गाइड र भरियाको काम सिक्न ६१ घन्टा

समाधान संवाददाता २०७५ चैत १६ गते ९:२४

समाधान संवाददाता

पदयात्रा व्यवसायीको संगठित संस्था ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चलले २ सय जनालाई ट्रेकिङ गाइड एन्ड पोर्टर तालिम प्रदान गरेको छ ।

नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लगायतका संघ–संस्थाको सहयोग र टानको आयोजनामा भएको ६१ घन्टे अर्थात १० दिने तालिमको शुक्रबारसमापन गर्‍यो ।

Advertisement

तालिममा सहभागी २ सयजनालाई गण्डकी प्रदेशका पर्यटन उद्योग तथा वन मन्त्री विकास लम्सालले प्रमाणपत्र वितरण गरे । मन्त्री लम्सालले गण्डकी प्रदेशले आन्तरिक भ्रमण वर्ष २०१९ मनाइरहँदा पदयात्रा पर्यटनको प्रवद्र्धन र विकासका लागि गाइड एन्ड पोर्टरको महत्वपूर्ण भूमिका हुने बताए । उनले पर्यटन विकासका लागि निजी क्षेत्र र सरकारका साझा एजेण्डा हुनुपर्ने उल्लेख गरे । ‘समस्या धेरै छन् तर न्यूनीकरणका लागि सबै जुटौं, पर्यटन विकासका लागि गुनासो हैन अब योजना लिएर आउनुस्,’ मन्त्री लम्सालले भने । उनले गण्डकी प्रदेश पर्यटनको आधार भएकाले यस सम्बन्धी पढाइका लागि पर्यटन विश्वविद्यालयको स्थापनाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटक गाइड र पोर्टरबिना हिँड्दा धेरै जोखिम बढेको भन्दै तालिम प्राप्त गाइड र पोर्टरबाट देशमै रोजगारको सिर्जना हुने र पदयात्रा क्षेत्रको सुरक्षाको चुनौती घट्ने विश्वास व्यक्त गरे ।

Advertisement

पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल पर्यटन विकासका लागि निजी क्षेत्र र सरकार सँगैसँगै हिँडेमात्रै अपेक्षित उद्देश्य हासिल गर्न सकिने बताए । पर्यटनको वास्तविक समस्याको पहिचान गर्न सरकार असफल भइरहेको भन्दै भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको गुनासोलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो ।

टानका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धन विभागका संयोजक टीकाराम सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा टानले गरेको पर्यटन प्रवद्र्धनका गतिविधिबारे जानकारी गराए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पर्यटनको दिगो विकासका लागि विशेष योजनासहित अघि बढ्नुपर्ने धारणा राखे । मिडियाले सधै पर्यटन विकासका लागि सकारात्मक भूमिका खेलिरहेको उनको भनाइ थियो । सहभागिको तर्फबाट शोभासिंह भण्डारीले तालिम पश्चात आत्मविश्वास बढेको सुनाइन् । उनले अब देशका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने आफ्नो र आफूजस्तै साथीहरुको व्यावसायिक रहर पूरा भएको बताइन् ।

टानका अध्यक्ष हरि भुजेलले पदयात्रा क्षेत्रमा तालिम प्राप्त गाइड एण्ड पोर्टरको अभावमा धेरै चुनौती देखिएको भन्दै न्यूनीकरणका लागि तालिम प्रदान गरिएको प्रष्ट पारे । विदेशी पर्यटक एक्लाएक्लै आफू खुसी पदयात्रामा हिँड्दा कहिले हराउने, लड्ने साथै विभिन्न जातजाति समुदायको संस्कृति तथा धर्ममाथि नै प्रहार हुने गतिविधि बढ्दै गएको भन्दै अब ‘नो ट्रेकिङ विथआउट गाइड एन्ड पोर्टर’ को अवधारणासहित संस्था अघि बढेको बताए ।

नाथमका कार्यकारी निर्देशक दुर्गादत्त ढकालले पदयात्रामा गाइडको व्यवहार महत्वपूर्ण हुने भन्दै यस प्रमाणपत्रले देशभित्र जुनसुकै स्थानमा गएर पनि व्यावसायिक गाइड गर्न सकिने विश्वास व्यक्त गरे । एक्यापका आयोजना प्रमुख राजकुमार गुरुङले गुणस्तरीय पर्यटनमा जोड दिए । टानका उपाध्यक्ष सुशील पौडेलले ७० प्रतिशत विदेशी पर्यटकको रोजाइमा पदयात्रामा परे पनि मोटरेबल बाटोले पदमार्ग विस्थापित गरेको र पदयात्रा पर्यटनमा असर पुगेको सुनाए ।

संस्थाका सचिव जीवनराज सापकोटाले तालिममा १३ जना महिला र १ सय ८८ जना पुरुषको सहभागिता रहेको जानकारी दिए । तालिममा सहभागि मध्ये एकसय ६ जनाले ‘ए ग्रेड’ र ९४ जनाले ‘बि ग्रेड’ प्राप्त गरेको र १ जना तालिमको परीक्षामा सामेल नभएको सुनाए ।

तपाईको प्रतिक्रिया