रिपाेर्टर डायरीः मन्त्रीको अघिपछि कार्यकर्ताको लाजमर्दाे चाकडी
अमृत सुवेदी
१ पार्टीका कार्यकर्ताले चिया गफमा भने, ‘यहाँ राजनीति गर्न र म केही हुँ भनेर देखाउन २० जना जति मान्छे भए पुग्छ । उनका आफ्नै ३ तरिका थिए । पहिलो केन्द्रको १ जना नेतासँग सम्बन्ध जोड्ने । दोस्रो प्रदेशका शक्ति भएका मन्त्रीसँग नजिक हुने । र तेस्रो केन्द्रीय नेता, मन्त्री जिल्ला वा आफ्नो ठाउँमा आउँदा १०-१५ जना कार्यकर्ता लिएर स्वागत गर्न जाने र अघिपछि हिँड्ने ।
हुन पनि यहाँ त्यस्तै राजनीतिक संस्कारको विकास भइरहेको छ । विचार, सिद्धान्त र तर्क नभए पनि एउटा समूह बनाएर केन्द्रीय नेता र मन्त्रीका अघिपछि हिँड्ने, फोटो खिचेर फेसबुकमा पोस्ट गरेपछि बस नेता भइहालियो ।
हालैको यात्रामा नेता, कार्यकर्ताको यस्तै मनोविज्ञान देखियो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ शुक्रबार तनहुँ देवघाट गाउँपालिकाको छरछरेमा भएको सांस्कृतिक उत्सवसहितको पर्यटन मेला उद्घाटनमा जाँदै थिए । मन्त्री गुरुङ दासढुंगा पुग्दा केही नेता कार्यकर्ता कुरेर बसेका थिए । दासढुंगा र तनहुँको देवघाट जोड्ने पुलवरै नेता कार्यकर्ताले गाडी रोके । उनीहरुले खल्तीबाट माला र खादा निकाले गाडी भित्रैका मन्त्री गुरुङलाई लगाइदिँदै स्वागत गरे, शीर निहुर्याउँदै नमस्कार ठोके ।
मन्त्री गुरुङ भने असजिलो मानिरहेका थिए । केही तल फेरि २ जना दौडिँदै आइपुगे । गाडी रोके र हतार–हतार खल्तीबाट खादा निकालेर लगाइदिए । गुरुङका निम्ति पुल कट्नेबित्तिकै शुभचिन्तकले खानाको व्यवस्था मिलाएका थिए । मन्त्री गुरुङ गाडीबाट ओर्लिनासाथ गाउँपालिका अध्यक्षदेखि नेकपाका कार्यकर्तासम्मले घेरे । के कुरा भन्दा र आतिथ्यतामा के टक््रयाउँदा मन्त्री खुसी बनाउन सकिन्छ भन्ने आसय वरिपरि बस्नेहरुको गतिविधिबाट झल्किन्थ्यो ।
छरछरे मेला उद्घाटनसँगै निर्माणाधीन शालिग्राम करिडोर निरीक्षण गर्ने मन्त्री गुरुङको कार्यक्रम थियो । प्रदेश सरकारले छुट्याएको १ करोड रुपैयाँबाट काम हुँदै थियो । देवघाटदेखि मुक्तिनाथसम्मै जोड्ने प्रदेश गौरवको आयोजनामध्येको शालिग्राम करिडोर जोड्न डेढ किलोमिटरमात्रै बाँकी छ ।
तर, छरछरे झरनाभन्दा माथि बडेमानको बञ्चरे भीरले निर्माण अवरोध गरेको थियो । अर्थमन्त्री गुरुङ कसरी तत्काल काम अगाडि बढाउन सकिन्छ भनेर निरीक्षणमा थिए । मन्त्रीका अघिपछि नेता, कार्यकर्ता र शुभेच्छुकको दौडादौड चल्यो । मानौं कि मन्त्री एउटा यस्तो क्षमता लिएर गएका छन्, तत्कालै बञ्चरे भीर हटाएर करिडोर खुलाइहाल्छन् ।
मन्त्री गुरुङले गाउँपालिका अध्यक्ष लगायतसँग त्यहाँको वस्तुस्थिति बुझे । मन्त्रीको जिज्ञासा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा थापासमेतलाई उछिनेर जानकारी गराउनेको कमी रहेन । मन्त्री गुरुङले करिडोर निर्माण अघि बढाउन प्रदेश सरकारले छलफल गरेर एक्सन लिने बताए ।
जनताले चुनेर पठाएका जनप्रतिनिधिसँग चासो र आकर्षण हुनु स्वाभाविकै होला तर मन्त्रीलाई ज्यूहजुर गर्नेको लस्कर उदेक लाग्दो नै थियो । गाउँको अर्गानिक स्वाद पस्किएर भएको मौलिक पर्यटन महोत्सवको उद्घाटनमा मन्त्री जानु स्वाभाविकै होला । छरछरे झरनामा क्यानोनिङको परीक्षण गराउन मन्त्री गुरुङ आफैले गाइड लिएर गएका थिए ।
स्थानीयको उत्साह भर्दै क्यानोनिङको सफल परीक्षण भयो । स्थानीय उत्साहित भए । औपचारिक कार्यक्रम सुरु भयो । कार्यक्रममात्रै सुरु भएन मन्त्रीको गुणगान पनि भइरह्यो । मन्त्रीज्यू यस्तो, उस्तो भन्ने प्रशंसाका शब्दहरु खनिइरहे ।
