उत्पादनमा लगानी बढाउन कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाकाे आग्रह

समाधान संवाददाता २०७५ चैत २१ गते १४:२०


विनीता गौतम
पोखरा

आयातमुखी बजार अर्थतन्त्रलाई प्रतिस्थापन गर्न उत्पादनमुखी सहकारी विस्तारमा विशेष जोड दिन गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले आग्रह गरेका छन् । ६२ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा यहाँ आयोजित कार्यक्रमको उद्घाटन पछि मन्त्री थापाले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।

‘सहकारी एउटा अभियान हो,’ उनले भने, ‘समृद्धिको महत्वपूर्ण साधक सहकारी मार्फत सरकारले सार्वजनिक गरेको आर्थिक विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ ।’ छरिएको पँुजीलाई एकीकृत गरी सुलभ ब्याजदरमा दिइने ऋणबाट गाउँघर स्तरमा राम्रा उत्पादनको सिर्जना भइरहेको उनले सुनाए । ‘१ गाउँ १ सहकारीको विकास गरी १ सहकारी १ उत्पादनलाई ग्राह्यता दिन सरकारले सो अनुकूल ऐन बनाएको छ,’ उनले थपे ।

Advertisement

सेवामुखी, वित्तीय, बहुद्देश्यीय, उत्पादन र कृषि गरी ५ प्रकारका सहकारीले अनिवार्य रुपमा उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने गरी प्रदेश सरकारले कानुन बनाएकाले सो अनुसार कार्यान्वयनका लागि तदारुकता देखाउन उनले आग्रह गरे ।

वित्तीय क्षेत्रमा सञ्चालित सहकारीले ३० प्रतिशत लगानी उत्पादन क्षेत्रमा गर्नुपर्ने साथै उत्पादन तथा कृषि क्षेत्रमा सञ्चालित सहकारीले ७० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।

Advertisement

अबको ३ वर्षभित्रमा प्रदेश अण्डा, माछा, मासु, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी लगायतको क्षेत्रमा आत्मनिर्भर हुने लक्ष्यसहित अघि बढेको सहकारी क्षेत्रले सोही अनुसार सहयोग गर्न आग्रह गरे ।
उत्पानमैत्री वातावरण बनाउन प्रदेश सरकारले थालनी गरिसकेको हुँदा निश्चिन्त भएर सहकारीलाई उत्पादन क्षेत्रमा लगानी गर्न उनले सुझाए ।

तपाईको प्रतिक्रिया