पोखरा ३१ मा मेलमिलाप केन्द्र

समाधान संवाददाता २०७५ फागुन १५ गते ८:४८

समाधान संवाददाता

पोखरा ३१ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना भएको हो । मंगलबार पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले केन्द्रको उद्घाटनपछि मेलमिलापमार्फत समाजमा सद्भाव कायम हुने बताइन् । उनले वडा तहका विवाद समाधानमा केन्द्रले सहजीकरण गर्ने भन्दै स्थानीयलाई भरपूर उपयोग गर्न सुझाइन् ।

उनले मेलमिलाप कर्ता न्यायिक समितिकै अंग भएको बताउँदै पक्ष विपक्ष दुबैलाई सहमतीमा ल्याएर विवाद समाधान गर्न आग्रह गरिन् । मेलमिलापकर्ताको भुमिका स्थानीय सरकार सञ्चालन ऐन र महानगर न्यायिक समितिको कार्यविधिले तोकेको बताउँदै त्यसभित्र रहेर मेलमिलाप गराउन आग्रह गरिन् ।

Advertisement

न्यायिक समिति सदस्य पार्वती कार्कीले न्यायिक कामलाई प्रभावकारी बनाउन वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको बताइन् । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेका व्यवस्थामा टेकेर न्यायिक समितिले काम गर्ने बताइन् । पूर्व जिल्ला न्यायाधीश डिल्लीरमण तिवारीले विवाद समाधानको सर्वोत्म उपाय मेलमिलाप भएको बताए । ‘विवाद समाधानका विभिन्न उपाय मध्य मेलमिलाप उत्तम हो ।’ मुद्धा मामिलाबाट दीगो समधान हुँदैन तर, मेलमिलापले छिटो न्याय पाउने र समाजमा सकारात्मक प्रभाव पार्ने बताए । वडा नम्वर ३१ का अध्यक्ष कमल थापाले वडामा हुने विवाद समाधानमा मेलमिलाप कर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।


पोखरा महानगरपालिकाको न्यायिक समितिले पहिलो चरणमा १० वटा वडामा न्यायिक समिति गठन गर्ने कार्य गरेको छ । नेपालको संविधानले स्थानीय तहका विवाद समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना गरेको हो । न्यायिक समितिले वडा तहका विवाद वडामै मेलमिलापमार्फत समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गर्न सक्ने व्यवस्था गरेको छ । ३ भन्दा बढी मेलमिलाकर्ता भएको वडामा समितिले केन्द्र खोल्न सक्छ ।

Advertisement

समितिले अव २३ वडामा मेलमिलापकर्तालाई तालिम दिएर केन्द्र स्थापना गर्ने तयारी गरिरहेको न्यायिक समिति सदस्य किशोर बरालले बताए । न्यायिक समितिले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी मेलमिलापकर्ताको ४८ घेण्टे तालिम लिएकालाई सूचिकृत हुन आह्वान गरेको थियो । सूचिकृत हुन १ सय १० भन्दा बढीले निवेदन दिएका थिए । ती मध्य ८७ जना व्यक्ति र १ संस्थासहित ८८ जना मेलमिलापकर्ता न्यायिक समितिले छनोट गरेको थियो ।

तपाईको प्रतिक्रिया