले पत्रकार सम्मेलनमार्फत केबलकार निर्माण चरणमा प्रवेश गरेको जानकारी दिएको हो ।

पोखरा महानगरपालिका २३ घाँटीछिनादेखि पञ्चासे तालसम्मको ८ दशमलब ५ किलोमिटर दूरीको केबलकार निर्माण गर्ने प्रक्रिया सुरु भएको पञ्चासे केबलकार एन्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । पञ्चासे केबलकार प्रालिले लगानीको वातावरण तयार भइसकेको,जग्गाको प्रबन्ध मिलिसकेको तथा अन्य प्राविधिक पक्षको काम पूरा भएको जनाएको छ ।

Advertisement

पञ्चासे क्षेत्रलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यले केबलकार ११ अर्ब ३८ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । पञ्चासे केबलकार नेपालकै सबैभन्दा ठूलो र लामो हुने कम्पनीले जनाएको छ । केबलकार निर्माणका लागि सरकारसँग करिव ३ हजार रोपनी जग्गा लिजमा लिने सम्झौता भइसकेको अध्यक्ष शर्माले बताए । निजी–साझेदारी सहकार्यमा निर्माण गरिने सो केबलकार नेपालकै राष्ट्रिय गौरवको परियोजना बन्न सक्ने विश्वास गरिएको छ ।

उक्त केबलकार निजी, सामुदायिक र जनसहभागितामा निर्माण गरिने प्रालिले जनाएको छ । परियोजनाका लागि लाग्ने लागतका लागि आफूहरुले बैंकसँग ६० प्रतिशत ऋण लिने र बाँकी ४० प्रतिशत जनसहभागिताबाट जुटाउने अध्यक्ष शर्माको भनाई छ । १० हजार स्थानीयलाई रोजगारी प्रदान गर्ने निर्माण कम्पनीको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया