कानुन मिचेर जथाभावी खर्च गर्दै बागलुङ नगरपालिका

समाधान संवाददाता २०७५ फागुन १६ गते ८:५८

ताराप्रसाद शर्मा

महालेखा परीक्षण कार्यालयले बागलुङ नगरपालिका कार्यालयले बिभिन्न क्षेत्रमा गरेको खर्चप्रति ध्यानाकर्षण गरेको छ । बागलुङ नगर कार्यपालिकाको कार्यालयले बलेवा विमानस्थल सञ्चालनका लागि बिमान कम्पनीलाई दिएको रकम, नेत्र ज्योति संघको भवन निर्माण, नगर प्रमुखले चढेको गाडी, बसपार्क निर्माण, मेयर कप फुटबल प्रतियोगिता लगाएतका बिषयमा भएको खर्चप्रति ध्यानाकर्षण गराएको हो ।

महालेखा परीक्षणको कार्यालयको प्रारम्भिक अध्ययनमा विमानस्थल सञ्चालनका लागि पुँजीगत तर्फको खर्चमा बिनियोजित बजेटबाट चालुतर्फको खर्च गर्न नपाइने भए पनि खर्च गरेको, भवन निर्माणका क्रममा दोहोरो भुक्तानी भएको, आफूखुसी गाडी किनेको, मेयर कपमा सम्झौता भन्दा बढी रकम दिएको, बसपार्क निर्माणका क्रममा कामभन्दा बढी रकम भुक्तानी दिएको देखिएकाले नगरपालिकाले अनियमितता गरेको उल्लेख गरिएको छ

Advertisement

बलेवा बिमान स्थल सञ्चालनका क्रममा पुँजीगत खर्चमा बिनियोजित बजेटबाट चालु खर्च गर्न नपाइने भए पनि नगरपालिकाले मनपरी ढंगबाट बजेट खर्च गरेकाले २० लाख रुपैँया असुुल गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक अध्ययनले देखाएको हो । हवाई सेवा प्रदायक कम्पनीले दुर्गम स्थानमा अनिवार्य सेवा सञ्चालन गर्नुपर्ने विद्यमान कानुनको विश्लेषण नगरी कानुन विपरीत असमान सम्झौता गरेकाले उचित छानबिन गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । लामो समयदेखि बन्द बिमानस्थल सञ्चालनका लागि काठमाण्डौं–बलेवा रुटमा १२ सिट भन्दा घटी भएमा टिकटको व्ययभार बेहोर्ने गरी नगरपालिकाले जिम्मेवारी लिएको थियो ।

नेपाल नेत्र ज्योति संघको निर्माण सम्पन्न भएको भवनमा पुनः नापी गरी दोहोरो भुक्तानी लिएको पाइएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा नगरपालिकाबाट बजेट बिनियोजन गरी बिम राख्ने, ढलान गर्ने लगायतका काम सम्पन्न गरी १४ लाख ५५ हजार भुक्तानी लिएको भ पनि पुनः आर्थिक वर्ष ०७४÷०७५ मा सोही काम देखाएर एवं कामको बढी मूल्याङकन गरी १३ लाख ७ हजार रुपैँया बढी भुक्तानी गरेको देखिएको हो ।

Advertisement

यसमा दोहोरो भुक्तानीका लागि पेश गर्ने इन्जिनियर मनोज शर्मा, चेक जाँच गरी सिफारिस गर्ने प्रमुख जिल्ला इन्जिनियर दयाराम अधिकारी तथा त्यसमा संलग्न अन्य व्यक्तिलाई छानबिन गरी कानुनी कारवाही गर्नुपर्ने महालेखाको प्रतिवेदनले बताएको छ । महालेखाले नेपाल सरकारले उपलब्ध गराएको बजेटबाट कार्यालयको नियमित प्रयोजनका लागि सवारी साधन खरिद गर्न नपाइने भएपनि अहिले मेयर जकराज पौडेल चढ्दै आएको ६३ लाख रुपैँयाको स्कार्पियो जिप किनेकाले अनियमिता रहेको निष्कर्ष निकालेको छ ।

सडक बोर्डको कार्यक्रम अन्तर्गत नगरपालिकाले ३० प्रतिशत र बोर्डले ७० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था भए पनि बजार क्षेत्रभित्रका सडक निर्माणका क्रममा जनताबाट उठाएको ७७ लाख १८ हजार रुपैँया बैँकमा जम्मा नगरेको प्रतिवेदनमा उल्लेख छ । बानपा–४ मा निर्माणाधीन बसपार्कमा भएको कामभन्दा बढी भुक्तानी भएको भन्दै १० लाख ३६ हजार रुपैँया असुल गर्नुपर्ने महालेखाले जनाएको छ । त्रुटिपुर्ण लागत अनुमान तयार गरी डोजर स्कोभेटरले गरेको काम हातले गरेको देखाएको हो ।

बिल भरपाई नराखी ४० लाखभन्दा बढी रकम खर्च गरेको, उपभोक्ता समितिसंग भएको सम्झौता भन्दाबढी ३ लाख रकम भुक्तानी गरेको, कार्यालयको आम्दानीभन्दा बढी २४ लाख २८ हजार रुपैँया बढी आर्थिक सहयोग गरेको उल्लेख छ । मेयर कप फुटबल प्रतियोगितामा १ लाख ६० हजार रुपैँया सम्झौताभन्दा बढी दिएको, २४ लाख ६४ हजार रुपैँया भन्दा बढीको पाइप वितरण गरिए पनि सामान बुझेको कुनै भरपाई नभएको महालेखाले जनाएको छ । बलेवा नगरपालिका १ करोड ८९ लाखभन्दा बढीको सामान प्रतिष्पर्धा नै नगराई नगरपालिकाले सोझै खरिद गरेको पाइएको छ ।

अन्य विभिन्न योजनामा बेरुजु, अनियमितता भएको पाइएको छ । यसरी चालु आर्थिक वर्ष २०७५÷ ७६ मा १९ करोड ३५ लाख ९७ हजार १ सय १० रुपैँया बेरुजु देखिएको छ । गत बर्षको ८ करोड ८५ लाख ५४ हजार रुपैँया र यस चालु आर्थिक बर्षको १९ करोड ३५ लाख ९७ हजार १ सय १० रुपैँया गरी जम्मा २८ करोड २१ लाख ५१ हजार १ सय १० रुपैँया बेरुजु देखिएको हो ।

महालेखाले गत पुस २६ गते नगरपालिकालाई लेखा परिक्षणको प्रारम्भिक प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन बुझाएको ३५ दिनभित्र कारोबार विवरण फर्छौट गरी पुनःपरीक्षण गराउनुपर्ने प्रावधाने छ । यसका लागि प्रतिक्रिया पेश गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताए ।

तपाईको प्रतिक्रिया