‘नारी स्वतन्त्रता…’ माथि कृष्ण–दृष्टि

समाधान संवाददाता २०७५ फागुन १५ गते ९:१५

मदन भण्डारी

कुशे औंसीमा मोतीराम र लक्ष्मी पूजामा देवकोटाको सम्झना गरिएझैं पोखरामा तीजको बेला सरुभक्त र सरस्वती पूजामा क्षेत्रबहादुर कुँवरको जन्मोत्सव मनाइन्छ । ०७५ माघ २७ गते सरस्वती पूजाका दिन अलौकिक कवि देशभक्तसिंह कुँवरको उत्साहमा ‘शिक्षासेवी एवं वरिष्ठ साहित्यकार क्षेत्रबहादुर कुवँरको ७३ औं जन्मोत्सव’ साहित्यिक सँलापका साथ मनाइयो । गुरुहरूका गुरु जोर्ज जोनको प्रमुख आतिथ्यमा धेरैले धेरै मन्तव्य राखे । डा. यामबहादुर पौडेल क्षत्री, डा. कृष्णराज अधिकारी, डा. शुक्रराज अधिकारी, तोयनाथ लामिछाने, असफल गौतम, बाबा राणा आदिले क्षेत्रबहादुर कुँवरको कामको उच्च मूल्यांकन सुनाए ।

उदीयमान साहित्यकार निर्मला न्यौपानेले भनिन्, ‘नारी स्वतन्त्रता र त्यसमाथिको बलत्कार’ निबन्धमा यौन र प्रेमलाई अथ्र्याउन खोजिएको छ । यसको अध्ययन गरिँदा क्षेत्रबहादुर कुँवर बुबा नारी हिंसाका कट्टर विरोधी र स्वतन्त्रताका प्रवल पक्षधर देखिनुहुन्छ !’ चर्चाले कृतिलाई जीवन्त राख्छ । मलाई निबन्ध संग्रह पढ्ने रहर जाग्यो ।

Advertisement

डँडेलोले खाएको वन जस्तै हाम्रो साहित्यलाई राजनीतिले खाएको छ । २ धारका साहित्यकार जम्काभेटमा रातो मुख पार्छन् । मञ्चमा उनीहरु नै एकार्काको प्रशंसा गर्छन् । सापेक्षका इमान्दारहरू मञ्चाभिमुख रहेर हातको झ्याम्टा बजाउँछन् । सामाजिकता बिथोलिएको छ । साहित्य समाजमै रहने हो । समाज नै नरहे साहित्य कहाँ राख्ने ? स्वत उब्जिने यस यक्ष प्रश्नको प्रत्युत्तर खासै खोजिएको छैन । अनेण्क साहित्यिक संघसंस्थामा आ–आफ्नो डम्फू बजाइन्छ । छापिएका पुस्तक पुस्तकालयमा धूलोले छोपिन्छन् । मित्रमण्डलीमा लेखक आत्मरतिमै रमाउँछ । सौरभ भन्छन्, ‘मलाई दिइएको पुस्तक प्राय बस वा ट्याक्सीमै छोडेर हिँडछु !’ आयोजकहरूले भुले होलान्, ०७१ मंसिर १३ गते पोखरामा सौरभले प्रष्ट भने, ‘ध्रुवचन्द्रले सनत रेग्मीलाई किनेर आख्यान पुरुष बने । मलायालाल चौधरीको मातेको मान्छे बैरागीले चोरे !’ यहाँ सौरभको भनाइलाई अन्तिम सत्य मानिएको होइन तर साहित्यको भव्यताबाट जनतालाई टाडा–टाडा पारिँदैछ । ध्रुवचन्द्र र बैरागीभन्दा तल्लो स्तरका मनुवाहरू तीभन्दा माथि छन् ।

