सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी महेन्द्रपुलबाट हटाइँदै

समाधान संवाददाता २०७५ चैत २ गते ८:२२

विकास रोकामगर

पोखरा महेन्द्रपुलमा चित्र तथा फोटो प्रदर्शन गर्न मिल्ने एउटा ग्यालरी छ । पोखरामा हुने अधिकांश फोटो तथा चित्रकला प्रदर्शनी प्रायः त्यहीँ हुन्छन् । जुन ‘पोखरा आर्ट ग्यालरी’ नाम ले परिचित छ । २०५६ सालमा स्थापना भएको उक्त ग्यालरीप पोखरामा एउटामात्रै सार्वजनिक ग्यालरी हो । उक्त ग्यालरी स्थापना भएको १९ वर्ष भइसकेको छ । एक त महेन्द्रपुलको भीड र हल्ला, त्यसैमाथि भवनसमेत पुरानो भइसकेको छ ।

ग्यालरी छेउमा सार्वजनिक पुस्तकालयसमेत छ । पहिले नै खुलेको भए पनि बीचमा विविध कारणले बन्द भएपछि २०४८ सालमा फेरि ‘पोखरा सार्वजनिक पुस्तकालय’ दर्ता गरेको पुस्तकालयका पूर्व अध्यक्ष कृष्ण बास्तोला बताउँछन् । उनले भने, ‘पोखरा जस्तो ठाउँमा एउटा पनि सार्वजनिक पुस्तकालय नहुनु त्यसमाथि भएको पुस्तकालय पनि बन्द भएपछि हामीले आन्दोलन गरेरै पुस्तकालय खोलेका हौं ।’ अहिले उक्त पुस्तकालयसमेत ‘अपायक ठाउँ’ भइसकेको छ ।
पोखरा महानगरको शुक्रबार बसेको २८ औं कार्यपालिका बैठकले ती दुवै सार्वजनिक महत्वको संरचनालाई महेन्द्रपुलबाट हटाउने निर्णय गरेको छ । जीर्ण र अपायक ठाउँमा भएको भन्दै महानगरले हटाउने निर्णय गरेको प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

Advertisement

‘पुस्तकालय र आर्ट ग्यालरी रहेको भवन पुरानो भइसकेको छ । त्यसमाथि त्यहाँ अनावश्यक भीड र होहल्ला पनि भएपछि हटाउने निर्णय भएको हो,’ नेपालीले भने, ‘अब यसलाई प्रदेश संग्रहालयमा स्थानान्तरण गर्ने भएका छौं । बन्द गर्ने होइन, म्यानेज गर्न लागेका हौं ।’ उनले बहुसंग्रहालयमा सांस्कृतिक ग्राम बनाउने र त्यतै ग्यालरी र पुस्तकालय सारिने बताए ।

संग्रहालयमा बहुसांस्कृतिक ग्राम बनाउन महानगरले चाँडै डिपिआर तयार गर्ने निर्णय भएकोे प्रवक्ता नेपालीले सुनाए । उनले भने, ‘अब महेन्द्रपुलका ती दुवै ग्यालरी र पुस्तकालय भत्काइने छ । र त्यसलाई खाली गरिनेछ ।’ उनले उक्त भवनले सडक साँघुरो बनाएका कारण पनि भत्काउनु जरुरी देखिएको बताए ।

Advertisement

शुक्रबारको कार्यपालिका बैठकमा महानगरको लोगो डिजाइन छनोट गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । प्रवक्ता नेपालीको संयोजकत्वमा बनेको समितिले छानिएको लोगोमा केही संसोधन गर्न सुझावसहित प्रतिवेदन बुझाएको जनाएको छ । ‘हामीले लोगो छनोट गरेर त्यसमा सूक्ष्म संशोधन गर्न सुझावसहित प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भने, ‘ लोगो संसोधन भएर आइसकेपछि महानगरपालिकाले सार्वजनिक गर्नेछ ।’

केही समय पहिलेदेखि महानगरका वडा कार्यालयमा चोरी हुँदैछन् । १ हप्ता अघिमात्रै पोखरा १३ वडा कार्यालयमा चोरी भएको थियो । त्यसभन्दा अघि पोखरा ५ र १५ वडा कार्यालयमा चोरी भएका थिए । रातको समयमा भएका ती चोरीले वडा कार्यालयले लाखौंको क्षति व्यहोर्नुपरेको छ । महानगरको शुक्रबारको कार्यपालिका बैठकले अबदेखि सबै वडा कार्यालयको सुरक्षा बढाउने निर्णय गरेको छ । प्रत्येक वडा कार्यालयको सुरक्षा गर्न रातको समयमा पनि कर्मचारी खटाउने निर्णय भएको प्रवक्ता नेपालीले सुनाए ।

महानगरले कार्यपालिका सदस्यको पोसाक बनाउने भएको छ । ‘कर्मचारी र जनप्रतिनिधि छुट्याउनै गाह्रो भो । त्यही भएर कार्यपालिका सदस्यलाई छुट्टै ड्रेसकोड बनाउने निर्णय भएको छ,’ प्रवक्ता नेपालीले भने । उनले आगामी आर्थिक वर्षका लागि बजेट स्रोत अनुमान तथा बजेट सीमा निर्धारण कार्यसमेत सुरु गर्न कार्यपालिका बैठकले निर्णय गरेको बताए ।

कार्यपालिका बैठकले महानगरको मातहतमा रहेका अस्पताललाई अनुगमन तथा नियमन गर्न बनेको अस्पताल व्यवस्थापन ऐन र पशु विकास ऐनसमेत पारित गरेको छ । पोखरामा चल्ने बसमा इटिकेटिङ सुरु गर्न निजि क्षेत्रसँग अध्धयन गरेर सैद्धान्तिक सहमति दिने निर्णय पनि महानगर कार्यपालिका बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया