प्रविधि भित्रनु ठूलो होइन, सही सदुपयोग गर्नु ठूलो कुरा हो

समाधान संवाददाता २०७५ फागुन १९ गते ८:४७
dav

युवराज पौडेल

क्यान प्रदर्शनी आयोजना गर्नुको उद्देश्य के हो ?
क्यान कास्कीले हरेक वर्ष आयोजना गर्दै आइरहेको सूचना प्रविधि सम्बन्धी गतिविधिलाई देखाउने, बुझाउने उद्देश्यले आयोजित प्रदर्शनीको १० औं संस्करणको निरन्तरता हो ‘भायनेट क्यान इन्फोटेक २०१९’ । समयअनुसारको सूचना प्रविधिमा भइरहेको नयाँ प्रयोेग बुझ्ने–बुझाउनमा प्रदर्शनीले विशेष भूमिका खेल्छ । प्रदर्शनीका १ सय स्टलबाट सूचना प्रविधिबारे जानकारी दिने छौं । यसबाहेक प्रदेश स्तरीय टाइपिङ प्रतिस्पर्धा, विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिताको आयोजना र निशुल्क ल्यापटप मर्मत सेवा दिँदै छौं ।

सम्भवतः नेपालमै पहिलो पटक हुन सक्छ । यसपटकको प्रदर्शनीमा हिजो र आजको समयमा आइटी क्षेत्रमा केकस्ता परिवर्तन देखिए भन्ने किसिमको जानकारी दिन म्युजियम राखिनेछ । म्युजियममा सम्भव भएसम्मका उपकरण नै राख्ने छौं । नभए तस्बिरमार्फत पनि प्रदर्शन गराउने छौं । नेपालमा भित्रिएको पहिलो कम्प्युटरदेखि नयाँ पुस्तालाई दुर्लभ मानिने केही त्यस्ता उपकरण म्युजियममा समावेश हुनेछन् ।

Advertisement

प्रदर्शनीको आयोजना गर्दै गर्दा त्यसले प्रवाहित गर्ने सन्देशबारे के सोच्नुभएको छ ?
यो व्यावसायिक मेला होइन । राज्यले गर्नुपर्ने काम हामी निजी क्षेत्रबाट संगठित भएकाको संस्थाले पहल गरेको कदममात्रै हो । हामीले आग्रह पनि गर्दै आएका छौं कि यो मेला होइन प्रदर्शनी हो । प्रदर्शनी भन्नेबित्तिकै देखाउने र बुझाउनेसँग सम्बन्धित हुन्छ । धेरैको बुझाइमा के पनि हुन सक्छ भने, बिक्री नभएका वस्तु बिक्री गर्ने थलो हुन सक्छ भन्ने संशय होला । प्रदर्शनीमा हामीले आइटीसँग सम्बन्धित जानकारी पर्याप्त दिन दत्तचित्त छौं । प्रदर्शनीमा राखिएको वस्तु किन्न चाहेमा मात्र बिक्री गर्ने हो ।

आइटीमा आएको नयाँ प्रयोग जसले नागरिकका दैनिकी सहज बनाउन सहयोग गर्छन्, त्यस्ता कुनै प्रयोग प्रदर्शनीमा छन् कि ?
प्रविधि भित्रनु ठूलो कुरा होइन, त्यसको सही सदुपयोग गर्नु ठूलो कुरा हो । जस्तै विद्युतको बिल बुझाउन लाइन बस्नुपर्ने बाध्यताको अन्त्य अनलाइन पेमेन्ट गेटवेमार्फत पनि भुक्तानी गर्न सकिन्छ तर लाइन घटेको देखिँदैन । प्रविधिको विकास त भयो तर प्रयोगबारे बेखबर जस्तै छ । प्रयोग बुझाउने हाम्रो अभियान हो । स्मार्ट सिटीकै कुरा गर्नुपर्दा भाषण गरेर चुनाव जितिरहँदा त्यसको तात्विक अर्थ बुझ्न आवश्यक छ । वर्षमा २ पटकसम्म हामीले यस्तै प्रयोग र प्रविधिबारे सम्बन्धित निकायलाई सेमिनारमार्फत बुझाउँदै आएका छौं ।

Advertisement

पोखराको प्रमुख समस्या पार्किङ देखिएको छ । अब स्मार्ट पार्किङको कन्सेप्टमा जान सकिन्छ भन्ने बुझाउन प्रदर्शनीको दौरानमा महानगरपालिका, ट्राफिक प्रहरी, उद्योग वाणिज्य संघ, यातायात व्यवसायी लगायतलाई समेटेर सेमिनार आयोजना गर्दैछौं । प्रविधिमार्फत सहज तवरले पार्किङ समस्याको निदान गर्न सकिन्छ भन्ने धारणा सार्वजनिक हुनेछ ।

हामीले प्रविधिको प्रयोग बुझाउने कोसिस मात्र गर्ने हो । उदाहरणकै लागि क्यान कास्कीले आयोजना गरेको प्रदर्शनीमा पश्चिमाञ्चल इन्जिनियरिङ संस्थानका विद्यार्थीले तालको जलकुम्भी निकाल्ने यन्त्र डेमो देखाउनु भएको थियो । त्यसको केही समयपछि फेवातालमा सो मेसिन नै खरीद गरी ल्याइसकेको छ । प्रदर्शनीमा कन्सेप्ट क्रियट गर्ने हो । कुनै निकाय वा पालिकाहरुले त्यसको प्रयोगमार्फत सेवासुविधा विस्तार गर्न चाहनुभए प्रभावकारी त हुने नै छ ।

आइटी क्षेत्रसँग सम्बन्धित कार्यका लागि सरकारी निकायले यहाँहरुसँग कस्तो भूमिका खेल्दिए हुन्थ्यो भन्ने लाग्छ ?
स्मार्टसिटीका कुराहरु सुनिन्छन् । सूचना प्रविधि मात्रै स्मार्ट सिटी त होइन तर पहिलो खुड्किला भने अवश्य हो । हालसम्म जति पनि यस क्षेत्रमा प्रयोग भएका उपकरण खरीद भएका छन् सबै आयातित छन् । अब यहीं रिसर्च सेन्टरहरुको स्थापना गरेर उपकरणको विकास सम्भव गराउन सकियो भने स्थानीय भाइबहिनीको प्रतिभा पनि सम्बद्र्धन हुन्छ ।

प्रदेश सरकारसँगको पछिल्लो समन्वयमा उहाँहरुले दिएको जिम्मेवारी अनुसार आइटी पार्कका लागि उपयुक्त स्थानको खोजी गर्न सघाएका छौं । पोखरा १८ जामुनाकोबोट स्थित ९० रोपनी जग्गा आइटीपार्कका लागि प्रस्ताव गरिएअनुसार स्वामित्व हस्तान्तरणसम्मको काम सम्पन्न भएको छ । आइटी क्षेत्रमा प्रदेश सरकारबाट भएको सकारात्मक थालनीको रुपमा लिएका छौं । अब स्थापना र विस्तारमा समेत सरकारको चासो आवश्यक भएमा सूचना प्रविधिको क्षेत्रमा प्रदेशमै उत्साहमूलक काम हुनेछ । इ–साक्षरताको विषय पनि आएको यसमा हामी सरकारलाई सहयोग गर्न तयार छौं ।

पौडेल कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की (क्यान)
अध्यक्ष हुन् ।

तपाईको प्रतिक्रिया