डिजाइन फेल हुँदा २ पुल अलपत्र

समाधान संवाददाता २०७५ फागुन ३० गते ८:३२

तस्बिर- चापाकोट ८ र पाल्पा रामपुर ६ मा निर्माणधीन भारत र चीन जोड्ने कालीगण्डकी पुल । पुल साढे ७ वर्षमा निर्माण नहुँदा अलपत्र छ ।
अर्जुन काफ्ले- स्याङ्जा

अर्जुन काफ्ले

३ वर्षमा काम सक्ने गरी सम्झौता भएको कालीगण्डकीका २ मोटरेबल पुल डिजाइन फेल हुँदा अलपत्र परेका छन् । चापाकोट ८ स्याङ्जा र रामपुर ६ पाल्पा जोड्ने दामाचौर पुल तथा चापाकोट ९ र रामपुर ६ जोड्ने निर्दिमघाट पुल सडक विभागको पुल महाशाखाले तयार पारेको डिजाइन फेल हुँदा साढे ७ वर्षसम्म अलपत्र भएका हुन् ।

Advertisement

एकै दिन सम्झौता गरी निर्माण थालनी भएका मोटरेबल पुलको निर्माण महाशाखाको डिजाइन फेल भएपछि रोकिएको हो । सडक विभाग पुल महाशाखाले दामाचौर र निर्दिमघाट दुवै पुलको स्वाइल टेस्ट र डिजाइन गर्ने जिम्मा बिडिए नेपाल प्रालिलाई दिएको थियो । २०६८ साल असार २६ गते एमएस इलाइट एसबिए जेबी कपन काठमाडौले दामाचौर पुल र निर्दिमघाट पुल कन्काइ-मिलिनियम-नेपाल प्रगति जेभीले ३ वर्षमा काम सक्ने गरी सम्झौता गरको थियो ।

वेल फाउन्डेस डिजाइनमा काम गर्ने गरी सडक डिभिजन कार्यालय पाल्पाबाट जिम्मा पाएका दुवै पुलका निर्माण कम्पनीले पहिलो चरणमा २ छेउका पिलर निर्माणपश्चात नदीको मध्यभागमा पिलर बनाउने क्रममा डिजाइन अनुसार निर्माणको काम अगाडि नबढेपछि ७ वर्षदेखि पुल निर्माण रोकिएको हो । महाशाखाले पुलको स्वाइल टेस्टको आधारमा डिजाइन गरेकोमा टेस्ट गरेको ठाउँमा डिजाइन अनुसारको पिलर निर्माण कम्पनीले बन्न नसक्ने अवस्था सडकलाई जानकारी दिएपछि स्वाइल टेस्ट गर्ने प्राविधिकप्रति औंला ठडिएको हो ।

Advertisement

दामाचौर पुलका २ पिलर बनेका छन् भने निर्दिमघाट पुलका छेउका २ र नदीको बीचमा १ पिलर बनेका छन् । डिजाइन अनुसार वाल १५÷१५ मिटर जमिनमुनि दबिनु पर्नेमा ५ मिटरभन्दा तल चट्टान भेटिएपछि निर्माण थालेको ६ महिनापश्चात काम गर्ने प्रक्रिया रोकिएको दामाचौर पुलको निर्माण कम्पनी एमएस इलाइटका श्याम केसीले बताए ।

पहिलो चरणमा १० प्रतिशत काम सकेको बताउँदै केसीले नदीको बीचको जमीनमा चट्टान भेटिएपछि काम अगाडि बढाउन नसकेको बताए । साढे ४ वर्ष पहिला काम सकेर सरकारलाई हस्तान्तरण गर्नुपर्नेमा काम नसकिँदा आफू चिन्तित भएको केसीले बताए ।

रड, सिमेन्ट, गिटी, बालुवा जस्ता धेरै सामग्री ड्यामेज भएको बताउँदै केसीले पुल निर्माणपश्चात केही मुनाफा गर्ने सोचको अन्त्य भएको केसीले बताए । दामाचौर पुल भ्याटबाहेक १५ करोड ६८ लाख १३ हजार २ सय ६६ रुपैयाँ ६० पैसामा निर्माण सक्ने गरी इलाइटले जिम्मा लिएको थियो । इलाइटले ६०-६० मिटरका ३ स्पाममा १ सय ८१ दशमलव ६९ मिटर लम्बाइ रहेको पुलमा ४ पिल्लर राख्ने गरी काम थालेको थियो ।

