सुत्केरी रित्तो हात फिर्ता

समाधान संवाददाता २०७५ फागुन २७ गते ८:१९

रामकृष्ण लामिछाने

जिल्ला अस्पताल पर्वतमा सुत्केरी गराउने महिलालाई रित्तो हात फर्काउने गरिएको छ । भत्तासहित यातायात भाडा दिने राज्यको नीति भए पनि पर्वतका सुत्केरी महिला यो सेवाबाट बञ्चित भएका हुन् ।

नेपाल सरकारले राज्य मातहतका स्वास्थ्य संस्थामा सुत्केरी भए बापत भत्तास्वरुप २ हजार र नियमित जाँच गराएकालाई थप ८ सय सहित २ हजार ८ सय रुपैयाँसम्म सुत्केरी भत्ता र आवातजावत वापतको भाडा पाउने व्यवस्था गरे पनि पर्वत जिल्ला अस्पतालले पर्याप्त रकम नभएको भन्दै सुत्केरीलाई रित्तो हात फर्काउने गरेको गुनासो बढेको छ ।

Advertisement

फलेवास नगरपालिका ९ भंगराकी २१ वर्षीया सन्तोषी केसीले जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी भए पनि भत्ता प्राप्त नगरेको गुनासो गरिन् । केसीले हालै ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सको सहयोगमा जन्म दिएकी हुन् । केसीले भनिन्, ‘बच्चा जन्मिए पछि जन्म प्रमाणपत्र तत्कालै दिइयो, तर राज्यले तोकेको अर्को सुविधा भत्ता र यातायात भाडा भने अस्पतालले दिएन ।’

उनी जस्तै जिल्ला अस्पताल पर्वतमा गएको मंसिरदेखि प्रसूति भएका महिलाले भत्ता र यातायात भाडास्वरुपको रकम नपाएको सुनाउँछन् । अस्पताल पर्वतले गएको मंसिर महिनादेखि अस्पतालमा भएका सुत्केरीलाई भत्ता दिन नसकेको हो । अस्पताल प्रशासनले आमा सुरक्षा कार्यक्रमकालागि यस अघि भित्रिएको रकम वितरण भइसकेको र नयाँ रकम निकासा नभएको भन्दै सुत्केरी भत्ता दिन नसकेको बताएको छ । कुश्मानगरपालिका अन्तर्गत जिल्ला अस्पतालमा गएको कात्तिक महिनासम्म नगरपालिकामार्फत रकम भित्रिएको र गण्डकी प्रदेश मातहतमा जल्ला अस्पताल गाभिए पछि उक्त रकम विनियोजन नभएको हो ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. सन्तोषी थपलियाले गण्डकी प्रदेश सरकारसँग माग गरिएको र अख्तियारी नआइसकेकोले सुत्केरी भत्ता दिन नसकेको बताइन् । उनले भने, ‘प्रदेश अन्तर्गत सञ्चालनमा आउन सुरु भए पछि रकम निकासा नहुँदा अस्पताल र स्वास्थ्य कार्यालयका प्रशासनिक कामसमेत प्रभावित बनेको छ ।’

साउन महिनादेखि जिल्ला अस्पताल पर्वतमा २ सय ७५ जना सुत्केरी भएको तथ्यांकमा छ । कात्तिकसम्म नगरपालिकाबाट प्राप्त रकम ४ लाख ५० हजार सुत्केरी भत्ता र यातायात भाडाका रुपमा वितरण गरिएको अस्पतालले जनाएको छ । सुत्केरी महिलालाई रकम अभावमा नै भत्ता र यातायात भाडा प्रदान गर्न नसकिएको उनीहरुले सजिलै भन्दै आएका छन् ।

पर्वतमा एउटा जिल्ला अस्पतालसहित ५२ स्वास्थ्यचौकी र २ प्राथमिक स्वास्थ्य केन्द्र छन् । जिल्ला अस्पतालमा यो समस्या आए पनि अन्यत्रका बर्थिङ सेन्टरमा भने खासै समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । हाल, राज्यले अस्पताललाई राम्रोसँग नहेर्दा सेवाग्राहीले सेवा उपभोग गर्न नसकेकोे भनाई छ ।

तपाईको प्रतिक्रिया