पोखरीबाटै माछा बिक्री

समाधान संवाददाता २०७५ चैत ७ गते ९:०७

दमौली,कृष्ण न्यौपाने

तनहुँको व्यास नगरपालिका २ दमौलीका चन्द्र कायस्थ मंगलबार बिहान ९ बजे नै म्याग्दे गाउँपालिका ४ बडहरेमा रहेको माछापोखरी पुगे । पोखरीबाट माछा निकाल्ने तयारी गरिएको जानकारी पाएलगत्तै उनी र दमौलीकै कृष्ण रुचाल त्यहाँ पुगेका हुन् ।

उनीहरु माछापोखरी पुग्दा सञ्चालक गणेशकुमार श्रेष्ठसहित स्थानीय गाउँले पोखरीबाट माछा निकाल्न व्यस्त थिए । करिब २ घण्टा लगाएर पोखरीबाट माछा निकालेपछि कायस्थले १० र रुचालले १० केजी माछा किने । कायस्थ र रुचालमात्रै होइन, पोखरीबाट माछा निकाल्ने थाहा पाएपछि अन्य ग्राहकसमेत माछा खरिद गर्नका लागि पोखरीमै पुगेका थिए ।

Advertisement

कायस्थले पोखरीको माछा मीठो हुने भएकाले आफूले सँधै यहाँबाटै माछा खरिद गर्ने गरेको बताए । दमौलीका अरुले समेत माछा ल्याइदिन आग्रह गरेपछि धेरै माछा खरिद गरेर लैजाने गरेको उनले जानकारी दिए । उनले भने, ‘चार÷पाँच जनाले माछा ल्याइदिन अनुरोध गरेर पैसा दिनुभएको थियो । मैले आफूलाई सहित १० केजी माछा किनें ।’

सञ्चालक गणेशकुमार श्रेष्ठले मंगलबार पोखरीबाटै १ सय केजी माछा बिक्री भएको जानकारी दिए । उनले भने, ‘माछा कहिले निकाल्ने भनेर सोध्छन्, मैले जुन दिन निकाल्ने भनेर खबर गर्छु पोखरीमै आइपुग्छन् ।’ माछा खरिद गर्न आउनेलाई रित्तो हात फर्काउनुपरेको उल्लेख गर्दै उनले भने, ‘सबै माछा बिक्री हुन्छ जस्तो लागेको थिएन, थुप्रैलाई माछा पुर्‍याउन सकिनँ ।’

Advertisement

उनले पोखरीबाटै प्रति केजी ४ सयमा माछा बिक्री गर्दै आएका छन् । माछाका लागि बजारको समस्या नरहेको भन्दै उनले कुनै समयमा त माछाको माग पु¥याउनै नसकेको बताए । उनले भने, ‘माछा बिक्री गर्दै बजारसम्म जानुपर्ने अवस्था छैन, पोखरीबाटै हारालुछ हुन्छ ।’ श्रेष्ठले २० रोपनीमा ३ वटा पोखरी निर्माण गरी माछापालन गरेका छन् । पोखरीमा रहु, कमन, ग्रास, नैनी जातका माछा छन् । वार्षिक १० लाख भन्दा बढीका माछा उनले बेच्ने गरेका छन् । उनलाई छोरा भीष्मले पनि सघाइरहेका छन् ।

तपाईको प्रतिक्रिया