यस्तै १ सय ५० मिटर लामो, ३ स्पाममा ४ पिलरको डिजाइन भएको निर्दिमघाट पुल १२ करोड ४८ लाखमा पाल्पा सडकसँग कन्काई-मिलिनियम-नेपाल प्रगति जेभिले सम्झौता गरी काम अघि बढाएको थियो । २ छेउका पिलर र बीचको १ पिलर निर्माणपश्चात रोकिएको निर्दिम घाटको समस्या पनि दामाचौरको जस्तै हो । चौंथो पिलर बनाउने क्रममा चट्टान भेटिएपछि निर्माण थालेको १ वर्ष पछि काम गर्न नसकेको निर्माण कम्पनीका यामबहादुर श्रेष्ठले बताए ।

निर्माणको जिम्मा पाएपश्चात सबै सामग्री तयार गरी काम गरेको बताउँदै श्रेष्ठले पुल निर्माणका लागि ल्याएका रड, सिमेन्ट लगायतका सामग्री बिग्रेको गुनासो गरे । निर्माणका लागि ल्याएका सामग्री बिग्रँदा लाखौं क्षति भएको बताउँदै श्रेष्ठले निर्माण भएका पिलरमा प्रयोग भएर बाहिर देखिएका रडसमेत खिया लागेको उनको भनाइ थियो ।

माटो परीक्षणको जिम्मा पाएको कन्सल्टेन्सी र इन्जिनियरले राम्रोसँग काम नगर्दा आफूहरु ठूलो क्षति व्यहोरेको बताए । सडकले नयाँ डिजाइन चाँडो उपलब्ध गराएमा पुल १ वर्षमा निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने श्रेष्ठले बताए । पुल निर्माण प्रक्रिया पुलको डिजाइनका क्रममा समस्या रहँदा साढे ७ वर्ष ढिलाइ भएको बताउँदै सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख केदार नेपालले पुलको पाइल फाउण्डेसनमा नयाँ डिजाइन तयार भएको जानकारी दिए ।

मोटरेबल पुल नयाँ डिजाइनमा काम गर्न १५ देखि २० प्रतिशत रकम थप्नु पर्ने बताउँदै उनले विभागले थप गर्ने रकमको टुंगो नलागेसम्म पुल निर्माण थालनी नहुने स्पष्ट पारे । राम्रोसँग डिजाइन नहुँदा राज्यले करौडौं क्षति र स्थानीय नागरिकले यातायातका लागि सास्ती व्यहोरेको बताए । पुलको डिजाइन गर्ने क्रममा प्राविधिक समस्या देखिएको स्वीकार गर्दै पुल महाशाखाका डिडिजी दीपक भट्टराईले माटो परीक्षणका क्रममा ड्रिल राम्रोसँग नगरी डिजाइन तयार गर्दा समस्या देखिएको बताए ।

माटो परीक्षणका क्रममा सबै पुलको ड्रिल नहुने बताउँदै उनले ठूलो नदीमा पुल बनाउँदा ड्रिल गर्नुपर्नेमा नगरिएको धारणा राखे । पुलको नयाँ डिजाइन भएअनुसार नयाँ टेन्डर प्रकाशन गरी नयाँ निर्माण कम्पनीलाई दिएमा अहिलेको मूल्य वृद्धिलाई हेर्दा दोब्बर खर्च लाग्ने देखिन्छ । कालीगण्डकीका दुवै पुल भारतको सीमा नवलपरासी सुस्ता र चाइना जोड्ने सबैभन्दा छोटो दूरीको भएको बताइएको छ ।

पुल निर्माण थालनी गरी लामो समयसम्म नसक्दा यहाँका स्थानीय बासिन्दाहरु विस्थापित भएर बुटवल, नारायणगढ पुगेको स्थानीय राजन डोटेलले बताए ।

तपाईको प्रतिक्रिया