बर्ड फ्लुबारे तनहुँमा सतर्कता

समाधान संवाददाता २०७५ फागुन १९ गते ८:३९

कृष्ण न्यौपाने

छिमेकी जिल्लाहरुमा बर्डफ्लुको संक्रमणले कुखुरा मर्न थालेपछि तनहुँ जिल्लामा सतर्कता बढाइएको छ । कास्की, चितवन लगायत जिल्लामा कुखुरामा एचफाइभ एचनाइन नामक फ्लुको संक्रमणबाट कुखुरा मर्न थालेपछि भेटेरिनरी अस्पताल एवं पशुसेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा सुरक्षा सतर्कता बढाएको हो ।

केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठका अनुसार पंक्षी तथा पंक्षीजन्य सामग्रीहरु बाह्य जिल्लाबाट तनहुँ भित्रिदा पूर्वमा आँबुखैरेनी र पश्चिममा कोत्रेमा सुरक्षा निकायद्वारा आवश्यक कागजातहरु जाँच गरी स्वास्थ्य प्रमाणपत्रबिना ओसारपसार र बिक्री वितरण कार्यमा पूर्ण रोक लगाइएको छ ।

Advertisement

उनका अनुसार भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा बर्डफ्लु रोग निगरानी टिम गठन गरिएको, पंक्षी फार्महरु र बजार निगरानी गरी नमुना संकलन गर्ने व्यवस्था मिलाइएको छ । उनले भने, ‘फार्मको निरीक्षण र अनुगमनपश्चात् शंका लागेका पंक्षीको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाउने व्यवस्था मिलाइएको छ ।’

उनले पंक्षीपालक किसानलाई आफ्नो फार्ममा जैविक सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गर्न आग्रहसमेत गरिएको जानकारी दिए । उनले भने, ‘बर्डफ्लु रोगबारे सर्वसाधारणलाई जानकारी हुने गरी जनचेतनाका लागि सञ्चारमाध्यमलाई सन्देश प्रवाहको लागि अनुरोध गरेका छाैं।’

Advertisement

डा. श्रेष्ठका अनुसार बर्डफ्लु रोगको रोकथाम तथा न्यूनीकरणका लागि निरन्तर अनुगमन गरिने र पंक्षी मरे स्थानीय तह पशुसेवा शाखा तथा केन्द्रमा जानकारी गराउन कृषकलाई अनुरोध गरिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी एवं बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिका अध्यक्ष भरतकुमार शर्माले बर्ड फ्लु नियन्त्रणका लागि प्रशासनको तर्फबाट सहयोग रहने बताए । उनका अनुसार जिल्लाका नाकाबाट पंक्षी आयातमा निगरानी थालिएको छ ।

जिल्लाका कुखुरा फार्म तथा जिउँदो पंक्षी बिक्री वितरण हुने बजार क्षेत्रमा प्राविधिक परिचालन गरी सक्रिय रुपमा सर्भेक्षण गर्न र जिल्ला प्रहरी कार्यालयबाट सक्रिय रुपमा जनशक्ति परिचालन गर्न निर्देशन दिइएको उनले बताए ।

तपाईको प्रतिक्रिया