को हो त्यो चोर ? जसले एकपछि अर्काे वडा कार्यालय फोर्दैछ

समाधान संवाददाता २०७५ चैत ६ गते ९:१०

सुरेशराज अधिकारी

पोखरा महानगरपालिकाका वडा कार्यालयमा पछिल्लो समय चोरी बढेको छ । कहिले दिनकै अन्तरमा त कहिले महिना अन्तरमा चोरी भएका छन् । लगभग ७ महिनाभित्रमा पोखरा महागनरका ६ वटा वडामा चोरी भएको छ ।

घटना १
पोखरा १५ को वडा कार्यालयमा गत भदौको पहिलो सातामा चोरी भएको अध्यक्ष प्रकाश पौडेल बताउँछन् । उक्त वडामा दानपेटिका र १ कम्प्युटरको मोनिटर चोरी भएको थियो । चोरी भएपछि हातको छापसमेत प्रहरीले पीरक्षणको लागि लिएको थियो तर अहिलेसम्म चोर पत्ता लगाउन सकेको छैन ।

Advertisement

घटना २
मंसिरको अन्तिम सातामा पोखरा १४ को वडा कार्यालयमा चोरी भएको थियो । त्यहाँबाट चोरले २ थान कम्प्युटर चोरेको वडाध्यक्ष प्रेमबहादुर कार्की बताउँछन् । चोरीको शंकामा प्रहरीले १ जनालाई नियन्त्रण्मा लिएर अनुसन्धान गरे पनि अहिलेसम्म चोर पक्राउ परेको छैन । अनुसन्धानमा लिएका व्यक्तिलाई सोधपुछपछि छोडेको छ ।

घटना ३
पोखरा २९ को वडा कार्यालयमा यस्तै घटना दोहोरियो पुस १४ गते । चोरले ४ वटा कम्प्युर लगेको वडाध्यक्ष चेतबहादुर गुरुङ बताउँछन् । उनका अनुसार दराजहरु फोरेको भए पनि सामान भने लगेको थिएन । उक्त घटनाको पनि चोर अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन ।

Advertisement

घटना ४
सामुदायिक प्रहरी चौकी माटेपानी नजिक रहेको पोखरा १२ को वडा कार्यालयमा लगभग २ महिना अगाडि चोरी भएको वडाध्यक्ष रामबहादुर कार्की बताउँछन् । चोरले १ थान कम्प्युटर लगेको उनको भनाइ छ । उक्त घटनाबारे प्रहरीलाई जानकारी भए चोर पक्राउ परेको छैन ।

घटना ५
पोखरा ५ को वडा कार्यालयमा फागुनको १ गते चोरी भएको थियो । वडाध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीले उक्त वडामा १ थान ल्यापटप, ४ थान कम्प्युटर र २ वटा सिपियु चोरी भएको बताए । वडामा चोरी गर्नेको सिसिटीभिको भिडियासहित उजुरी वडा प्रहरी कार्यालय बैदाममा दिएका थिए । भिडियोमा नै चोरले ल्यापटप झोलामा हालेको प्रस्ट देखिन्छ । तर अहिलेसम्म चोर भने पक्राउ परेको छैन ।

घटना ६
पोखरा १३ को वडा कार्यालयमा फागुन २३ गते बिहीबार राति चोरी भयो । सम्पूर्ण काम कम्प्युटराइज्ड भएको उक्त वडामा राति करिब १० बजे चोरी भएको वडाध्यक्ष दर्शन लामाले जानकारी दिए । चोरले वडा कार्यालयबाट ४ वटा मनिटर, २ वटा सीपियु, २ वटा प्रिन्टर, २ वटा सिसी क्यामरा र २ वटा मल्टिप्लग लगेको उनले बताए । सिसिटिभी क्यामेरामा चोर देखिएको छ । प्रहरीले उक्त सिसिटिभी फुटेज लिएको छ । चोरीपछि शुक्रबार नै वडा प्रहरी कार्यालय रामबजारमा उजुरी दिइसकिएकोे थियो ।

‘चोरी गर्ने एउटै हुनसक्छ ’
पोखरा महानगरपालिका वडा ५ र १३ वडामा सिसिटिभीले कैद गरेको भिडियोमा हेर्दा चोरको शारीरिक बनोट उस्तै देखिएको प्रहरी स्रोतको दाबी छ । अनुसन्धानमा खटिएका १ प्रहरीका अनुसार दुवै भिडियोमा कैद भएको चोरको हाउभाउ छ । प्रहरीले सबै वडाको चोर एउटै हुनसक्ने अनुमान गरेको स्रोतले बताउँछ ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा बुधबार उपस्थित वडाध्यक्षसँग छलफल कार्यक्रममा पनि सोही विषय उठेको थियो । पछिल्लो समयमा चोरले वडा कार्यालयबाट चोरेले कम्प्युटरभन्दा कम्प्युटरमा भएका डाटा चोरी हुनु खतरा भएकोे वडाध्यक्षको गुनासो थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएपी रवीन्द्रमान गुरुङले धेरै वडामा चोरी हुनु गहन विषय रहेको बताए । उनले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

तपाईको प्रतिक्रिया