त्यो कालो दिन …..

समाधान संवाददाता २०७५ फागुन २० गते ८:४१

गौरी तमु

फागुन १५ गते बुधबार बिहानैदेखि पोखराको आकाश अँध्यारो थियो । ठूलै पानी नपरे पनि सिमसिम पानी परिरहेको थियो । लगभग हटिसकेको जाडो फेरि फर्किएर आएजस्तो चिसो बढेको थियो । सदा झैं १० बजे विद्यालय पुग्दा पनि दिन अझै अँध्यारो नै थियो । पानी परिरहेकाले एसेम्ब्ली नभइ सिधैं क्लास सुरु भएकोले म अभ्यास शिक्षणमा आउनु भएका छात्रा शिक्षकका केही पाठ योजनामा हस्ताक्षर गरेर २५÷३० मिनेट जति क्लास निरीक्षण गरें । वार्षिक परीक्षाका लागि प्रश्न निकाल्नुपर्ने भएकोले अफिसमा गएर प्रश्न टाइप गर्न थाले । प्रश्न टाइप गर्दै थिए खाली पिरियड भएका सर, मेडमले दिन कति डर लाग्दो अँध्यारो भएको, चिसो कति बढेको, अँध्यारो र चिसोले पढाई पनि प्रभावित हुन लागेको, कतिपय नानीबाबु चिसोले विद्यालय नआएको र कक्षाकोठामा अरु दिनभन्दा विद्यार्थीको कम उपस्थिति भएको भन्ने कुराकानी गर्नुभयो ।

अरु दिनमा खाली पिरियड र टिफिनतिर केही समय सामाजिक सञ्जाल तिर डुल्ने, नजिकैका आफन्त र साथीभाइलाई फोन गर्ने बानी भए पनि उक्त दिनमा प्रश्न निकाल्न व्यस्त भएकोले फेसबुक हेरिएन, कसैलाई फोन पनि गरिएन । जब छैठौं पिरियडमा क्लासमा विद्यार्थीका होमवर्क चेक गर्दै थिए, अचानक घरबाट छोराको फोन आयो । उसले आन्टी कहाँ हुनुहुन्छ ? भन्यो । बिहान स्कुल हिँड्ने बेला देखेको छोराले आन्टी कहाँ हुनुहुन्छ भन्दा मैले अल्लि झर्किएजस्तो गरी स्कुल आएको मान्छे कहाँ हुनु क्लासमा छु नि भनें । उसले अल्ली दबिएको स्वरमा भन्यो एउटा ब्याड न्युज छ थाहा पाउनुभयो ? म झसंग भए । हतारहतार एकै श्वासमा सोधेंछु, के भयो ? उसले अल्ली मधुरो आवाजमा भन्यो, ‘पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलीकप्टर ताप्लेजुङमा दुर्घटना भयो रे । कोही बचेनन् रे !’ नहुने नहुने कुरा नगर, त्यो फेसबुकको कुरा नपत्या । मैले यसरी नै भनें । त्यसपछि उसले अल्ली चर्को स्वरमा भन्यो– ‘होइन आन्टी टिभीतिर न्युज आइसक्यो सत्य हो ।

Advertisement

‘हे भगवान ! एक्कासी मुखबाट यो शब्द निस्केपछि मैले कतिबेला छोराको फोन काटे थाहा भएन । सपना कि विपनाजस्तो लागिरह्यो । टेकिरहेको जमिन भासिएजस्तो लाग्यो । मनमनै भने हे भगवान ! यो खबर झुट होस् । विद्यार्थीका होमवर्क भोलि चेक गर्छु भनेर क्लासबाट बाहिर निस्कँदा आकाश अघि दिउँसोभन्दा अझै दर्किरहेको थियो । यस्तो खबर सुन्नलाई रहेछ फागुन महिनामा पनि बिहानैदेखि यस्तो अँध्यारो दिन । यस्तै सोच्दासोच्दै बरन्डामा उभिएरै हातले फेसबुक अन गरिसकेको रहेछु । सबैको वाल यहीं दुखद् खबरले भरिएको थियो । यता विद्यालयमा अरु क्लासमा सर, मेडम सदाझैं ढुक्कसँग पढाइरहनु भएको थियो । २ तले भवन भएको विद्यालयको तल्लो तलामा यो खबर सबैभन्दा पहिला मैले नै थाहा पाएकी थिए । अब अरु सर, मेडमलाई यस्तो दुखद् खबर कसरी भन्नु ? साह्रै गाह्रो भइरहेको थियो ।

क्लासबाट अफिस जाँदै थिए हिम्मत गरेर अर्को क्लास लिइरहनुभएको बिना आचार्य मेडमलाई भनें । भन्न त भनें तर परिस्थिति असहज भयो । मेडम टाउको घुमाए जसरी टाउको समातेर रुँदै भन्नुभयो हे भगवान् रविन्द्र दाई ! कति असल हुनुहुन्थ्यो नि । भगवानले पनि राम्रा मान्छेलाई नै चाँडै लाने, मेरो बुवाले पढाउनु भएको नि उहाँलाई …। मेडम टाउको समातेर घोप्टो परिरहनुभयो । अफिस जाउँ भनेको मान्नु भएन । त्यसपछि विद्यार्थीलाई भनेर म सिधैं विद्यालयको माथिल्लो तलाको अफिसमा पुगें । यतिबेलासम्म माथिल्लो तलामा रहनुभएका सरले भने थाहा पाएर पनि मोबाइलतिर न्युजहरु हेर्नु हुँदै रहेछ । म सिधैं तल्लो तलामा रहेको अफिसमा झरेर मोबाइलबाटै विभिन्न अनलाइन न्युजहरु हेर्न थाले । अनलाइन न्युजहरुले फागुन १५ गतेको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यलयका सल्लाहाकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी गरी ७ तै जनाले ज्यान गुमाएको कुरा प्रष्टसँग लेखिएका थिए ।

Advertisement

तर किनकिन घरमा पुगेर टिभीतिर न्युज नहेरीकन मन अझै मानेन । यस्तो हुनुमा एक त अचेल कतिपय अनलाइन न्युजको विश्वसनियता कम हुनु र अर्को उनले राष्ट्रका लागि धेरै कामहरु गर्न बाँकी नै छन् । उनी अझै वर्षौ बाँच्नुपर्छ भन्ने उनीप्रतिको दृढ विश्वासले मनमा जरा गाडेको थियो । साझँ ४ बजेपछि घरमा आएर सबै न्युज च्यानलहरु सरसर्ती हेरेपछि अघिदेखिको अविश्वासलाई विश्वास गर्न बाध्य भए ।

अब भने टिभी हेर्न मन लागेन । जब टिभी अफ गरेर फेसबुक हेर्दै थिए केही व्यक्तिले लासमाथि गरेको भद्दा मजाक देखेर म वाक्क भए । अहो ! हामी नेपालीले यो संस्कारको सुरुआत ग¥यौ कहिलेदेखि ? कि सुरु गर्‍यो हामीले बाँचेको स्मार्ट युगले ? हामीभित्र अलिकति पनि मानवता बचेको भए हामी यति सजिलै अरुको लासमाथि बल्ल खाइस भन्न सक्थ्यौ होला र ? हामीभित्र मौलाउँदै गएको यो विकृत मानसिकताले के हामी मान्छे नै हौ ? भन्ने गम्भीर प्रश्न खडा गरेको छ । अन्त्यमा स्वर्गीय मन्त्री रवीन्द्र अधिकारी लगायत सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली ।

तपाईको प्रतिक्रिया