यहीं क्षेत्रबहादुर कुँवर स्मरणीय छन् । उनले कहिल्यै ‘माथि’ ताकेनन् । उनी कर्मयोगी नेपालीका विशिष्ट उदाहरण हुन् । यसको एउटा गतिलो सबुत् २०६० भदौमा प्रकाशित ‘क्षेत्रबहादुर कँुवर–जीवनी संग्रह’ लाई मान्न सकिन्छ । यहाँ सोमनाथ अधिकारी, खगराज अधिकारी, रवीन्द्र अधिकारी, रामराज रेग्मी, कोमल बराल, सरुभक्त, हरिदेवी कोइराला आदि ६ दर्जन चलेका र सत्तासँग निकट रहेका व्यक्तिले उनको चिनारी प्रस्तुत गरेका छन् । प्रशंसाका शब्दहरू छानीछानी प्रयोग गरेका छन् । शुभकामनाको ठेली ठूलै बनेको छ । यसबाट कुँवरजीको पहुँच पत्तो लाग्छ । स्वाभिमान थोरै तल पार्दा क्षेत्रबहादुर कुँवरजी धेरै माथि उक्लिन सक्थे तर आफ्नै परिवेश र स्वाभिमान उनलाई प्रिय देखियो । धार्मिकहरू भन्छन् दिने देउता हुन्छ, लिने लेउता । यसरी हेरिँदा क्षेत्रबहादुर कँुवर देउता वा देउताको गाई जस्ता देखिन्छन् । दिनु जान्दछन्, लिनु जान्दैनन् । ५० वर्षसम्म वामपन्थी राजनीतिलाई सेवा पु¥याएका उनी आफैंले पौडिन सिकाएका ठेट्नाहरूले डुुबाउन खोज्दा पनि ट्वाल्ल हेरेर मुस्कुराउँछन् । ‘नारी स्वतन्त्रता र त्यसमाथिको बलत्कार’ मा ‘उनीहरू (नारीहरू) सामान्य कुरामा रिसाउने, सामान्य कुरामा प्रसन्न हुने गर्छन् (पृष्ठ क) !’ लेखिएछ । मेरो ओंठमा मुस्कान फुल्यो । ‘नारी स्वतन्त्रता र त्यसमाथिको बलत्कार’ २१ वटा निबन्धहरूको संगालो हो ।

Advertisement

अत्यधिक बच्चा उत्पादन यौन अतृप्तिको कारण
यहाँ निबन्धको सुरुआत यसरी गरिएको छ, ‘लिंग प्रवेश गर्ने मार्गलाई हामी योनी भन्दछौं (पृष्ठ १) !’ पाठकलाई हाँस्यव्यंग्य पढ्न थालिएको भान पर्छ । कथा सम्झिइन्छ । योनी हेर्नैका लागि द्रौपदीको चीर हरणका बेला सभामा भीष्म चुप बसेका थिए । त्रिदेव एउटी सुन्दरीलाई योनी देखाई देउ न ! भन्न पुगेका थिए । ‘कुनै पनि महिलाले धेरै पुरुषसँग वा धेरैचोटी यौन सम्पर्क नगरोस् (२) !’ निबन्धमा यस्तो उपदेश दिइएको छ ।

लोग्ने मानिस बन्ने प्रयासले महिलाको सौन्दर्य गुम्छ
यहाँ माक्र्सको उद्धरण लिएर हाम्रा प्रथा र परम्पराको धज्जी उडाइएको छ । ‘महिलाको दुस्मन हाम्रा परम्परा, प्रथा, धर्म, पण्डित र पुरोहित हुन् (९) !’ भनिएको छ ।

महिलालाई अधिकार माग्ने र खोस्नेको शून्यताबाट पाउनुपर्छ
‘९९ प्रतिशत महिला उत्पीडित एवं शोसित छन् । ती पुरुषको शोषण सहर्ष रूपले स्वीकार गर्छन् (१७) !’ पोर्न फिल्मको प्रभाव र फेसनको रहरले यस्तो हुन्छ क्यारे !

प्रेम स्वतन्त्र र उन्मुक्त विषय वस्तु
‘प्रेमको अभिव्यक्ति स्वतन्त्रता हो (२०) !’ यो भनाइलाई पुष्टी गर्नैका लागि प्रस्तुत निबन्ध लेखिएको छ । यो सुन्दर दर्शनको प्रक्षेपण हो ।

