सञ्चारकर्मी सम्मानित, कृषक पुरस्कृत

समाधान संवाददाता २०७५ फागुन ३० गते ८:४२

समाधान संवाददाता

अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो पाँचौं गाउँसभाका अवसरमा ४ जना सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

समाचार सम्प्रेषणका माध्यमबाट अन्नपूर्ण गाउँपालिकाको समग्र विकास एवं प्रचारप्रसारमा महत्वपूर्ण सहयोग पुर्‍याएको भन्दै रासस गण्डकी प्रदेश कार्यालय पोखराका वासुदेव पौडेल, नेपाल समाचारपत्रका टंकराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका दीपक परियार र आदर्शसमाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेललाई सम्मान गरिएको हो ।

Advertisement

अन्नपूर्ण गाउँपालिकाका हरेक गतिविधिलाई सञ्चारमाध्यमबाट प्रचार प्रसार गरी विशेष सहयोग पुर्‍याएका कारण ४ जना सञ्चारकर्मीलाई सम्मान गरिएको अध्यक्ष युवराज कुँवरले बताए । गाउँसभाका अवसरमा कोदो खेतीप्रति कृषकको आकर्षण बढाउन उत्प्रेरित गर्ने लक्ष्यका साथ गाउँपालिकाका ११ वटै वडाका ३÷३ जना कृषकलाई नगद पुरस्कारसहित पुरस्कृत गरेको छ ।

प्रत्येक वडामा अधिकतम कोदो उत्पादन गर्ने मध्ये पहिलो, दोस्रो र तेस्रो कृषकलाई जनही क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित ३३ जनालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा प्रवीण गुरुङ स्मृति लोकदोहोरी प्रतियोगिता व्यवस्थापन समितिका सदस्यलाई पनि सम्मान गरिएको थियो ।

Advertisement

गाउँसभाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलका अनुसार गाउँपालिकाले आर्थिक ऐन, सहकारी ऐन, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन र विनियोजन ऐन गरी ४ ऐन र विभिन्न १४ वटा कार्यविधि, नियमावली तथा निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया