मार्फास्थित कालीगण्डकी तटबन्ध हस्तान्तरण

समाधान संवाददाता २०७५ फागुन ३० गते ८:५७

सुन्दरकुमार थकाली

मुस्ताङको पर्यटकीय गाउँ मार्फा स्याउ उत्पादनले प्रसिद्ध छ । यहाँको स्याउ नेपाल लगायत अन्य देशमा समेत विशेष ब्रान्ड बनेको छ । उर्वरभूमि न्यून भएपनि यहाँका किसानले स्याउ लगायत अन्य बाली उत्पादन गरेर जीवन धानिरहेका छन् । यसो त पुरै मुस्ताङमा परम्परागत रुपमा स्याउ लगायत अन्य खेती गरिन्छ ।

गतवर्ष मुस्ताङमा ३ दशकपछि कालीगण्डकी नदीमा बहाब उर्लियो । वर्षायामको हिउँ पग्लिएपछि कालीगण्डकी नदीले मुस्ताङको तल्लो भेक जोखिममा परे । कतिपयको खेतीयोग्य जमीनमा क्षति पुर्‍यायो । घरपझोङ गाउँपालिका ५ ढुम्बा र घरपझोङ २ मार्फाका किसान नदी कटानको चपेटामा परे । मार्फा बस्तीको पूर्वतर्फ नदी कटानले खेतीयोग्य जमीनमा क्षति पुर्‍याउँदा मार्फावासी चिन्तित बने ।

Advertisement

जापानिज पूर्व राजदुत एजिमिश्र मासासी ओवामा तत्कालीन समयमा मुस्ताङ भ्रमणमा आउँदा मार्फाली किसानले यही दुखेसो राजदुतसँग पोखे । अनि बन्यो कालीगण्डकी नदी नियन्त्रण आयोजनाको खाका । यसका लागि मार्फाका अगुवा किसान विष्णुराज हिराचन ,वडाअध्यक्ष मानबहादुर विक लगायतको मार्फाली टोली जापानिज दुतावास धाए । आयोजनाको खाका तयारपछि जापनिज सरकारले क्रमागत आर्थिक सहयोग दिने वचनसहित नदी नियन्त्रणको काम अघि बढ्यो ।
जापनिज सरकारको आर्थिक सहयोगमा मार्फा गाउँको पूर्वपट्टि नदी किनारमा करिब ४ सय २० मिटर तटबन्ध सम्पन्न भएको छ । जापनिज सरकारको करिब ९२ लाख, मार्फा गाउँको करिब साढे २० लाख र स्थानीय श्रमदानसहित कुल १ करोड १६ लाखमा तटबन्ध निर्माण भएको निर्माण समितिका अध्यक्ष मानबहादुर विकले जानकारी दिए ।

बुधबार मार्फा सामुदायिक सभाहलमा तटबन्ध आयोजना हस्तान्तरण समारोह आयोजना गरियो । जापनिज राजदुत मासामिची साइगो जापनिज सरकारले मुस्ताङको सुन्दर गाउँ मार्फामा बस्तीको खेतीयोग्य जमीन बचाउन तटबन्ध निर्माणमा सहयोग गर्न पाएको खुसी व्यक्त गरे । उनले कालीगण्डकी नदीका कारण नदी किनाराको खेतीयोग्य जमीन र यहाँका बस्तीहरु जोखिममा रहेको सुनेकोले यहाँ लगानी गरेको खुलाए । ‘जापान सरकारले आर्थिक अनुदान दिएर तटबन्ध बन्यो,’ राजदुत साइगोले भने, ‘अब यसको संरक्षण र हेरचाह गर्ने दायित्व स्थानीय तह र गाउँको हो ।

Advertisement

प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनले मित्र राष्ट्र जापान र नेपालबीचको सम्बन्ध पुरानो भएको बताए । ‘देशका ठूलाठूला आयोजनामा जापान सरकारको सहयोग रहँदै आएको छ, उदयपुर सिमेन्टदेखि गौरवका आयोजनामा जापानले सहयोग गरेको छ,’ सांसद तुलाचनले भने, ‘नेपालको समृद्धि र विकासका लागि जापान सरकारले निस्वार्थ भावले सहयोग पु¥याएको छ, मुस्ताङमा खेतीयोग्य जमीन जोगाउन भएको सहयोग महत्वपूर्ण ठान्छौं ।’ सांसद तुलाचनले दलीय स्वार्थ त्यागेर जिल्लाको हितमा काम गर्न म्ुस्ताङवासी एक हुनुपर्ने सुझाए ।

सहायक प्रमुख जिल्ला अधिकारी विश्वेश्वर रेग्मीले मुस्ताङका लागि जापान सरकारको सहयोगले यहाँका किसानमा आशाको दियो जगाएको बताए । निर्माण समितिका अध्यक्ष मानबहादुर विकले तटबन्ध निर्माण प्रतिवेदन प्रस्तुत गरे । निर्माण समितिका विष्णुराज हिराचनले जापान सरकारबाट यसप्रकार सहयोग रहिरहने अपेक्षा गरे ।

कार्यक्रममा जनवाल माविका विद्यार्थीले स्वागत गान प्रस्तुत गरेका थिए । गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तटबन्ध निर्माण समितिका सदस्य दीपक लालचनले गरेका थिए ।

यसअघि मुस्ताङ आएका जापनिज टोलीले मार्फामा निर्माण गरिएको तटबन्धको अवलोकन गरेका थिए । टोलीले मार्फाको कृषि सम्भावनाका बारेमा स्थानीय किसानसँग अन्तत्र्रिmया गरेको दीपक लालचनले बताए ।

तपाईको प्रतिक्रिया