पुरुषको जस्तो प्रेम त पशुले पनि गर्न जान्छ, केवल यौन सम्पर्कको लागि
‘पश्चिमी मुलुकमा आजभोलि यस्ता पनि संस्था छन् जहाँ प्रेम कसरी गर्ने भनेर शिक्षण गरिन्छ । मेरो आफ्नो दृष्टिकोणमा प्रेम गर्नु र यौन सम्पर्कका लागि प्रशिक्षण आवश्यकता पर्दैन । त्योभन्दा बढी हामीले मानवताको गहिराइमा यसलाई अभ्यास गर्न सक्नु र यथार्थ बोध गर्न सक्नु नै महत्वपूर्ण हुन्छ (२८) !’ यहाँ लेखक निकै ठूलो विरोधाभासमा छन् । भन्छन्, प्रशिक्षणको आवश्यक्ता पर्दैन, त्यहीं भन्छन्, बोध गर्न सक्नु नै महत्वपूर्ण हुन्छ । बोधका लागि असल गुरु, शिक्षण र साधना चाहिन्छ । शिक्षणकै उद्देश्यले यी निबन्धहरु लेखिएका छन् ।

महिलाको पक्ष शान्ति र निर्माण, पुरुषको पक्ष हिँसा र विनास
निबन्धको शीर्षक अनुसार यहाँ महिलालाई महान र पुरुषलाई दुष्ट प्रमाणित गर्न खोज्दाखोज्दै यसो भनिएको छ– ‘सबै ऐतिहासिक घटनाहरूको कारण महिला नै भएका छन् । नास पुरुषको भएको छ (३१) ।’

महिलाको सौन्दर्यले पुरुषको तागतमा बृद्धि
यहाँ पनि महिलालाई महिमा मण्डित गर्ने ध्येय राख्दा राख्दै समानतमा जोड दिइएको छ, ‘महिला र पुरुष समान छन् ।…प्रेमको मन्दिरभित्र न लोग्ने ठूलो छ न स्वास्नी सानी छिन् (३५) !’

स्वतन्त्रता नष्ट भयो भने प्रेम पनि नष्ट हुन्छ
प्रेमको शास्वत पक्षको वकालतमा निबन्धकारले यहाँ एउटा उचाई प्राप्त गरेका छन् । भन्छन्, ‘प्रेम यस्तो अद्भूत शक्ति हो जसले कसैलाई बृद्ध हुन दिँदैन न त मृत्युलाई जान्दछ (३७) !’

धार्मिक व्यक्तिको अन्तरात्माको एउटा कुनामा कामवासनाको गन्ध लुकेको हुन्छ
एउटा अलि फरक प्रसंग उठाइयो– ‘आज पनि हाम्रो समाजमा त्यस्ता महिलाको बोलवाला छ जो स्वयं नै महिला माथिको दमन र शोषणबाट आनन्द लिन्छन् (४०) !’ यहाँ हामी जनयुद्धका बेपत्ता परिवार र काखे नानीलाई पोषण पु¥याउन नसकिरहेका जीवित सहिदसँगै सेलिब्रेटीलाई सम्झिन्छौं ।

महिलाको सम्पूर्ण समय महान व्यक्तित्वको सिर्जनामा
ओशो सम्भोग से समाधि भन्थे । लेखक उस्तै भाषा बोल्छन्, ‘लोग्ने मान्छे र स्वास्नी मान्छेको भेट हुने बिन्दु एउटै हो । त्यो बिन्दु वास्तवमा समग्रताको शून्यता र सम्पूर्णता हो (४३) !’

धर्म भन्ने शब्दले महिलालाई डसेको छ
‘जुन धर्म मानिसले स्थापना गर्‍यो, त्यस धर्मलाई अब महिलाले अस्वीकार गनुपर्छ (४७) !’

आत्मनिर्भरताको पलायनले महिलाको स्वतन्त्रता हडप गर्‍यो
‘अपसोच के छ भने निम्नकोटीको व्यवहार गर्ने काममा स्वयं महिला सहभागी हुन्छे र दुष्ट पुरुषलाई मद्दत गर्छे (५२) !’

सर्वश्रेष्ठ शुक्रकोष गर्भमा २ माइलभन्दा बढी घुम्छ
‘चेतनाबाट इच्छा जन्मन्छ, इच्छाबाट प्रेमको खोज हुन्छ (५४) !’

हर क्षेत्रमा महिलाले ५० स्थान पाउनुपर्छ
‘जबसम्म पुरुषजाति शक्तिमा रहिरहन्छ, तबसम्म लडाइँ अनवरत चलिरहन्छ (५७) !’

महिला बलत्कारको कारण नै युद्ध र असुरक्षा हो
‘केटा र केटी दुवैलाई समान भावनाले अगाडि बढ्न दिनुपर्छ (६१) !’

यौन अतृप्तिको कारण नै बहुविवाह हो
‘यौन तृप्ति बलात्कार निवारणको कारण हो (६९) !’ यहाँ यौन तृप्तिकै खोजमा बलात्कार बढेको कुरालाई हेक्का राखिएको छैन । तृप्तिको आधार विवेक भन्ने उस्तो उल्लेख छैन ।

औषधी पहिले नमिठो, विष पहिले मीठो
‘सारा कुकृत्य पछिल्लो ढोकाबाट भइरहेका छन्, अघिल्लो ढोकाबाट सारा कुकृत्य धर्मको नाममा असुली हुन्छ (७२) !’
महिलाको धर्म र जात केही हुँदैन, यस्तै– १९) महिलामाथि सुरक्षाको नाममा हत्या सहयोगको नाममा पराधिनता, २०) छोरीप्रतिको उपेक्षित भावना पुरुषको अपेक्षा महिलाले पुरै त्याग्नु पर्छ र २१) नारी शोषणको स्रोत हिन्दू धर्म । यसरी निबन्ध संग्रहको बीट मारिएको छ ।

क्षेत्रबहादुर कुँवरको अर्को नाम कृष्ण हो । कथाका कृष्ण गोपिनीहरूको नग्न सौन्दर्य हेर्न लालयित हुन्थे । बैंस बेलाका हाम्रा कृष्ण कुँवर पनि यौन र प्रेमप्रति अति जिज्ञासु थिए । उनले माक्र्स, फ्रायड र ओशो पढेर यौन र प्रेमप्रतिको आफ्नो दृष्टिकोण पोख्न हतार गरे । त्यही हतारका दिनहरूमा यी निबन्धहरू लेखिए । यसैले यहाँ धर्म र नारी स्वतन्त्रताबारे सरदरका कम्युनिस्ट धारणा अभिव्यक्त छ । त्यो अभिव्यक्ति व्यवस्थित र कलात्मक हुन सकेको छैन ।

परिवार बारेको ऐंगेल्स विचारमा निबन्धहरू मौन छन् । निबन्धका शीर्षकहरू लामा–लामा छन् । शीर्षकैले सार बक्छ । आत्मपरकता कमजोर छ । यौन, संभोग, प्रेम र स्वतन्त्रता जस्ता शब्द पट्यारै लाग्ने गरी दोहोरिएका छन् । आज वार्धक्य र बिरामीले थिचिँदै गएका क्षेत्रबहादुर कुँवर कस्तो सोंच्दा हुन् ? पाठकमा विशाल कौतुहल जाग्छ । मृत्युकालीन घोषणालाई कानुनले पनि प्रमाण मान्छ । ढाँट्छल र पाखण्डबाट जोगिँदै आएका क्षेत्रबहादुर कुँवर यतिखेर गंगोत्रीका गंगा झैं निश्चल छन् । उनले ३ दशक अगाडि लेखेका निबन्धहरू आधुनिक छन् । आज अत्याधुनिकता बढेको छ । नारी स्वतन्त्रताका चरम रूपहरू देखिएका छन् । छोरीलाई बिहेको प्रस्ताव गरिँदा मुद्दा हालिन्छ । जनयुद्ध पहेंलिंदै–पातलिँदै जाँदा जीवित सहिदहरू ओझेलमा छन् । नेतृ र महिलामुक्ति दात्रृहरू भाषणमा रमाउँछन् । धर्मको उज्यालो पक्षबारे क्षेत्र दाइ अहिले सकारात्मक छन् । यहाँसँग लामै जीवनको सार छ, माझिएको विचार छ । अब यो हिमवत् खण्डको सभ्यता कस्तो हुनुपर्ने ? पहिलेको कृष्णदृष्टिमा अहिले सिंहावलोकन आवश्यक छ । यसैले क्षेत्र दाइले अझै लेख्नुपर्छ । त्यो झनै अमूल्य निधि हुन सक्छ ।

तपाईको प्रतिक्रिया