राष्ट्रियभन्दा हेमजाको आलुको उत्पादकत्व ७ टन बढी

श्याम कुँवर
पोखरा
सरकारी तथ्यांकमा नेपालमा प्रतिहेक्टर आलुको उत्पादकत्व १३ दशमलव ८९ टन छ । कास्कीमा प्रति हेक्टर आलुको उत्पादकत्व १२ दशमलव ४ टन छ ।
आलु गाउँले परिचत पोखरा महनगर वडा नम्बर २५ हेमजाको आलुको उत्पादकत्व राष्ट्रिय तथा जिल्लागत हिसाबमा भन्दा ५ देखि ७ टन बढी छ । हेमजाको आलुको उत्पादकत्व १८ देखि २० टन प्रतिहेक्टर छ ।
दसौं राष्ट्रिय हेमजा आलु महोत्सव २०७५ (कृषि प्रदर्शनी पर्यटन तथा व्यापार मेला)तयारीबारे जानकारी दिन आइतबार आयोजना गरेको कार्यक्रममा विष्णुपादुका क्लबका अध्यक्ष कृष्णबहादुर खड्काले विभिन्न अनुसन्धान र आँकडाका अनुसार हेमजाको आलुको उत्पादकत्व राष्ट्रिय र जिल्ला लगतको तुलना गर्दा बढी रहेको जानकारी दिए ।
हेमजामा अन्नपूर्ण सिँचाइ आयोजनाको प्रभाव क्षेत्रमा ३ सय २०, चौरासी नहरको १ सय हेक्टरसमेत सुइँखेत लगायत क्षेत्रमा समेत गरी करिब ४ सय २५ हेक्टरमा आलु खेती गरिन्छ । ‘हेमजाको आलुको उत्पादकत्वमा सन्तोष मान्ने अवस्था छैन,’ अध्यक्ष खड्काले भने, ‘आवश्यक प्रविधि, गुणस्तरीय बिउ, सिँचाइ र उचित मलखादको व्यवस्था गर्न सके प्रतिहेक्टर २५ देखि ३० टन सजिलै उत्पादन गर्न सकिन्छ ।’ उनले हेमजामा वार्षिक २० देखि २१ करोडको आलुको कारोबार हुने जानकारी दिए ।
आर्थिक वर्ष २०७३÷०७४मा नेपालमा १ लाख ९५ हजार २ सय ६८ हेक्टरमा आलुको उत्पादन २७ लाख ३० हजार २ सय ९४ टन छ । जिल्लागत हिसाबमा कास्कीमा १७ लाख हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको छ । कास्कीमा २१ हजार ८३ टन आलुको उत्पादन रहेको अध्यक्ष खड्काले बताए ।
‘सुन्दर ठाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ आलु एक परिकार अनेक’ भन्ने नाराका साथ हेमजा आलु महोत्सव हुन लागेको छ । विष्णुुपादुका क्लब हेमजा र कृषि विकास निर्देशानलय गण्डकी प्रदेश मालेपाटन पोखराकोे आयोजनामा चैत २२ देखि वैशाख १ गतेसम्म विष्णु पादुका खेल मैदानमा महोत्सव सञ्चालन गरिने भएको छ ।
महोत्सवको आकर्षणको रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, जापानी सुन्तला, च्याउ कफी, चिया बिक्री एवं प्रदर्शनी, विभिन्न कृषि बिउ बिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी रहने क्लबका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
कृषि उपज तथा झाँकी प्रतियोगिता तथा पप कन्सर्ट पनि महोत्सवको आकर्षणको रुपमा छ । महोत्वसमा राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता, राष्ट्रिय, प्रदेश, स्थानीय कृषक पुरस्कार, कृषि वैज्ञानिक र विशेषज्ञ सम्मान गरिने कार्यक्रम छ ।
महोत्सवमा २८ कृषि स्टल, ९५ वटा व्यापारिक स्टल, १० वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, १ प्राथमिक उपचार, १ सूचना स्टल रहने छ । महोत्सव सम्पन्न गर्नका लागि करिब २८ लाख ४५ हजार खर्च लाग्ने र २९ लाख ८५ लाख आम्दानी गर्ने लक्ष्य लिइएको छ । करिब १ लाखले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कृषि विकास निर्देशानलय गण्डकी प्रदेशका निमित्त निर्देशक श्यामप्रसाद रिजाल, महोत्सवका सल्लाहकार धर्मराज बास्तोला, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिम्सिना, अर्थ संकलन उपसमितिका संयोजक मदन थापा लगायतले बोलका थिए ।
तपाईको प्रतिक्रिया