७ दिन रवीन्द्रको काजकिरियाः परिवारलाई सहज, समाजलाई सन्देश !

समाधान संवाददाता २०७५ फागुन २२ गते ८:१६

अमृत सुवेदी

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सामान्य विधिसहित किरियाकर्म ७ दिनमै सकियो । काजकिरिया समापनका दिन श्रद्धाञ्जली सभा भयो । रवीन्द्रले गरेका कामको चर्चासँगै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्दै समापन गरिएको हो ।

रवीन्द्रको शव पोखरा ल्याउँदा ३ दिनबितिसकेको थियो । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको श्रद्धाञ्जली सभामा रवीन्द्रको परिवारजनको सल्लाहमा बाल्यकालदेखिका सहयात्री धनराज आचार्यले घोषणा गरे, ‘किरियाकर्म ७ दिनमै सकिने छ ।’ त्यो दिनबाट मृत्युसंस्कार सक्ने समय ४ दिनमात्रै रह्यो ।

व्रतबन्ध गरेका ठूलो छोरा विराजले कपाल फाले । अर्का छोरा स्वराज सानै छन्, त्यसैले कपाल फालेनन् । न कुनै खलो वा खाना पकाउने थलो, न सेता लुगा लगाएर पराल ओछ्याएर अलग्गै कुनामा बसे । आमा छोरा एउटै कोठाको फरक ठाउँमा शुद्ध कपडा पहिरिएर बसे । एक छाक सात्विक भोजन गरेर परिवारले मृत्यु संस्कार गरे ।

गरुण पुराण वाचन गरिएन । प्रत्येक दिन दिउँसो श्रद्धाञ्जली सभा गर्ने र रवीन्द्रले गरेका कामको चर्चा गरियो । सोमबार संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक चतुर्भुज शर्माले गरुण पुराणका सार संक्षेप सुनाएर भने, ‘हाम्रो मृत्यु संस्कार परिमार्जन हुन जरुरी छ ।’

नेकपा गण्डकीले बिहीबार निवासमै श्रद्धाञ्जली सभा गर्दै रवीन्द्रको स्मरण ग¥यो भने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले परिवारजनमा समवेदना व्यक्त गरे । रवीन्द्रका बुबा आफैं धार्मिक संस्कारमा दख्खल राख्छन् । एकजना पण्डित बोलाएर सामान्य विधि पूरा गरेपछि ७ दिनको क्रिरियाकर्म सकिएको हो ।

रवीन्द्रको मृत्यु संस्कार ७ दिनमै सकिएपछि फेरि एकपटक धर्म, संस्कृति र मृत्युपछिको संस्कारका विषयमा बहस सुरु भएको छ । एकाथरि भन्छन्, ‘मृत्यु संस्कार १३ दिन नै हुनुपर्छ ।’ अर्काथरि भन्छन्, ‘हाम्रा संस्कार र धार्मिक पद्धतिहरु समयअनुसार परिमार्जन हुँदै जानुपर्छ ।’

रवीन्द्र अधिकारी त्यही चाहन्थे । रवीन्द्र पत्नी विद्या भट्टराईका अनुसार किरियाकर्म गर्ने समय घटाउनुपर्ने र हाम्रा केही जन्म, मृत्युका विधि, पद्धतिहरु परिवर्तन हुनुपर्छ भनेर संसदमै आवाज उठाउने तयारी गर्दै थिए । विद्या आफैंले रवीन्द्रको चाहना र सपनालाई सम्झिन् र मृत्युपछि धेरै दिनसम्म गर्ने संस्कारलाई व्यवहारमै उतारेर ७ दिन गर्ने प्रस्ताव गरेकी थिइन् ।

