सरकारले विदेशी धर्मलाई संरक्षण गर्दा देश धार्मिक द्वन्द्वतर्फ- राप्रपा अध्यक्ष कमल थापा

समाधान संवाददाता २०७५ फागुन २९ गते ९:४०

समाधान

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु धर्ममाथि आक्रमण भएको बताएका छन् । स्याङ्जाको वालिङमा मंगलबार आयोजित मेची महाकाली स्वाभिमान यात्रालाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्म निरपेक्षताको नाममा विदेशी धर्म आयातीत भएको बताएका हुन् ।

सनातन हिन्दु धर्मलाई कमजोर बनाउँदै विदेशी धर्म भित्र्याउने काम राप्रपालाई मान्य नहुने अध्यक्ष थापाको भनाई थियो । उनले भने, ‘विदेशी धर्मलाई संरक्षण गर्दै वर्तमान सरकारले देशलाई धार्मिक द्वन्द्वमा लैजाने दुष्प्रयास गरिरहेको छ ।’ हिन्दु धर्मावलम्बीको संख्या धेरै भए पनि सरकारले धर्म निरपेक्षता राष्ट्र घोषणा गर्नु दुखद भएको बताउँदै सनातन धर्म अन्त्य हुँदा मानवीयता पनि हराउँदै गएको थापाको धारणा छ ।

Advertisement

राप्रपाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र समृद्धिको निम्ति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारलाई २२ बुँदे ज्ञापनपत्र बुझाएको बताए । आफ्नो माग सम्बोधन हुन नसके चैत पहिलो साताबाट देश ब्यापी जनसंघर्षको थालनी गर्ने अध्यक्ष थापाको चेतावनी छ । राप्रपाको संविधानमा रहेको धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने, सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयताबारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने, देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई नियन्त्रण गरी राष्ट्रिय अखण्डता सुदृढ तुल्याउनुपर्ने, जबरजस्ती धर्म परिवर्तन गराउने कार्यलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने, नैतिक तथा संस्कृत शिक्षा अनिवार्य गर्नुपर्ने लगायतका २२ बुँदे माग छ ।

कार्यक्रममा राप्रपाका नेता वुद्धिमान तामाङले सरकारसँग राखेका विभिन्न माग पूरा नभए जनसंघर्ष सुरु गर्ने बताउँदै ८१ प्रतिशत हिन्दु सम्प्रदायको माग पूरा गर्न कुनै जनताले पनि राजनीतिक पूर्वाग्रह नराखी राप्रपाको अभियानलाई साथ दिने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया