पोखरालाई माया गरिरहने प्याराग्लाइडर : एड सिस्जर

समाधान संवाददाता २०७५ फागुन २० गते ८:०९

विकास रोकामगर

प्याराग्लाइडिङ उडाउन फेब्रअरी २३ मा ९ जना साथीसहित रोमानियाबाट एड सिस्जर नेपाल आए । ४२ वर्षीय सिजर पहिले पनि साथीहरुसँग यसरी नै नेपालमा प्याराग्लाइडिङ उडाउन आइरहन्थे । यो वर्ष पनि पहिले झैं पोखरामा प्याराग्लाइडिङ उडाऊँ भन्ने रहरले नेपाल आए ।

स्काई प्याराग्लाइडिङबाट फेब्रअरी २५ देखि ११ मार्चसम्म सराङकोटडाँडाबाट पोखरा बजार नियाल्न सिस्जरको टोलीले सोलो पर्मिट लियो । सोलो पर्मिटमा प्याराग्लाइडिङ आफैं उडाउन पाइने सुविधा हुन्छ, सिजर त्यही फाइदाको मजा लिँदै उड्दै थिए । आकाशबाट पोखरा र आसपासका सुन्दर दृश्य नियाल्दै, प्याराग्लाइडिङमा भुर्रर उड्दै फेवाताल किनार खपौंदीमा झर्न आइपुग्थे । तर मार्च ३ उनका लागि दुर्भाग्यपूर्ण भयो । बिहान करिब ११ बजेको समयमा सराङकोटबाट भुइँ छोडेको उनको शरीरले फेरि भुइँ टेक्न पाएन । करिब ११ बजेर १७ मिनेट जाँदा प्याराग्लाइडिङ एक्कासि डग्मगिँदै फेवातालको गहिरो पानीमा झ्वाम्म खस्यो ।

Advertisement

टाढाबाट फेवाताल र वरपरको गुल्जार क्षेत्रमा रमाउन आइपुगेका पर्यटकले सिस्जर खसेको प्रत्यक्ष देखेर आत्तिँदै प्रहरीको १०० मा फोन गरे । प्रहरीलाई खबर गरेको १० मिनेटसम्ममा पनि त्यहाँ उद्धार टोली पुगेन ।

बरु फेवाघाटमै डुंगा व्यवसाय गरिरहेका ब्रजेश कसजु श्रेष्ठको ५ जनाको टोली हाते डुंगा खियाउँदै ५ मिनेटमा घटनास्थलमा पुग्यो । उनीहरुले नै उद्धार गरे र आफ्नै ढुंगामा सिजरलाई घाटसम्म ल्याइपुर्‍याए ।

Advertisement

‘आधिकारिक उद्धार टोली त हामी पुगेको ५ मिनेटपछि पुग्यो,’ श्रेष्ठले भने, ‘हामीसँग मोटर डुंगा थिएन । नत्र बचाउन पनि सक्थ्यौं ।’ उद्धार टोलीले प्रहरीको भ्यानमा राखेर तुरुन्त पोखराकै मेट्रोसिटी अस्पतालमा पु¥यायो तर त्यतिन्जेलसम्म ढिला भइसकेको थियो । अस्पतालले सिस्जरलाई मृत घोषणा गर्‍यो ।

सिस्जरको उपचारमा खटिएका अस्पतालको आइसियू विभागमा कार्यरत डाक्टर गोविन्द पाण्डेले उनको पहिल्यै मृत्यु भइसकेको जानकारी दिए । उनले भने, ‘यहाँ आइपुग्नुभन्दा पहिल्यै सिस्जरको मुटुको चाल बन्द भइसकेको थियो । हामीले बचाउन सकेनौं ।’ उनीसँग आएका अन्य साथीले रोमानियाली दूताबासमा सम्पर्क गर्न खोजिरहेका थिए । तर सम्पर्क हुन सकिरहेको थिएन ।

मृतक प्याराग्लाइडरको पोस्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शव राखिएको छ । जानकारहरुका अनुसार जमिनमा अवतरण गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सिस्जर फेवातालमा खसेका हुन् । जिल्ला प्रहरी कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्याराग्लाइडिङबाट आइतबार एक्कासि फेवातालमा खसेका रोमानियाली पर्यटक एड सिस्जरलाई मेट्रोसिटी हस्पिटलमा लगिँदै । तस्बिर: युनिश गुरुङ-समाधान

तपाईको प्रतिक्रिया