म्याद गुज्रेको औषधी बेच्नेकाे ठूलाे स्वरः हेरेर लानुपर्छ नि !

समाधान संवाददाता २०७५ चैत १९ गते ९:२१

ईश्वर देवकोटा

पोखरा बगरमा रहेका २ मेडिकल पसलले म्याद गुज्रेका औषधी बिक्री गरेको पाइएको छ । पिएन क्याम्पसको माथिल्लो गेटनजिकै रहेको आचार्य मेडिकल र बगर ट्याक्सी चोकको एरिया मेडिकलले म्याद नाघिसकेको औषधी बिक्री गरेको उपभोक्ताले गुनासो गरेका हुन् ।

४ वर्षदेखि सुगर रोग पीडित पोखरा १ बगर निवासी कमल थापाले नियमित औषधी सेवन गर्ने क्रममा केही दिनअघिमात्रै दुबै मेडिकलले आफूलाई म्याद नाघेको औषधी बिक्री गर्ने गरेको पत्तो पाएको बताए ।
‘एरिया मेडिकलबाट मेटाफोरमिन ५ सय एमजीको औषधी दुई पत्ता १ महिनाअघि किनेर नियमित खाइरहेको थिए,’ उनले भने, ‘चैत १६ गते शनिबार एरिया मेडिकल बन्द रहेछ र बगरमा रहेको आचार्य मेडिकलबाट एक ग्लायकोमेट ५ सय एमजीको औषधी किनेको थिएँ ।’

Advertisement

एरिया मेडिकलबाट किनेको २ पत्ता औषधीका ३० ट्याब्लेट १ महिनामा सबै खाइसकेको थापाले जानकारी दिए । मेडिकलले उक्त औषधी १ महिनाअघि थापालाई बिक्री गरेको थियो । जसको म्याद सन् २०१८ अगस्टमा सकिसकेको छ ।

आचार्य मेडिकलबाट किनेको ग्लायकोमेट ५ सय एमजी १ पत्ता औषधीबाट १ ट्याब्लेटमात्रै खाएको उनले बताए । उक्त औषधीको म्याद ३ महिना अगावै गुज्रिसकेको छ ।

Advertisement

म्याद गुज्रेको औषधी फिर्ता गर्न सोमबार आचार्य मेडिकलमा पुगेका थापालाई मेडिकल सञ्चालक तोयानाथ आचार्यकी पत्नीले उल्टो उपभोक्ता दोषी भएको बताइन् । ‘औषधी हेरेर लैजानुपर्छ भन्ने कुरा उपभोक्ताले नि जान्नुपर्ने हो,’ उनले भनिन् ।

सञ्चालक तोयानाथ आफू मेडिकलमा बसिरहन नपाउने हुँदा परिवारका सदस्यले पसलबाट औषधी बिक्री गर्ने गरेको बताए । मेडिकलले म्याद गुज्रेको औषधी वापस लिई पैसा फिर्ता गरेको छ ।

एरिया मेडिकलका सञ्चालक ईश्वर काफ्लेले आफूले म्याद गुज्रेको औषधी बिक्री नगरेको दाबी गरे । ‘औषधी कहिले किनेको हो थाहा भएन,’ उनले भने, ‘त्यस्ता औषधी हामीले राख्दैनौं ।’

औषधी खरिदको बिल नदिएको भएपनि १ महिनाअघि सोही मेडिकलबाट आफूले उक्त औषधी लगेको उपभोक्ता कमलले दाबी गरे । सोही औषधी पुनः सोमबार खरिद गरेका कमललाई मेडिकलले बिल दिन तयार भएन ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले मेडिकलले म्याद गुज्रेको औषधी बिक्री गरेको पाइए उपभोक्ता हित संरक्षण ऐन अनुसार श्रीघ कारबाही पहल थालिने बताए ।

म्याद नाघेको औषधी घातकः चिकित्सक
सुगर कन्ट्रोल गर्न खाने औषधीको म्याद गुज्रेको छ भने त्यसले कुनै असर नै नगर्ने हुँदा समस्या नियन्त्रणको साटो झन् बढीरहन सक्ने चिकित्सक बताउँछन् ।

‘जुन समस्या नियन्त्रणको लागि भनेर औषधी खाएको छ त्यसको म्याद नाघिसकेको छ भने त औषधीले असर नगरी झन् रगतमा ग्लुकोजको मात्रा बढीरहेको हुनसक्छ,’ मनिपाल शिक्षण अस्पतालका एक प्राध्यापक चिकित्सकले भने, ‘मानसिक रुपमा औषधी खाइरहेको छु भन्ने तर त्यसको असर शरीरमा नपर्दा रोग झनै बल्झिरहेको हुनसक्छ ।’

औषधी रसायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधीको रसायनमा परिवर्तन भई विषालु पदार्थको रुप लिनसक्ने हुँदा त्यस्ता औषधी सेवन आफैंमा घातक भएको उनको भनाई छ । भुलवंश म्याद गुज्रेको औषधी सेवन गरेका रोगीहरुले तत्कालै चिकित्सकसँग भेट गराई उचित परामर्श लिन उनले सुझाए ।

तपाईको प्रतिक्रिया