कृष्णदास महाराजलाई नागरिक अभिनन्दन

समाधान संवाददाता २०७५ चैत १० गते ७:५२

समाधान संवाददाता

पोखरा, ९ चैतजगद्गुरु रामानन्दाचार्य पद विभूषित महायोगी सिद्वबाबा श्री १००८ डा श्रीवैष्णव कृष्णदास महाराजलाई पोखरामा शनिबार नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन मूल समारोह समितिले पोखराको प्रदर्शनी केन्द्रमा कार्यक्रम गरी उनलाई अभिनन्दन गरेको हो ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नागरिक अभिनन्दन मूल समारोह समिति संयोजक शुक्रराज शर्माले उनलाई नागरिक अभिनन्दन गरेका थिए । उनलाई करिब १ सय सामाजिक तथा धार्मिक संस्थाले अभिनन्दन गरे ।

Advertisement

व्यक्ति, समाज, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृतिको उत्थान एवं पाशुपत सिद्व महायोगको माध्यमबाट जनजीवनमा योगदान पुर्‍याएकोमा उनलाई अभिनन्दन गरिएको हो । नागरिक अभिनन्दनअघि कृष्णदासलाई बाजागाजा र धार्मिक झाँकीसहित रथयात्रा गरी पोखराका विभिन्न स्थान परिक्रमा गराइएको प्रचार संयोजक नवीन सिग्देलले बताए ।

नारायणस्थान मन्दिरमा पूजाअर्चनापछि सुरु भएको रथयात्रा महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, पृथ्वीचोक हुँदै प्रदर्शनी केन्द्र पुगेको थियो । रथयात्रामा आमा समूह र धार्मिक तथा सामाजिक संघसंस्थाको सहभागिता थियो । कृष्णदास महाराजले मुलुकलाई आत्मनिर्भर र स्वाभिमान बनाउन आवश्यक रहेको बताए । उनले नेपाल धर्तिको स्वर्ग भएको उल्लेख गरे ।

Advertisement

विन्ध्यवासिनी मन्दिरका पीठाधीश्वर श्री १००८ स्वामी निशेषान्नद महाराजले धेरै जन्मको पुण्यपछि मात्रै जगत्गुरु बन्न पाइने बताए । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले मानवीय जीवन कता जाने भन्ने कुरामा संगतको ठूलो प्रभाव हुने गरेको बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सांस्कृतिक सहअस्तित्व जरुरी भएको बताए । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक शुक्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सिद्वबाबा आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डितले स्वागत, नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीले धन्यवाद र सचिव धर्मराज बराल (भोला)ले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया