देशले रवीन्द्रको अभाव व्यहोरिरहेको छ: विद्या

समाधान संवाददाता २०७५ फागुन २२ गते ९:१४

समाधान संवाददाता

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईले रवीन्द्रको अभाव आफ्नो परिवारले मात्रै महसुस नगरेको बताएकी छन् । ‘हाम्रो परिवारले मात्रै होइन सिंगो देशले नै रवीन्द्रको अभाव व्यहोरिरहेको छ’, उनले भनिन्, ‘देश छ, पार्टी छ, आमजनसमुदाय हाम्रो साथमा भएकाले ठाडो शिर बनाएर यहाँ उभिएकी छु । हामीले त्यो विश्वास नपाएको भए म यहाँ आएर उभिन सक्दिन थिएँ ।’ विद्याले रवीन्द्र स्मृति प्रतिष्ठान बनाउने योजना रहेको पनि खुलाइन् । त्यसका लागि पार्टीसँग सल्लाह गर्ने सुनाइन् ।

मंगलबार पोखरामा आयोजित श्रद्धाञ्जली सभामा उनले उक्त भनाइ राखेकी थिइन् । रवीन्द्रको श्रद्धाञ्जली सभामा छोराहरुसहित पुगेकी उनले पतिको तस्बिरमा फूल चढाएपछि केही समय मन्तव्यसमेत राखिन् । विद्याले शुभेच्छुक, पार्टी सरकार र राष्ट्रलाई धन्यवाद दिइन् । ‘उहाँ (रवीन्द्र) प्रति गरेको जुन उच्च सम्मान छ, त्यसलाई हामीले भुल्यौँ भने अपुरो हुन्छ’, विद्याले गला अवरुद्ध बनाउँदै भनिन्, ‘शुभेच्छुक, पार्टी र सरकारले दिएको विश्वासका कारण म असमर्थ हुँदा हुँदै पनि उपस्थित भएकी छु ।’

Advertisement

विद्याले पार्टीले आफूहरुलाई धेरै विश्वास दिएको उनले बताइन् । ‘पार्टीले उहाँको विचार र सपनाई बोकेर हिँड्नेछ भन्ने अनुभूति हामीले गरेका छौँ’, उनले भनिन्, ‘गुमेको कुरालाई भन्दा उहाँका विचार र उहाँले व्यक्त गरेका अभिलाषा र सपनालाई पूरा गर्न सिंगो पार्टी र देश लाग्नेछ, त्यसमा सानो इकाइको परिवार त लाग्ने नै छ ।’
रवीन्द्रसँग जोडिएको प्रसंग पनि उनले उप्काइन् । ‘रवीन्द्रजीको राजनीतिक जीवनमा म पछाडि मात्रै जोडिएँ । आमा बुवाले जेठो छोरालाई राजनीतिमा होमिन दिएको त्यो योगदानको म कदर गर्छु’, उनले भनिन्, ‘आजको रवीन्द्रको राजनीतिक उचाइका लागि आमाबुवाको योगदानको जति चर्चा गरे पनि पुग्दैन ।’

उनले शोकसभामा रवीन्द्रका भाइहरुले दिएको योगदानको पनि चर्चा गरिन् । ‘राजनीतिक परिवारको अभावलाई पूरा गर्न भाइहरुले खेलेको भूमिका, बहिनीले दाइलाई भेट्न नसक्दा पनि दिएको मायाले रवीन्द्रको उचाइ बढाइरह्यो । परिवारको विश्वासले रवीन्द्रले राजनीतिक प्रगति गर्न सफल भए ।’

Advertisement

रवीन्द्रको जीवनमा आफू राजनीतिक कारणले नै जोडिएको उनले स्मरण गरिन् । ‘उहाँ र मेरो सम्बन्ध राजनीतिले जोड्यो । हाम्रो माया राजनीतिले जोड्यो, दुवैजना राजनीतिमा लाग्दा पारिवारिक व्यवस्थामा अफ्ठेरो पार्छ भन्ने मेरो निचोड थियो’, विद्याले थपिन्, ‘उहाँको राजनीतिलाई साथ दिएँ भने अब्बल निस्कनुहुन्छ भन्ने थियो । मैले आफू प्राज्ञिक क्षेत्रतिर लागेँ । उहाँ उत्कृष्ट, अब्बल र सक्षम भएर निस्कनुपर्छ भन्ने थियो । त्यो सोचलाई सबैको साथले ऊर्जा प्राप्त गरेको छ ।’ रवीन्द्रजीको सपनालाई साकार बनाउन पार्टीले योगदान दिएको पनि उनले सुनाइन् ।

तपाईको प्रतिक्रिया