कुनै न कुनै संस्थाको पदमा रहेकालाई मञ्चमा आसन चाहिने र मञ्चमा भएका जति सबैले बोल्नै पर्ने कुरुप संस्कार त जुनसुकै कार्यक्रममा पनि नदोहोरिने कुरै भएन । वाक्क मानेर दर्शकदीर्घा खाली भइसक्दा पनि नबुझेर चर्की–चर्की पट्यार लाग्दो भाषण गरिराख्ने मनोरोगबाट ग्रसित भएकाहरुको संख्या त्यहाँ पनि कमी भएन ।
मन्त्रीलगायत विशिष्ट व्यक्ति कार्यक्रममा पुग्दा को नजिक छ भनेर देखाउने नेता कार्यकर्ताको होड नै चल्छ । त्यो कार्यक्रममा पनि देखियो । शुक्रबारको कार्यक्रममा मन्त्री गुरुङले यस्तो भद्दा कुराको सिको नगर्न मुख नै फोरे । ‘के ठिक हो भन्ने नबुझी, नखोजी हामीले नचाहिने संस्कारको विकास गरिरहेका छौं । यसलाई त्याग्नुपर्छ,’ मन्त्री गुरुङले कड्केर भने ।
त्योभन्दा पनि रोचक अर्को दृश्य शनिबार दिउँसो देखियो । मन्त्री गुरुङ बिहान देवघाटधाम घुम्ने र त्यहीँको आश्रममा बटुकहरुसँगै खाना खाने योजनामा थिए । तर, त्यो योजना अघिल्लो दिन नै तुहियो । बिहान देवघाटधाम घुम्ने, छलफल गर्ने तर खाना चाहिँ पिकनिकमा खाने गरी स्थानीय नेता कार्यकर्ताले कार्यक्रम तालिका बनाए । स्थानीय समूहले गरेको पिकनिकमा जाँदा सबैसँग भेटघाट पनि हुने, मन्त्री आए भन्ने पनि पर्ने भनेर गुरुङले समय मिलाए ।
देवघाट घुम्दै त्यहाँको विकास समितिसँग छलफल गरी मन्त्रीसहितको टोली पिकनिकस्थलतिर हानियो । पिकनिकस्थलमा माला, खादा लिएर मन्त्रीको स्वागतमा स्थानीय तम्तयार थिए । मन्त्री पुग्नेबित्तिकै सुरु भयो औपचारिक पिकनिक उद्घाटन कार्यक्रम । माला, खादा, आसन ग्रहणको लर्को, स्वागत, तालीको आह्वानको भुत्ते शैलीसँगै भाषणको शृंखला सुरु भयो ।
प्रमुख अतिथिको बोल्ने पालो भएपछि मन्त्री गुरुङले माइक समाते र कड्किए । मन्त्रीले भने, ‘पिकनिक भनिएको छ । फेरि यहाँ पनि औपचारिक कार्यक्रम । सबैलाई आसन ग्रहण गराउनै पर्ने, खादामाला ओढाउनै पर्ने, अतिथि र प्रमुख अतिथि बनाउनै पर्ने, जतिसक्दो लामो बोल्नै पर्ने, अगाडि २ जना हुँदैन भाषण गर्नै पर्ने यो तरिका त्याग्नुपर्छ । नेता र मन्त्री आएपछि आर्थिक सहयोग माग्नै पर्ने र जतिसक्दो धेरै आर्थिक सहयोग गर्छु भनेर बोलिदिओस् भन्ठान्ने । अनि नेतादेखि मन्त्रीसम्मले म यो गर्छु, त्यो गर्छु भन्नुपर्ने र पछि आर्थिक सहयोग नमिलेपछि फेरि आलोचना गर्ने, गाली गर्ने । यस्तो संस्कारकै कारण नेपालमा राजनीतिक दल र नेताको बद्नाम भइराखेको छ । पिकनिकमा यस्तो लम्बेतान कार्यक्रम किन गर्नुपर्यो ? खाने कुरा खाएपछि पिकनिक उद्घाटन भइहाल्यो नि ।’
मन्त्री कड्किएपछि आयोजकको अनुहारको रङ अँध्यारो बन्यो । नेपाली राजनीतिक संस्कार बिग्रनुमा राजनीतिक दल र तीनका नेताको मात्रै होइन कार्यकर्ता र जनताको पनि हात रहेको मन्त्री गुरुङको भनाइ थियो । त्यही पिकनिकमा मन्त्री भाषण नगर्ने पक्षमा थिए । तर यस्तो आसन र भाषणको संस्कार पिकनिकमा मात्रै कहाँ हुन्छ र ? रक्तदान कार्यक्रम आयोजना ग¥यो अनि बन्यो सभापति, बनायो प्रमुख अतिथि र ग¥यो भाषण । सरसफाइ भनेर हातमा झाडु लगाउनेभन्दा धेरै समय फेरि भाषण र आसनमै खर्चियो । १ हजार सहयोग हस्तान्तरण गर्यो, अनि फेरि भाषण छाँट्यो । बेथितिको यस्तो सूची धेरै लामो हुन्छ ।
एकातर्फ दलका नेता र मन्त्री साना कार्यक्रममा पनि उद्घाटन गर्न पुग्नेपर्ने, फूलमाला, खादा र भाषणको लालसा र अर्कोतर्फ कार्यकर्ता र सर्वसाधारणको यस्तै शैलीले राजनीतिक तथा सामाजिक संस्कार कुरुप बनिरहेको छ । चाकडीका खातिर नेता र मन्त्रीका निधारसम्म छोपिने गरी भारीका भारी खादा माला लगाइदिने विद्रुप दृश्य देख्नेले नै लाज मान्नुपर्ने स्थिति छ । राजनीतिक दलका नेताका कारणमात्रै होइन, कार्यकर्ता र सार्वसाधारणको हनुमानशैली र भुत्ते संस्कारका कारण पनि नेपाली राजनीति बद्नाम भएको पुष्टि यी दृश्यले गरेका छन् ।
तपाईको प्रतिक्रिया