यसरी निर्माण हुँदैछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

समाधान संवाददाता २०७५ फागुन २८ गते ९:४८

समाधान

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म २५ प्रतिशत काम सकिसकेको छ । चिनियाँ निर्माण कम्पनी सीएमसीइले ११ अगस्ट २०१७ बाट यो विमानस्थल निर्माण सुरु गरेको हो ।

सन् २०२१ को जुलाइभित्र सकिसक्ने लक्ष्यसहित काम भइरहेको जनसम्पर्क अधिकृत कृष्ण चापागाईंले जानकारी दिए । हेंकर, टयाक्सी वेको काम भइरहेको छ भने एप्रोन निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ ।

Advertisement

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको निब्र्याजी ऋणमा विमानस्थल निर्माण हुन लागेको हो । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४ डी’ विमानस्थल बन्ने छ । सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निधारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने सर्त छ ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।
सरकारले ०३२ मा जग्गा अधिग्रहण गरे पनि सरकारसँग बजेट अभाव, दातृ निकाय फेला नपरेको र पछि नागरिक उड्डयन प्राधिकरणले ठेकेदार कम्पनी छनोटको निर्णयमा ढिलाइले विमानस्थल निर्माण अलपत्र थियो । विमानस्थलको ०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विमानस्थलको शिलान्यास गरेका थिए । अन्तर्राष्ट्रिय उड्डयनका लागि आइकाओको मादण्डअनुसार फोर डी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भए पछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् ।

Advertisement

लगभग २५ सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा अवतरण र उडान हुने ती विमानको यात्रु क्षमता २ सयसम्म हुनेछ । पोखरामा बन्ने अन्तराष्ट्रिय विमानस्थलले प्रदेश नम्बर ४ को मात्रै नभएर सिंगै देशको पर्यटकीय विकासमा टेवा पुग्ने विश्लेषण गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया