भीमादले जित्यो अन्तर स्थानीय भलिबलको उपाधि

समाधान संवाददाता २०७५ फागुन २८ गते ९:५४

समाधान संवाददाता

गण्डकी प्रदेश अन्तरस्थानीय तह अध्यक्ष भलिबल प्रतियोगिताको उपाधि भीमाद नगरपालिकाले जितेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई हराउँदै सोमबार भएको फाइनल खेलमा भीमादले उपाधि चुमेको हो ।

उपाधिसहित भीमाद नगरपालिकाले एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । रुपा गाउँपालिकाले भीरचोक खेलमैदानमा गरेको प्रथम अध्यक्ष कप पुरुष भलिबल प्रतियोगितामा सहभागी १९ स्थानीय हल सहभागीमध्ये भीमाद प्रथम उपाधि जित्ने स्थानीय तह बनेको हो ।

Advertisement

उपाधि जितेको भीमादले कालीगण्डकी गाँउपालिकामाथि १९–२५, २५–२३, २५–२१, २५–२२ को सेटमा पराजित गर्‍यो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा पोखरा महानगरपालिका तनहुँको घिरिङ गाउँपालिसँग सोझो सेटमा पराजित हुन पुग्यो । पोखरा महानगरपालिका २५–१५, २५–२० र २५–२३ को सेटमा पराजित हुदैं चौथो स्थानमा चित्त बुझाएको छ ।

प्रतियोगितामा द्वित्तीय, तृत्तीय र सान्त्वनाले क्रमशः ७० हजार, ४० हजार र २० हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

Advertisement

प्रतियोगितामा भीमाद नगरपालिकाका खेलाडी निर्मल शाही ठकुरी उत्कृष्ट घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । बेस्ट डिफेन्डर कालीगण्डकी गाउँपालिकाका पोलसिंह राना, बेस्ट ब्लकर भीमाद नगरपालिकाका मीलन राना, बेस्ट सेटर भीमादकै दिवस आले, स्पाइकरबाट कालीगण्डकी गाँउपालिकाका हरि पाण्डे र अनुशासित टोलीको पुरस्कार रुपा गाँउपालिका घोषित हुदैं पुरस्कार थाप्यो । उनीहरुले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताकै अवसरमा रुपा गाउँपालिकामा जन्मेका राष्ट्रिय भलिबल टिम क्याप्टेन इमबहादुर रानामगरलाई सम्मानसमेत गरिएको थियो । भलिबलको उर्वर भूमिका रुपमा चिनिएको रुपामा गण्डकी प्रदेशका १९ स्थानीय तहको भलिबल प्रतियोगिता गराएर फेरि एक पटक जगाउने काम भएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए । स्थानीय तहले खेलकुदका क्षेत्रमा पनि विषय काम गर्नुपर्छ भनेर प्रतियोगिता गरिएको उनको भनाइ थियो ।

देउराली नेवा फेदीको उत्कृष्ट झाँकी
रुपा गाउँपालिकाले झाँकी प्रदर्शनी तथा प्रतियोगिता पनि गरेको थियो । प्रत्येक वडाबाट अनिवार्य समुदाय विशेषको झाँकीसहित प्रतियोगिता भएको थियो ।

नेवारी संस्कृति र परम्परासहित वडा नम्बर ५ बाट प्रस्तुत झाँकी उत्कृष्ठ बनेको छ । देउराली फेदी नेवा खलले निकाले नेवारी संस्कृतिको झाँकी उत्कृष्ट बनेको हो । शान्ति रुपा बराहथोक तमुसमाज वडा नम्बर ६ ले निकालेको झाँकी दोस्रो बन्यो । यस्तै, नेपाल कुमाल समाज वडा नम्बर ३ पोल्याङ तृत्तीय हुँदा चिसापानी जलकुमारी वडा नम्बर ६ सान्त्वना बनेको छ ।

स्थानीय तहको स्थापना दिवसकोसमेत मौका पारेर भएको कार्यक्रममा ५ वडाबाट ५ जातजातिका झाँकी अनिवार्य गरिएको थियो । मगर, दलित, कुमाल, ठकुरी, गुरुङ र मुस्लिमको एक–एक झाँकी प्रदर्शन भएको थियो भने भने अन्य जातजातिका भेषभुषा र सांस्कृतिक झाँकी पनि प्रदर्शन भएको थियो ।

तपाईको प्रतिक्रिया