अत्यावश्यक खाद्य प्रयोगशाला

समाधान संवाददाता २०७५ चैत १५ गते १३:०६

प्रशासन, खाद्य तथा गुण नियन्त्रण र उपभोक्तासमेतले मंगलबार पोखराको बजार अनुगमन गर्दा चल्तीका रेस्टुरेन्टहरुमै अखाद्य वस्तु भेटियो । आँगन रेस्टुरेन्ट र माडवारी भोजनालय स्थापित ब्रान्ड किन पनि हुन् भने यिनले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्दैनन्, गुणस्तरमा सम्झौता गर्दैनन् भन्ने छाप छ ।

तर तिनै रेस्टुरेन्टमा अखाद्य तेल प्रयोग भएको अनुगमनका क्रममा भेटिएको छ । नेपाल सरकारले हालै किनेको प्रयोगशालायुक्त गाडीसहित गएको टोलीले ठाउँको ठावै खाद्यवस्तुको गुणस्तर जाँच्यो र पत्ता लगायो कि ती रेस्टुरेन्टका खाना पनि गुणस्तरयुक्त छैनन् । भान्छा फोहोर भेटियो ।

पटकपटक एउटै तेलमा खानेकुरा पकाएको पनि ती रेस्टुरेन्टमा भेटियो । त्यस्तो तेल विषाक्त भइसकेको हुन्छ, जुन पटकपटक तताइन्छ । त्यस्तो तेलमा पकाएको खानेकुरा खाँदा ग्यास्ट्रिक हुने, भोक नलाग्ने समस्या हुने र जण्डिसै हुने पनि जानकार तथा विज्ञहरु बताउँछन् । चल्तीकै रेस्टुरेन्टको हालत त्यस्तो भेटिन्छ भने अरुअरुको अवस्था के होला ? पटकपटकका अनुगमनमा पोखराका थुप्रै रेस्टुरेन्टमा त्यस्तो लापरवाही भेटिएको छ ।

Advertisement

उपभोक्ता पनि समाचार सुन्छन्, फेरि तिनै रेस्टुरेन्टमा धाइरहन्छन्, खाइरहन्छन् । त्यही कारण पनि सञ्चालकहरुले गुणस्तरमा ध्यान दिन कन्जुस्याइँ गरेका हुन् । सबैभन्दा पहिला त उपभोक्ता सचेत नभएसम्म त्यस्ता रेस्टुरेन्ट वा होटल वा खाद्यपदार्थ उत्पादकको मनोबल घट्दैन ।

अर्काेतिर बजार अनुगमन हुने र सामान्य कारबाही गरेर छाडिने प्रवृत्ति छ । त्यही कारण उत्पादक तथा सेवा प्रदायकहरुले लापरबाही गरेको गर्‍यै छन् । घुम्ती प्रयोगशाला आयो, प्रचारमूलक शैलीमा अनुगमन भयो । सक्कियो । अनुगमन त्यसरी हुनुहुँदैन । बजार अनुगमन त दिनहुँ हुन जरुरी छ । उद्योग अनुगमन हुन जरुरी छ । होटल अनुगमन जरुरी छ । हस्पिटल अनुगमन जरुरी छ । स्कुल अनुगमन जरुरी छ । पसल पसल अनुगमन जरुरी छ । यहाँ उपभोक्ता नठगिएका ठावै छैनन् । लहडका भरमा र यसो अनुगमन हुन्छ है भनेर देखाउन गरिने अनुगमनले नतिजा दिँदैनन् ।

Advertisement

खाद्य प्रयोगशाला पोखरामै छैनन् । खाद्यवस्तु जाँच्न बुटवल त कहिले काठमाडौं पठाउनुपर्छ । अब संघ सरकारको मात्रै भर परेर हुँदैन । प्रदेश सरकारले प्रयोगशालायुक्त गाडी आफैंले किनेर खटाउन सक्नुपर्छ ।

एउटा किन दुइटा त्यस्ता गाडी किने पनि हुन्छ । ११ जिल्लामा प्रत्येक दिन अनुगमन गर्न सकिन्छ । एकातिर उपभोक्ताको सचेतना पनि अनुगमनले बढाउँछ । अर्काेतिर वस्तु तथा सेवा प्रदायकलाई उत्तरदायी बनाउँछ । खाद्य वस्तुमा ठगी गर्नु र त्यो पनि गुणस्तरमा ! त्यो साह्रै ठूलो पाप हो । मानव स्वास्थ्य र जीवनसँगकै खेलवाड हो । त्यस्तो छुट कसैले पाउनु हुँदैन । बजारमा थिति बसाल्नुपर्छ ।

तपाईको प्रतिक्रिया