नेपाल फाइनलमा पराजित, ५ औं पटक भारत साफ च्याम्पियन

समाधान संवाददाता २०७५ चैत ९ गते ९:०८

समाधान

नेपाल लगातार ५ औं पटक साफ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै आएको छ । ५ औं साफ महिला च्याम्पियनसिपको उपविजेतामा सिमित बनेसँगै भारतसँग पराजित भएको हो । विराटनगरस्थित शहिद रंगशालामा भारतले नेपाललाई ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । यससँगै भारत लगातार ५ औं पटक च्याम्पियन बन्यो ।

नेपाल सबै संस्करणमा भारतसँग पराजित हुन पुग्यो । अघिल्लो संस्करणको सेमिफाइनलमा हार भोगेको नेपालले सुरुआती ३ संस्करणमा भारतसँग नै हार व्यहोर्दै आएको छ । निकै नै रोमाञ्चक बनेको खेलमा भारतलाई जिताउन डालिमा छिब्बर, ग्रेस दाङमेइ र अन्जु तामाङले गोल गरिन् । नेपालकी सावित्रा भण्डारीले १ गोल फर्काइन् ।

Advertisement

खेलको २६ औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो । हिराकुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् ।

३३ औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् । उनले फ्लिक हेडर गर्दै गोलरक्षक अदीति चौहानले रोक्न सकिनन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्राले अग्रता दिलाउने सुन्दर अवसर खेर फालिन् । सुरुआतको प्रहार अदीतिले रोकेपनि दोस्रो प्रहार भने पोस्ट नजिक पुग्न सकेन ।

Advertisement

दोस्रो हाफमा नेपालले पहिलो हाफमा जस्तो दोस्रो हाफमा खेल्न नसक्दा पराजित हुन पुग्यो । ६३ औं मिनेटमा सन्धियाको पासमा ग्रेस दाङमेईले गोल गरेपछि नेपाल खेलमा २–१ ले पछि परेको थियो । उनले एकल प्रयासमा गोल गर्दै भारतलाई अग्रता दिलाइन् । ७८ औं मिनेटमा वैकल्पिक अन्जु तामाङले गोल गरेपछि नेपालको आशा समाप्त भएको थियो । नेपाल चौथोपटक फाइनलमा पराजित भएको हो ।

तपाईको प्रतिक्रिया