हामी कसरी पर्यटन व्यवसायी होइनौं ?

समाधान संवाददाता २०७५ फागुन १९ गते ८:५४

अमृत सुवेदी

पोखरा भन्नेबित्तिकै पर्यटन सँगै जोडिएर आउँछ । तर, पोखरा बजारभित्रको कथा–व्यथा भने फरक छन् । लेकसाइड क्षेत्र आधा रातसम्म गुल्जार हुन्छ, त्योदेखि बाहेक बजार क्षेत्र १० नबज्दै प्राय सुनसान बन्छ । जसका कारण पर्यटक बजार क्षेत्रमा रोकिँदैनन्, सिधै लेकसाइड क्षेत्र पुगिहाल्छन् ।

यस्तो हुनुका पछाडि सरकारको भूमिका छ भन्छन्, नगर रेस्टुरेन्ट तथा बार एसोसिएसन सिटी रेबानका निवर्तमान अध्यक्ष केपी शर्मा । ‘एउटै सहरभित्र यो दुईखाले व्यवस्था छ । लेकसाइडबाहेक अरु क्षेत्र पर्यटन क्षेत्र नै होइन भन्ने गरी प्रशासनले व्यवहार गर्छ,’ शर्मा भन्छन्, ‘पोखरा पर्यटन सरकारकै कारण सानो दायरामा खुम्चियो ।’

काठमाडौंबाट सडक मार्ग भएर पोखरा घुम्न आउनेहरु पृथ्वीचोक हुँदै छिर्छन् । पोखरामा हुने प्राय ठूला कार्यक्रम पृथ्वीचोक, सिर्जनाचोक, सभागृह बुद्धचोक लगायत ठाउँमै हुन्छन् । तर, पाहुनाको रोजाइ बजार क्षेत्रमा होटल हुँदैनन् । पोखरामा हुने ठूला कार्यक्रमले लेकसाइड क्षेत्रका होटल भरिभराउ हुँदा अन्य बजार क्षेत्रका होटल, रेस्टुरेन्ट खाली बस्नुपर्ने अवस्था छ ।

‘एउटै सहरभित्र यो दुईखाले व्यवस्था छ । लेकसाइडबाहेक अरु क्षेत्र पर्यटन क्षेत्र नै होइन भन्ने गरी प्रशासनले व्यवहार गर्छ, पोखरा पर्यटन सरकारकै कारण सानो दायरामा खुम्चियो ।’

त्यतिसम्म ठिकै छ तर सरकारले पर्यटन व्यवसायीका नाममा अर्को विभेद गरेको शर्माले आरोप लगाए । ‘पोखराको पर्यटन क्षेत्रको विषयमा छलफल, गोष्ठी हुँदा लेकसाइडबाहेक अन्य बजार क्षेत्रका व्यवसायीलाई बोलाइँदैन वा आवश्यक नै ठानिँदैन । सरकारले पर्यटन व्यवसायीसँग राय, सुझाव लिएको भन्छ, हाम्रा कुरा कहिल्यै समेटिँदैनन्,’ शर्माले प्रश्न गरे, ‘के हो यो पर्यटन व्यवसायी भनेको ? के हामीले पर्यटनको क्षेत्रमा योगदान पु¥याएका छैनौं ? के हामी पर्यटन व्यवसायी होइनौं ?’

पर्यटन व्यवसायीको मापदण्ड केहो भन्ने आफूहरुले नबुझेको बजार क्षेत्रका व्यवसायी बताउँछन् । लेकसाइडदेखि बाहेक क्षेत्रका पसलमा ९ बजेको आसपासमै प्रहरी लठ्ठी घुमाउँदै बन्द गराउन आइपुग्ने गुनासो आउने सिटी रेबान अध्यक्ष दीपकराज तिमिल्सिना सुनाउँछन् । पोखरामा सुरुदेखि नै व्यापार व्यवसायमा यो २ खाले नियम बसालियो ।

एकातिर रातभर उज्यालो अर्कोतिर सम्साँझै अँध्यारो । त्यसैको उपज पोखरा उस्तै प्रकृतिको दुई संस्था छन् । एउटा सिटी रेबान, अर्को रेबान । लेकसाइडबाहेक बजार क्षेत्रका क्याफे, रेस्टुरेन्ट, मदिरा पसल ९ बजे नै बन्द गर्न प्रहरी दबाब दिन्छ ।

होटल ११ बजे र दोहोरी रेस्टुरेन्ट, गजलमा ११ बजे संगीत र पौने १२ बजे बार बन्द गर्नुपर्ने बाध्यता छ । ११ बजेपछिमात्रै पनि कोही लेकसाइडबाहेक बजार क्षेत्रमा आउने पर्यटकले केही खाने कुरा चाहिए मुश्किल पर्छ । न सजिलै कोठमा पाउँछन् न खाने पिउने रेस्टुरेन्ट । बजार क्षेत्रका होटल, रेस्टुरेन्ट र बार बेलैमान बन्द हुने भएपछि पोखरा आउनेहरु सिधै लेकसाइड हानिन्छन् ।

व्यवसायीले सरकारलाई तिर्ने करको मापदण्ड एउटै हो तर हेर्ने नजर फरक छ । ‘परिकार र आतिथ्यता पनि उस्तै पस्किरहेका छौं । हामी सानादेखि ठूलो पर्यटकसम्मलाई पनि राख्न सक्छौं,’ निर्वतमान अध्यक्ष शर्माले भने, ‘एउटै सहरभित्र हामीले धेरै सास्ती खेप्नुपरेको छ ।’

इखले जन्मेको सिटी रेबान
लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट, बार तथा होटल व्यवसायी मिलेर रेबान खोले । अन्य बजार क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायी पनि रेबानमा संगठित हुन चाहन्थे । तर, लेकसाइड क्षेत्रका व्यवसायीले बजार क्षेत्रलाई समेट्न चाहेनन् । अरुलाई समेट्ने हो भने झन् भद्रगोल हुन्छ भन्ने आशय व्यक्त गरे ।

सधैं पर्यटकको चहलपहल भइरहने लेकसाइड क्षेत्रका व्यवसायीले अरुलाई पर्यटन व्यवसायी नै होइन भन्ने खालको व्यवहार गरेको बजार क्षेत्रका व्यवसायीको गुनासो छ । हामी पनि पोखराका व्यवसायी हौं, हामीले पनि केही गर्न सक्छौं र त्यसका लागि संगठित भएर काम गर्न सक्छौं बजार क्षेत्रका व्यवसायीलाई लाग्यो । पृथ्वीचोक, सिर्जनाचोक, सभागृह, चिप्लेढुंगा, महेन्द्रपुल लगायत बजार क्षेत्रका व्यवसायी छलफलमा जुटे ।

कसरी काम गर्ने, कुन–कुन क्षेत्र समेट्ने केके काम गर्ने भनेर बजार क्षेत्रका व्यवसायीको भेला बस्यो । फलस्वरुप २०५७ सालमा जन्म्यो, सिटी रेबान । २ सयको हाराहारीमा सदस्य बने । जसको अध्यक्ष बने, चिरञ्जीवी श्रेष्ठ र महासचिव बने नवीन चालिसे ।

सिटी रेबानमा सृजनाचोक, सभागृहचोक, न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक क्षेत्रका होटल, क्याफे, रेस्टुरेन्ट, दोहोरी, गजल रेस्टुरेन्ट आवद्ध भए । अहिले त्यो क्षेत्र बिस्तार गर्दै लैजाने योजना सिटी रेबानको छ ।

‘पर्यटन भनेको लेकसाइडमात्रै हो भन्ने थियो । हामी पनि यही पोखराको व्यवसायी हौं र सम्पूर्ण पोखरा र आसपासको सबै ठाउँ पर्यटकीय क्षेत्र हो भन्ने सन्देश दिन पनि हामी संगठित भएका थियौं,’ तत्कालीन अध्यक्ष चिरञ्जीवीले भने, ‘त्यतिबेला गुणस्तरीय हिसाबले पर्यटन व्यवसायी भनेको हामी हौं, बजार क्षेत्रका होइनन् भन्ने सोच लेकसाइड क्षेत्रका व्यवसायीमा थियो ।’

बजार क्षेत्रका सबै व्यवसायीलाई समेटेर लैजानुपर्छ भन्ने उद्देश्यले सिटी रेबान खुल्यो । तर, सरकारी नियमअनुसार दर्ता भएका, राज्यलाई कर बुझाएका होटल, रेस्टुरेन्टमात्र सदस्य बन्ने मापदण्ड बनाएपछि सदस्य २ सयबाट घटेर १ सय १० को हाराहारीमा पुगेको छ ।

