सरकार खैरेनीटार–गगनगौंडा सडक खण्ड जीर्ण भयो

समाधान संवाददाता २०७५ फागुन २८ गते ८:२८

आशा खनाल

हामी पुरानो राज्य प्रणालीबाट संघीय राज्य प्रणालीमा आएका छौं । संघीयताको मर्म समानुपातिक विकास हो र त्यो भन्दा बढी छिटो र दु्रत ढंगले समस्याको समाधान गर्नु विकास निर्माण काम गर्नु र जनतालाई छिटो र सर्वसुलभ ढंगले सेवा प्रवाह गर्नु हो । मलाई लागेको छ सरकारले त्यतातिर सोचेको होला तर जनतालाई अनुभूत हुने गरी कुनै पनि काम परिणाममुखी हुन नसक्दा आम जनतामा निराशा जाग्नु र संघीयता प्रति नकारात्मक टिप्पणि गर्ने काम सुरु भएको छ । यसमा राज्य समयमा नै गम्भीर नहुने हो भने हामीले सोचेको विकास र समृद्धिको यात्रा केबल नारा मात्र हुनेछ ।

मैले यसो भन्दै गर्दा यस सभामा प्रतिनिधित्व गर्नुहुने ६० माननीय सदस्यज्यूहरु, प्रदेश सरकार, प्रदेश प्रमुख, सम्पूर्ण सरोकारवाला निकायहरु साथै नेपाल सरकारका प्रधानमन्त्रीदेखि सबै जिम्मेवार राष्ट्र नायकहरुबाट परिचित एवं उपभोग गरिदै आएको पृथ्वी राजमार्ग र विजयपुर खोलाको पुल हो । यसअघि मुग्लिनको पुलको हालत यही अवस्थामा हामीले देखेका हौं । यतिबेला पृथ्वीराजमार्ग विशेष गरी खैरेनीटार, गगनगौंडा खण्ड अत्यन्त जीर्ण एवं हिड्नै निमल्ने अवस्थामा पुगेको छ । करिब २५ किलोमिटरको यो बाटो पार गर्न १ घन्टा भन्दा बढी समय लाग्छ । त्यो यात्रा अत्यन्त यातनापूर्ण र दर्दनाक हुन्छ । १ घन्टाको बाटोमा दैनिकजसो यात्रा गर्दा यात्रुका मुखबाट निस्किएका शब्दहरु अत्यन्त पीडाका साथ सुन्नुपर्ने वाध्यता सिर्जना हुन्छ । तर समस्याको समाधान एवं बाटो निर्माण सुधारतर्फ सम्बन्धित पक्षको ध्यान देखिँदैन । यो विडम्बनाको अन्त्य कसरी गर्ने, प्रदेश सरकारले जवाफ दिनुपर्छ ।

Advertisement

नेपाल सरकारले एडिबीको सहयोगमा गर्ने भनेको पृथ्वीराजमार्गको ४ लेनको काम कहाँ पुग्यो । कहिले देखि सुरु हुन्छ, हुन्छ वा हुँदैन ? अत्यन्त जीर्ण भएका सडक मर्मत गर्नुपर्ने हो होइन ? कहिले गर्ने कसले गर्ने यसको स्पष्ट जानकारी जनसमुदाय र यो सदनलाई प्राप्त होस् म आग्रह गर्न चाहन्छु ।

सडक जीर्ण छ । सडक पेटी छैन, पानी पर्दा ताल पर्ने र नपर्दा धुलो उड्ने अवस्था छ । पैदलयात्रुको लागि दायाँबायाँ सडकपेटी बनाउन स्थानीयले पटक पटक अनुरोध ताकेता गर्दा समेत सडक विभागले त्यो काम गर्छ न कामको लागि स्वीकृति दिन्छ । यस्तो परिवेशमा दिनहुँ भएका दुर्घटनाको जवाफदेही को हुने ? वातावरणीय प्रतिकुलताको कारण सिर्जित समस्या र यसले पारेको असरको जवाफदेहीको हुने ? सडकको दाया बायाँ किनारमा निर्धक्क फैलाइएका निर्माण सामाग्री एवं अव्यवस्थित रुपमा रहेका अन्य अवरोधहरु कसले हटाउने ? यसर्थ म सभामुख मार्फत प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु बाटोको तत्काल मर्मत कार्य प्रारम्भ गरियोस साथै सडकको दायाँबायाँ पैदलयात्राको लागि सुरक्षित पैदलमार्ग निर्माण गरियोस् ।

Advertisement

तत्काल जटिल समस्या बनेको विजयपुर खोलाका पुल समेत विशेष योजनाका साथ तत्काल निर्माण कार्य सुरु गर्न सभा मार्फत प्रदेश सरकारको ध्यानार्कण गराउन चाहन्छु । नेपालकै पर्यटकीय राजधानी, गण्डकी प्रदेशको केन्द्र प्रवेशद्वार विजयपुर खोलाको पुल १० वर्षभित्रै जीर्ण हुनु गम्भीर कुरा हो । यसर्थ तत्काल वैकल्पिक मार्ग निर्धारण गरी यातायात सूचारु गरियोस् साथै कमसल निर्माण गर्ने निर्माण कम्पनीलाई कारबाही गरी ४ लेनको मोटेरेबल पुल तत्काल निर्माण गर्न सभामुखमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । साथै निर्माण कार्यको लागि प्रतिस्पर्धा गराउने र अत्यन्त कम लागतमा काम स्वीकार (टेन्डर) गरी कम गुणस्तरको निमार्ण कार्य गर्नाले राज्यलाई दोहोरो आर्थिक भार पार्ने र जनताको सहज सुविधामा अवरोध गर्ने कामको आगामी दिनमा अन्त्य होस् भन्ने अपेक्षा गर्दछु । धन्यवाद ।

(गण्डकी प्रदेश सभा सदस्य खनालले सोमबार प्रदेश सभाको विषेश समयमा राखेको अभिव्यक्ति)

तपाईको प्रतिक्रिया