विप्लव ‘प्रचण्ड’ बन्न सक्दैन- प्रचण्ड

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:२४

विकास रोकामगर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ प्रचण्ड बन्न नसक्ने बताएका छन् । उनले व्यवस्था पद्धतिमा गुणात्मक फेरबदल आइसकेकाले विप्लवलाई आफ्नो नक्कल नगर्न सुझाए ।

पोखरामा पत्रकार भेटघाट कार्यक्रममा सोमबार प्रचण्डले २५ वर्ष पहिलेको क्रान्ति अहिले सम्भव नभएको बताए । ‘मैले त उहाँहरुलाई राम्रैसँग चिन्छु । उहाँहरुलाई मैले नै स्कुलिङ गरेको हुँ । लामो समयसम्म उहाँ मेरो सचिव भएर काम गर्नुभएको छ,’ उनले भने, ‘अहिलेको समयमा आएर उहाँले मेरो नक्कल गरेर प्रचण्ड बन्न खोज्नुहुँदैन । यो सम्भव पनि छैन । ’

Advertisement

प्रचण्डले पृथकतावादमा गएका ‘विप्लव’हरु पनि कम्युनिस्टकै सरकार भएकाले वार्ता संवादका माध्यमबाट मुलधारको राजनीतिमा आउन आग्रह गरे । इतिहासले एउटा कालखण्डमा एउटा एउटा विचार नेतृत्व अगाडि ल्याउने बताए । उनले भने, ‘इतिहासले एउटा नेतृत्व अगाडि ल्याइसकेको छ । विप्लवहरु अहिलेको समाजवादी लोकतन्त्रिक गणतन्त्रतिर सोच्नु उपयुक्त हुन्छ ।’

‘प्रधानमन्त्रीजीले मलाई सिकेजीसँग नजोडे पनि हुन्थ्यो’
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा स्वतन्त्र मधेश आन्दोलन चलाइरहेका सिके राउतसँग र सरकारसँगको सम्झौता कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राउत र प्रचण्डलाई तुलना गरेको सन्दर्भलाई लिएर आफूलाई नजोडेको भए हुने बताएका छन् ।

Advertisement

‘प्रधानमन्त्रीजीले मलाई सिकेजीसँग जोडेर बोल्ने बेला म पनि त्यही थिएँ । उहाँले मैतिर फर्किएर त्यो भन्नुभएको थियो,’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘मलाई लाग्छ उहाँले त्यो सोचेर यही भन्छु भनेर भन्नु भएको होइन ।’

प्रचण्डलाई यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले धेरैपटक ‘असाधारण निर्णय क्षमता’ भएका व्यक्तिका रुपमा उद्घोष गरिरहेकाले त्यसअर्थमा सिके राउतसँग जोडिएको हुन सक्ने बताए । ‘पृथकतावाद छोडेर मुलधारको राजनीतिमा आउने सन्दर्भमा उहाँले भन्नुभएको थियो,’ उनले भने, ‘नग¥याभा’नि हुन्थ्यो । तर, गर्दा पनि ठूलो केही बिग्य्राछैन ।’

प्रचण्डले पृथकतावादी आन्दोलन लिएर अघि बढिरहेका सिके राउतलाई मुलधारमा ल्याएर सरकारले जायज सुरुआत गरेको बताए । उनले तराई मधेशवादी पृथकतावादी आन्दोलन लिएर अघि बढेका सिके राउतसँगको सहमति मिडियामा आएको जस्तो स्थिति भने नभएको समेत प्रष्ट्याए । उनले भने, ‘अहिले नै हतारमा केही भइहाल्यो भन्ने छैन । सरकारले संविधानको मर्म र भावना अनुसार नै उहाँहरुलाई मुलधारको राजनीतिमा ल्याउन पहल गरेको हो ।’

आइतबार सिके राउत गृह जिल्लामा पुग्दा उठेको स्वतन्त्र मधेश र जनमतबारे प्रचण्डले अन्यथा नसोच्न आग्रह गरे । ‘तराईमा देखिएको दृश्यले सकारलाई आशंका त पैदा भएको छ । तर, व्यावहारिक रुपले भएको सहमतिबारे पृथकतावादी आन्दोलन गरिरहेका कार्यकर्तालाई सम्झाउन अझै समय लाग्छ ।’

सरकारको उद्देश्य मधेशलाई खतराबाट रोक्नु भएकाले सञ्चारमाध्यममा आएको जनअभिमतमा तरंगित नहुन प्रचण्डले आग्रह गरे । उनले जनमत संग्रह गर्न पनि २ तिहाइ संसदीय बहुमत चाहिने भएकाले चाहेरमात्रै नहुने प्रष्ट्याए । उनले भने, ‘यदि सहमति विपरीत भइहाले पनि सरकारले के गर्ने भन्नेबारे सरकारसँग निर्णय अधिकार सुरक्षित छ । तरंगित हुनुपर्ने अवस्था म देख्दिनँ ।’

विद्या भट्टराई उम्मेदवार बन्ने संकेत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङमा विमान दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा अधिकारीकै श्रीमतीलाई उम्मेदवार बनाउने संकेत दिएका छन् । पत्रकार भेटघाटमा उनले कास्की २ मा हुने उपनिर्वाचनमा स्व.अधिकारीकी श्रीमती विद्या भट्टराईलाई उम्मेदवार बनाउने जनाउ दिएका हुन् ।

प्रचण्डले उपनिर्वाचनमा उम्मेदवार बनाउन जिल्ला पार्टी र परिवारको पनि निर्णय चाहिने सुनाए । उनले स्व.रवीन्द्रको परिवार स्वयं राजीतिक पृष्ठभूमि नै भएकाले त्यसबारे पार्टीले निर्णय गर्ने बताए । ‘उपचुनावबारे परिवार र जिल्ला पार्टीले समेत निर्णय गर्न जरुरी छ । उहाँको परिवार पनि राजनीतिक पृष्ठभूमिमै हुर्किएको छ,’ उनले भने, ‘परिवारको सदस्यमा पनि नेतृत्व लिन सक्ने क्षमता छ । यो सबै कुराको विचार गरी पार्टीले निर्णय लिनेछ ।’

प्रचण्डले कास्की २ को उपनिर्वाचनबारे पार्टीभित्र औपचारिक कुरा तथा चर्चा भने नभएको प्रष्ट्याए । उनले भने, ‘यसबारे पार्टीमा औपचारिक कुरा र चर्चा चलेको छैन । मिडियामा वामदेव गौतमबारे पनि कुरा आयो, उहाँले प्रष्टीकरण दिइसक्नु भएको छ ।’

तपाईको प्रतिक्रिया