अस्तित्व देखाउन फुड फेस्टिभल
संस्थागत हित र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको सिटी रेबानले जनताकै बीचमा पुग्ने इभेन्टको खोजि ग¥यो । यस्तो इभेन्ट जसले सेवाग्राही र व्यवसायीलाई जोडोस् र अनि संस्कृति, परम्परा प्रवद्र्धन पनि होस् । रेबानको छलफलले निस्कर्ष निकाल्यो, फुड फेस्टिभल गर्ने ।

आजभन्दा ७ वर्षअघिदेखि पोखरामा सुरु भयो फुड फेस्टिभल । पोखराका लागि मेला महोत्सव नौलो होइन । यहाँ महिनैपिच्छे मेला महोत्सवका नामबाट कार्यक्रम हुन्छन् । तर, उस्तै प्रकारका महोत्सवको भीडमा रेबानले परम्परागत नेपाली खानालाई प्रदर्शन र प्रवद्र्धन गर्ने योजना ल्यायो ।

‘एउटै र उस्तै प्रकारका मेला महोत्सवभन्दा भिन्न गाउँ गाउँका हाम्रा परम्परागत खानालाई महोत्सवमा राख्ने, प्रत्येक्ष पकाउने, खुवाउने र मौलिक खेतीको विकास गर्दै किसानलाईसमेत जोड्ने उद्देश्यसहित मेला सुरु भएको हो,’ महासचिव जीवन दाहालले भने ।

सिटी रेबान पनि गण्डकी प्रदेशको महत्वपूर्ण संस्था हो र हामी हाम्रो प्रदेशकै परम्परागत खानालाई एउटै कार्यक्रममा प्रदर्शन गर्न सक्छौं भन्ने देखाउन पनि यो फेस्टिभल महत्पूर्ण रहेको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।

यसपटक आइतबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा फुड फेस्टिभल सुरु हुँदै छ । समय अनुसार केही न केही नयाँपन पनि महोत्सवमा दिइरहेको सिटी रेबान उपाध्यक्ष धर्मबन्धु सुवेदीले बताए । ‘खाना, संस्कृति, संगीत, सांगीतिक कार्यक्रमलाई परिमार्जन गरिरहेका छौं । यसपालि शिवरात्रि पर्व परेकाले मेला स्थलमा बृहत् शिवलिंग निर्माण गरेका छौं,’ सुवेदीले भने, ‘अघिल्लो मेला नेपाल संवत ११३७ बेला भएको थियो । त्यस बेला हामीले ११३७ वटा अन्डाको अम्लेट बनाएका थियौं ।’

हाइजेनिक खाना र सत्कार बढाउँछौं
पृथ्वीचोक, सिर्जनाचोक, सभागृह चोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका होटल, रेस्टुरेन्ट र बारमा हाइजेनिक खाना, सरसफाइ र सत्कारको स्तर बढाउने सिटी रेबानका व्यवसायीको भनाइ छ । यो क्षेत्रका पार्टी प्यालेससमेतमा खाना र सरसफाइमा कमजोरी हुने बेलाबेलामा गुनासो आउने गरेको थियो ।

‘हामी साना तथा उच्च तहसम्मका अतिथि राख्न सक्छौं । ठूलो कार्यक्रम गर्न सक्छौं, खुवाउन सक्छौं,’ निर्वतमान अध्यक्ष केपी शर्माले भने, ‘हामी सबैखाले क्षमता बढाउँदै छौं ।’

प्रतिस्पर्धाले केही समस्या देखिने गरेको भए पनि सरसफाइ र क्वालिटीमा कम्परमाइज नगर्नु भनेर पहल गरिरहेको अध्यक्ष दीपक तिमिल्सिनाले बताए । ‘खानाको बफेट समय भनेको ३ घन्टा हो तर हामीले १० घन्टासम्म बफेट लगाएका हुन्छौं । त्यही खानाले पनि पोइजन हुन सक्छ,’ तिमिल्सिनाले भने, ‘त्यतातर्फ ध्यान दिन जरुरी छ । ठिक समयमा सर्भिस हुने हो भनेसमस्या आउने थिएन ।’

तस्विर: एजेन्सी

तपाईको प्रतिक्रिया