१८ हजार दर्शक क्षमताको स्टेडियममा धमाधम काम

समाधान संवाददाता २०७५ चैत २२ गते ११:५७

सुरेशराज अधिकारी

पोखरा रंगशालामा फुटबल स्टेडियम निर्माण तीव्र पारिएको छ । फुटबल स्टेडियमका लागि माटो सम्याउने काम भैरहेको छ । रंगशालामा अहिले ७ वटा डोजर र १० वटा ट्रिप्परले काम गरिरहेका छन् ।

फुटबल स्टेडियम बनाउने ठाउँको उत्तरपट्टिको केही भाग समथर बनाउन बाँकी छ । सम्याउने काम करिब ८० प्रतिशत सकिएको क्षेत्रीय खेलकुद विकास समितका इन्जिनियर प्रमिश ताम्राकारले बताए । उनले १ हप्तामा फुटबल स्टेडियम बनाउने ठाउँको समथर बनाएर सक्ने जनकारी दिए ।

Advertisement

माटो सम्याए लगतै फुटबल स्टेडियमभित्र नाला लगायतका अन्य निर्माणसम्बन्धी काम गर्ने ताम्राकारको भनाइ छ । नाला बनाएपछि भने प्यारापिट जडान गर्ने उनले बताए । ठेक्का पाएको कम्पनीले प्यारापिट निर्माणका लागि आवश्यक पर्ने सामान बनाउन फ्रान्स तयार स्टिमेट गरिसकेकाले २ महिनामा फ्रान्सबाट प्यारापिट निर्माणका लागि आवश्यक सामान पोखरामा आउने ताम्राकारले बताए । प्यारापिटको सामान पोखरा आएको १ महिनामा रंगशाला निर्माणको काम सकिनेछ ।

गत माघदेखि नै निर्माण कम्पनीले माटो परीक्षण लगायत काम सुरु गरेको थियो । निर्माण कम्पनीले आगामी असार मसान्तसम्म फुटबल स्टेडियम निर्माण पूरा गरी बुझाउने खेलकुद मन्त्रालयसँग सम्झौता गरेको छ ।

Advertisement

खेलकुद मन्त्री जगत विश्वकर्माले गत फागुन २६ गते फुटबल स्टेडियमको शिलान्यास गरेका थिए । निमार्णाधीन फुटबल स्टेडियममा १८ हजार दर्शक अटाउने छन् । स्टेडियमका लागि विनियोजित रकम १ अर्ब २८ करोड २२ लाख रुपैयाँमध्ये पहिलो किस्ता बापत ५३ करोड रुपैयाँ निकासा भइसकेको छ । काम भएपछि अन्य रकम किस्ता किस्तामा आउनेछ ।

आगामी डिसेम्बर १ देखि १० तारिख वा मंसिरमा पोखरामा सार्कका विभिन्न खेल हुँदैछन् । महिला भलिबल, आर्चरी, महिला फुटबल, हेन्डबल, प्याराग्लाइडिङ लगायतका खेल पोखरा रंगशालामा हुने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । २०७४ सालमा निर्माणको लागि पुरानो प्यारापिट भत्काइएको थियो ।

सोही कारण रंगशलामा आयोजना कास्की एन्फाले आयोजना गरेको मनकामना कप फुटबल प्रतियोगिता २०७५ र सहारा क्लबले आयोजना गरेको आहारारा गोल्डकप फुटबल प्रतियोगिता २०७४ र २०७५ मा दर्शकले भुइँमा बसेर खेल हेर्नुपर्ने बाध्यता परेको थियो ।

तपाईको प्रतिक्रिया