एसइईमा तनहुँमा १ मात्र महिला केन्द्राध्यक्ष

समाधान संवाददाता २०७५ चैत ९ गते १०:१२

सांकेतिक तस्विर

समाधान संवाददाता

चैत १० गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा तनहुँमा १ जना महिला मात्रै केन्द्राध्यक्ष तोकिएकी छन् । जिल्ला शिक्षा तथा समन्वय इकाई तनहँुका अनुसार आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा सरितादेवी पौडेल केन्द्राध्यक्ष तोकिएकी हुन् ।

Advertisement

समन्वय इकाईका प्रमुख दामोदर आचार्यले सोही विद्यालयको माध्यमिक तहको शिक्षक पौडेललाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको जानकारी दिए ।
जिल्लाको २४ वटै परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत १५ वटा र निर्वाचन क्षेत्र नं २ अन्तर्गत ९ वटा परीक्षा केन्द्र निर्धारण भएको छ ।

आचार्यका अनुसार प्रश्नपत्र नजिकको प्रहरी कार्यालयमा पु¥याइसकिएको छ भने उत्तरपुस्तिका सम्बद्ध केन्द्रमा पुगिसकेको छ । परीक्षालाई मर्यादित बनाउन परीक्षा केन्द्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछन् । साथै विद्यालयको प्रवेशद्वारमा विद्यार्थीको चेकजाँच गरिनेछ भने मोवाइल परीक्षा केन्द्रमा लैजान निषेध गरिएको आचार्यले जानकारी दिए ।

Advertisement

उनले परीक्षा केन्द्रमा पुगेर स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा इकाईका प्रमुख, जिल्ला परीक्षा समन्वय समितिका पदाधिकारी, शिक्षक, युनियनका अध्यक्ष र उपाध्यक्षले निरीक्षण गर्न सक्ने जानकारी दिए । इकाईका अनुसार विद्यालयमा ७५ प्रतिशत न्यूनतम हाजिरी नपुगेका ६६ विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । उनका अनुसार एसइइमा सहभागी हुन विद्यालयमा न्यूनतम ७५ प्रतिशत उपस्थित भएको हुनुपर्ने प्रावधान छ ।

इकाईका अनुसार यस वर्ष जिल्लाबाट नियमिततर्फ ६ हजार २ सय २८ र ग्रेडवृद्धितर्फ ६३ सहित ६ हजार २ सय ९१ परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षामा २४ जना केन्द्राध्यक्ष, ४१ जना सहायक केन्द्राध्यक्ष, ३ सय १८ जना निरीक्षक, ६४ जना परीक्षा सहायक, १ सय २७ जना सहयोगी कर्मचारी र आवश्यकता अनुसार सुरक्षाकर्मी खटिनेछन् ।

प्रश्नपत्रको गोपनीयता भंग गरेमा, परीक्षा केन्द्रमा सम्बन्धित पदाधिकारीको स्वीकृती बिना प्रवेश गरेमा वा प्रवेश गर्ने प्रयत्न गरेमा, परीक्षा केन्द्र नियन्त्रणमा लिई अमर्यादित कार्य गरेमा कसुरको मात्रा हेरी एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था शिक्षा ऐन, नियमावली तथा परीक्षा सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको छ ।

साथै परीक्षार्थीले कुनै किसिमको अनियमित र अनुशासनहीन कार्य गरेमा पूरै परीक्षा रद्द गरी अर्को एक वर्षसम्म सो परीक्षा दिन नपाउने गरी कारवाही गर्न सकिने तथा परीक्षामा अनियमित कार्य गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्कालै हटाई विभागीय कारवाही हुनेछ ।

तपाईको प्रतिक्रिया