तेह्रौँ दिनसम्म किरिया बसेर गाइको पुच्छर समाइ परिवारजनले ब्राह्मणलाई दान गरेपछि मात्र कर्म सकिने परम्पराबाट माथि उठेर छरितो र वैज्ञानिक विधि अपनाएको प्राध्यापक भरत पहारी बताउँछन् । वर्ष दिनसम्म हरेक महिनामा मासिक श्राद्ध गरेर र वर्ष दिन पुगेपछि एक मुख्य बरखी श्राद्ध गर्ने र गौदान तथा अन्य दान दिने चलन पनि परिमार्जन भएको पहारीले बताए ।

जुठो बार्ने भनेर मृतकको घरमा पूजापाठ नगरिने, चाडबाड नमनाइने, कुनै प्रकारका उत्सव उमंगमा परिवारका सदस्य सरिक नहुने, बिहे–ब्रतबन्धजस्ता शुभ कर्म गर्न नमिल्ने चलन भनेको सधैंभरि पीडामा छटपटाइरहनुपर्छ, हाँस्न पाइँदैन, अरु कुरामा ध्यान दिनु हुँदैन भनेर गरिने मृत्यु संस्कारले स्थापित गर्न खोजेको संस्कृत विश्वविद्यालयका पूर्व सहप्राध्यापक चतुर्भुज शर्माले बताए ।

‘मृत्युपछिको संस्कारका विषयमा धेरैपटक विवाद र बहस भइरहेका छन् । किरियाकर्म कति दिन गर्ने भन्ने फरकफरक धारणा र बहस छन्,’ शर्माले भने, ‘कुनै पनि विधिनियम अकाट्य भन्ने हुँदैन । यो समयअनुसार परिमार्जन हुँदै जान्छ ।’ ७ दिनमै किरियाकर्म सकिने गरी छरिलो र सरल विधि निर्माण गर्न छलफल पनि भइरहेको उनले बताए । १३ दिन बार्ने पद्धतिहरुले अग्रमनको दिशाबाट पछाडि धकेलिरहेको उनको धारणा छ ।

मृत्यु संस्कार धान्नका लागिमात्रै धानेकोजस्ता नभएर व्याहारिक हुनुपर्ने कुरामा उनले जोड दिए । संस्कृत विश्वविद्यालयका जगदीश अधिकारीले कसरी परिमार्जन गर्न सकिन्छ भनेर छलफल चलाएको धर्मशास्त्रमा पोख्त वाल्मिकी क्याम्पस काठमाडौंका प्राध्यापक देवमणि भट्टराई परिमार्जनको जिम्मा पनि दिइएको शर्माले बताए ।

समय र कालअनुसार समाजका पद्धति निर्माण गर्दै लैजानुपर्ने उनको भनाइ छ । श्रद्धाञ्जली सभा गर्ने, उनले गरेका कामको चर्चा गर्ने र एउटा विधि निर्माण गरेर ५-७ दिनमै समापन गर्ने परम्परा बसाल्नुपर्ने प्राध्यापक शर्माको धारणा छ ।

प्रगतिशील लेखक भीम रानाभाटले रवीन्द्रको परिवारजनले गरेको छरितो र प्रगतिशील कर्मले एक खालको सन्देश दिएको बताए । रानाभाटले पनि बुबा–आमा बित्दा सामान्य ढंगले श्रद्धाञ्जली अर्पण गरी किरियाकर्म गरेका थिए । ‘पुरानै कपडा लगाएँ । पुरानै चप्पल र सामान्य ढंगले उहाँहरुको स्मरण गरेर किरियाकर्म गरेको थिएँ । त्यो बेला मृत्यु कर्म कसरी परिमार्जन गर्न सकिन्छ भनेर रवीन्द्रजीसँग मेरो सल्लाह पनि भएको थियो,’ रानाभाटले भने, ‘अनावश्यक रुपमा पिण्ड, दान र लम्बेतान तनावपूर्ण किरियाकर्मले समाजलाई ढोंगी बनाएको छ । ज जति गर्ने हो ज्युँदो छँदा नै गर्नुप¥यो । मरेपछि दुनिया भाँती गर्ने परम्परालाई हटाउनुपर्छ ।’

२४ वर्षसम्म प्राध्यापन गरेका दण्डराज शर्मा पौडेलले कसैको मृत्युपछि परिवारलाई पीडामा डुबाइरहने संस्कारलाई हटाएर समाजलाई प्रगतिशील बाटोमा हिँडाउनुपर्ने बताउँछन् । ‘१३ दिनसम्म किरिया बस्दा एक त समय पनि बढी लामो भयो । अर्को, मान्छेको जमघट भइरहने र कठै, विचरा, यो के दिन आइलाग्यो जस्ता कुरा गरेर परिवारलाई झन् विक्षिप्त बनाइरहने हुन्छ भने अरु कुरामा ध्यान जानै पाउँदैन,’ उनले भने, ‘उनको चाहना, उनले गरेका कामको स्मरण गर्ने र उनको सपना र योजनालाई पूरा गर्नेतर्फ लाग्नु नै सच्चा किरियाकर्म हो ।’

सुरुमा वर्ष दिन, ३ महिना, ४५ दिन हुँदै पछि १३ दिनसम्म आइपुगेको मृत्युपछिको संस्कारलाई अझै छरितो बनाउनु नै परिवारप्रति समवेदना हुने प्राध्यापक जगत पहारी बताउँछन् । ‘हाम्रो संस्कार र संस्कृतिलाई हामीले समृद्ध बनाउन जरुरी छ । यसलाई रुढीवादी र परम्परागत ढंगले सञ्चालन ग¥यौं भने हाम्रो सभ्यता, संस्कृतिको मृत्यु हुन्छ । ढोल ठोकेरमात्रै संस्कृतिको संरक्षण हुँदैन । व्यवहारिक र वैज्ञानिक ढंगले अहिलेको रहनसहन, जीवनशैली हेरेर पनि हाम्रा पद्दतिहरु निर्माण हुनुपर्छ,’ पहारी भन्छन्, ‘ऋतु, प्रकृति र भूगोल हेरेर जीवनका पद्धतिहरु परिभाषित गरिएका थिए । त्यतिबेलाको जीवनशैली, सभ्यता हेरे बनाइएका पद्दतिहरु आज वैज्ञानिक युगमा आइपुग्दा हाम्रा फेरिएका जीवनशैली, आचरण, रहनसहन, आध्यामित्क र भौतिक अवस्थामा देखिएका परिवर्तनलाई सम्बोधन हुने गरी हाम्रो सनातन धर्मका पद्दतिलाई सुधार गर्न आवश्यक छ ।’

पोखराका पाका व्यक्ति तथा मानवअधिकारकर्मी टेकनाथ बरालले हाम्रो संस्कृतिलाई सुसंस्कृत पार्नका लागि जन्ममृत्युका संस्कार परिमार्जन भइरहेको बताए । ‘रवीन्द्रको परिवारले गरेजस्तै पहिलो कुरा हामीले पनि संस्कृतिलाई परिमार्जन गर्नुपर्ने छ । मैले मेरो बाको, जेठा बाको अन्त्येष्टिमा देखें, त्यतिबेला घोडासम्म पनि दान गरिएको थियो । राँगो, साँढे र २० वटा गाइ दान गरिएको थियो । अहिले गौदानको नाममा पैसा दिए हुन्छ भने झन्झटिलो पद्दति परिमार्जन हुनुपर्छ,’ बरालले भने ।

गुमाउनुको पीडा त छँदै छ । तर, सधैंभरि पीडामा अल्झिएर बस्नुभन्दा छरितो किरियाकर्मले अब छिट्टै रवीन्द्रको परिवार काममा फर्कने विश्वास धेरैले लिएका छन् । समाज, संस्कृति र पद्दति समयानुकुल हुनुपर्छ र जन्ममृत्युपछिका संस्कार परिमार्जन हुनुपर्छ भन्ने एक कम्युनिस्ट नेताको परिवारले त्यसको उदाहरण देखाएको धेरैको विश्लेषण छ ।

तपाईको प्रतिक्रिया